जिल्लामा रगत अभाव « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जिल्लामा रगत अभाव


१९ चैत्र २०७५, मंगलबार


चितवन । गर्मी मौसम शुरु भएसँगै जिल्लामा रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरका अनुसार मौसममा आएको परिवर्तन, एसइई परीक्षा, कलेजमा हुने वार्षिक परीक्षालगायतका कारण रगतको अभाव देखिएको हो । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार जिल्लामा दैनिक करीब एक सय युनिट रगतको माग भए पनि सो माग पूर्ति गर्न सकिएको छैन ।

दैनिकरूपमा सरदर ५०/६० युनिट मात्र रगत सङ्कलन भएको उनले बताए । यो समयमा अस्पतालमा बिरामीको चाप बढ्ने हुँदा रगतको माग बढी हुने तर रक्तदान कार्यक्रम कम सञ्चालन हुने गर्दछ । केन्द्रसँग समन्वय गरेर जिल्लाका तीन सय बढी सङ्घ संस्थाले हरेक वर्ष रक्तदान गर्दै आएका छन् । केन्द्रले नवलपरासी, मकवानपुर, रौतहट, सर्लाही, धादिङ, गोरखा, तनहुँ र लम्जुङ पुगेर रेडक्रससँग समन्वय गरी रगत सङ्कलन गर्ने गर्दछ ।

रगतको अभाव भएपछि अति आवश्यक पर्नेहरुले आफैँले रक्तदाता खोजेर रगतको पूर्ति गरिरहेका छन् भने स्वयंसेवकले समेत सहयोग गरिरहेको केन्द्रले जनाएको छ । जिल्लामा रहेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बढी रगतको आवश्यक पर्ने हुन्छ भने यहाँका ठूला दुई मेडिकल कलेज, सरकारी भरतपुर अस्पताल र निजी अस्पतालमा पनि पछिल्लो समय हुने गरेका शल्यक्रियाका कारण रगतको माग बढ्दो छ ।

विद्यार्थीलाई खानेपानी

भरतपुर महानगरपालिका–२९ स्थित राष्ट्रिय आधारभूत विद्यालय तान्द्राङमा खानेपानी व्यवस्थापन गरिएको छ । जर्मन सहयोगी संस्थाको आर्थिक सहयोगमा नेपाल ग्रामीण पुनःनिर्माण संस्था (आरआरएन) ले खानेपानीको व्यवस्थापन गरेको हो ।

जिल्लामा सञ्चालित सीमान्तकृत समुदायमा खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवर्द्धन परियोजनामार्फत सो कार्य गरिएको हो । परियोजनाको तर्फबाट एक लाख ५८ हजार ३२८ र समुदायको श्रमदान ४४ हजार ८०० गरी दुई लाख तीन हजार १२८ मा आयोजना निर्माण सम्पन्न गरिएको परियोजना जिल्ला संयोजक सन्तोष भट्टराईले जानकारी दिए ।

प्रशोधन नगरिएको पानी पिउन बाध्य बालबालिका बालमैत्री धारा निर्माण गरिएपछि खुशी भएका छन् । विद्यालयमा छ धारा बनाइएको छ । यसअघि सोही विद्यालयमा शौचालय निर्माण गरिएको थियो तर पानीको व्यवस्था गर्न नसक्दा विद्यार्थी फोहरमै शौच गर्न बाध्य थिए । विद्यालयका प्राधानाध्यपक सीता भुजेलका अनुसार संस्थाले खानेपानीमा सहयोग गरेपछि शुद्ध पानीका साथै सरसफाइमा चेतना पुगेको छ । कक्षा ३ सम्म पढाइ हुने सो विद्यालयमा २६ बालबालिका अध्ययन गर्दछन् । यसबाट अन्य २२ घरधुरीसमेत लाभान्वित भएका छन् ।

जाऔँ है पोखरा अभियान

पश्चिमाञ्चल होटल सङ्घ पोखराको आयोजनामा ‘जाउँ है पोखरा अभियान २०७५’अन्तर्गत सोमबार यहाँ छलफल कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सङ्घले काठमाडौँ, जनकपुरपछि यहाँ कार्यक्रमको आयोजना गरेको हो ।

सो अवसरमा जाऔँ है पोखरा अभियान २०७५ अन्तर्गत आन्तरिक पर्यटक भित्र्याउन देशव्यापीरूपमा प्रचार अभियान सञ्चालन गरिएको जानकारी दिइएको थियो ।

कार्यक्रममा पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले आन्तरिक पर्यटन प्रवर्द्धनका माध्यमबाट दिगो पर्यटन विकास सम्भव भएकाले अभियान सञ्चालन गर्न लागिएको बताए ।

प्राकृतिक दृष्टिले पोखरा रमणीय रहेको भन्दै उनले यातायातको सहज पहुँच, खानेबस्ने उपयुक्त व्यवस्था, पर्यटकीय आकर्षण र सुविधा सबै पोखरामा उपलब्ध रहेको बताए । पोखरेलीले ‘चलिए पोखरा’ नारासहित भारतीय र तेस्रो मुलुकको बजारमा समेत प्रवर्द्धन अभियान सञ्चालन गर्दै आएका छन् ।

पश्चिमाञ्चल होटल सङ्घले यही चैत्र २९ गतेदेखि वैशाख १ गतेसम्म फेवाताल किनारस्थित कोमागाने पार्कमा १६औँ फेवा नव वर्ष महोत्सव २०७६ समेत सञ्चालन गर्न लागेको सो अवसरमा जानकारी दिइएको थियो । आन्तरिक पर्यटन वर्ष २०१९ मनाइरहेको भन्दै तुलाचनले नेपाल भ्रमण वर्ष सफल पार्न यो अभियान सहयोगी हुने बताए।

सो अवसरमा नेपाल पर्यटन बोर्डका सदस्य विप्लव पौडेल, सङ्घका निवर्तमान अध्यक्ष भरतराज पराजुली, नेपाल पर्यटन वोर्ड पोखराका प्रमुख मणि लामिछाने, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, उद्योग सङ्घ चितवनका अध्यक्ष भेषराज दुवाडी, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधान, क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेलगायतले जाऔँ है पोखरा अभियानलाई सबैले आ–आफ्नो ठाउँबाट सहयोग पुर्‍याउनुपर्नेमा जोड दिए। उनीहरुले चितवन र पोखराका बीचमा पर्यटन प्रवर्द्धनमा सहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिएका थिए । देशको दोस्रो पर्यटकीय गन्तव्य पोखरा हो भने तेस्रो पर्यटकीय गन्तव्य चितवन हो । (रासस)

Tags :
प्रतिक्रिया दिनुहोस