हावाहुरीले खण्डहर पारेको क्षेत्रमा राहतको खोजी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

हावाहुरीले खण्डहर पारेको क्षेत्रमा राहतको खोजी


१८ चैत्र २०७५, सोमबार


काठमाडौं । पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ
आँधी आए तराईमा पहाडले छेक्नुपर्छ
हैन भने देशभक्ति छैन हाम्रो छाती भित्र
माटोलाई चोट लाग्दा मुटुहरु दुख्नुपर्छ

गीतकार दिनेश अधिकारीले लेखेका र गायक स्वरुपराज आचार्यले गाएको यो गीतले भने जस्तै भएको छ यतिखेर बारा र पर्साको अवस्था । प्राकृतिक विपत्ले क्षणभरमै बस्ती सखाप पार्ला भन्ने कल्पनासमेत गरेका थिएनन् महागढीमाई, पचरौता, प्रसौनी, फेटा, सुवर्ण र परवानीपुरका बासिन्दाले ।

चैतको धूपमा साँझ चिसिँदै थियो । स्थानीयवासी आफ्नै धुनमा थिए । एकाएक विपद् आइलाग्यो र २७ जनालाई ठाउँको ठाउँ टिपेर लग्यो भने ६०० बढी घाइते भए । घरबास उड्यो, अन्नपात हुरीले उडायो ।

विद्युत्का पोल ढलेका छन् । पोल नै नभएपछि विद्युत् सेवा आउने कुरै भएन । टेलिफोनका तार चुँडेका छन्, सञ्चार सम्पर्कसमेत विच्छेद भएको छ । के खाने र के लाउने भन्ने चिन्तामा परेका स्थानीयवासीलाई तत्काल राहतको जरुरी देखिएको छ ।

खाना पकाइरहेका गृहणी, दूधे बालक, वृद्धवृद्धा भगवान्को पुकारा गर्दै ज्यान जोगाउन लागे । कोही ज्यान जोगाउन खोज्दाखोज्दै मृत्युको मुखमा परे । पशुचौपाया थलोमै किचिएर मरे । क्षणभरमै बस्ती सखाप भयो । बस्तीमा न त घर रह्यो नत अन्नबाली नै । हावाहुरीले अन्नबाली भिजेका कारण खाद्यान्न सामग्रीसमेत अभाव हुने स्थिति देखिएको छ ।

चैतको मौसम भए पनि साँझ सामान्य हावाहुरी चल्नु स्वभाविक थियो । तर फेटाका बासिन्दाले एकै क्षणमा घरबास नै उडाउने गरी हावाहुरी आउला र आफूहरुको सर्वनाश गर्ला भन्ने कल्पनासमेत गरेका थिएनन् । बारा र पर्सामा परेको पीडामा मल्हम लगाउन सरकारी निकाय तथा राजनीतिक दलका कार्यकर्ता राहत तथा उद्धारमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापालगायतले विपद् परेको क्षेत्र र घाइतेको स्वास्थ्य उपचारको स्थलगत निरीक्षण गरेका छन् ।

प्रदेश नं २ सरकारले पीडित परिवारका लागि रु तीन लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलले संघीय संसद्को एक दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ । नेपाल काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले राहत तथा उद्धार कार्यमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

गोरखा भूकम्पले पहाडी क्षेत्रमा समस्या पर्दा तराईका नागरिकले खुला हृदयले सहयोग गरेका थिए । यतिखेर बारा पर्सामा प्राकृतिक विपद् आइपर्दा सिङ्गो मुलुक एकजुट भएर सहयोग गर्नुपर्ने अवस्था आइपरेको छ । उद्धार कार्यमा नेकपा निकटको अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) का नेता तथा कार्यकर्ता चिकित्सको टोली लिएर हावा हुरी प्रभावित क्षेत्रमा पुगेको छ ।

वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटाका अनुसार हावाहुरी प्रभावित क्षेत्रमा तत्काल मानवीय सहयोग जरुरी रहेको भन्दै त्यसका लागि सबैले सहयोग गर्नुपर्ने देखिएको छ । सापकोटाको नेतृत्वमा रहेको टोलीले राहत तथा उद्धार कार्यमा खटेको छ । राहतमा आउने टोलीलाई खाद्यान्न, लत्ताकपडा, त्रिपाल लिएर आउनसमेत सापकोटाले सुझाव दिए ।

यस्तै आइतबार राति नै हावाहुरी प्रभावित क्षेत्रमा पुगेका अनेरास्ववियू (क्रान्तिकारी)का उपाध्यक्ष दिपेश पुनले पनि राहत तथा उद्धार सामग्री लिएर आउन आग्रह गरेका छन् । ‘कसैका घर छैनन्, अन्न पनि छैन । ठूलो विपत्ती आइपरेको छ, यस्तो अवस्थामा राहत सामग्रीसहित लिएर आउन र विपत्तीमा परेका नागरिकलाई सहयोग गर्न जरुरी देखिएको छ’, पुनले भने । राष्ट्रिय जनता पार्टीले हावा हुरी प्रभावितलाई रु पाँच लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

देशभरबाट हुरी प्रभावित क्षेत्रका जनतालाई राहत जुट्नेक्रमसमेत शुरु भएको छ । तिलोत्तमा नगरपालिकाले जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, शिक्षककोतर्फबाट एक दिन बराबरको तलब भत्ता गरी रु चार लाख रकम मुख्यमन्त्री राहत कोषमा पठाउने निर्णय गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघले हावाहुरी पीडितलाई रु ५० लाख बरावरको सहयोग गर्ने निर्णय गरेको छ । यस्तै नेपाल चेम्बर अफ कमर्सले पनि त्रिपाल लगायत खाद्यान्न लिएर मङ्गलबार टोली बारा पर्सा पठाउने भएको छ ।

हावाहुरीका कारण बालबालिका, वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् । उनीहरु आइतबार रातिदेखि खुला आकाशमुनि बसेका छन् । उनीहरुलाई न्यानो प्रदान गर्नु सबैको दायित्व भन्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले पनि प्रयास गरिरहेको छ । प्रधानमन्त्री ओलीले आज घाइतेसँग भेटगरी सरकारले उचित उपचारको प्रबन्ध गर्ने बताएका छन् । घाइतेको उपचारमा समस्या नहोस् भनेर देशभर नै स्वतःस्फूर्तरुपमा रक्तदानको आयोजना गरिएको छ ।

पीडितलाई नाना र खानाको व्यवस्था गर्नु अत्यावश्यक देखिएको छ । सरकारको एकल प्रयासले मात्रै विपद्मा परेका नागरिकलाई राहत दिन सहज नहुने भएकाले सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नु जरुरी रहेको छ ।

सामाजिक सञ्जालमा समेत बारा र पर्साका नागरिकलाई स्वच्छ मनले सहयोग गर्न र राहत उपलब्ध गराउन आग्रह गरिएको छ । स्थानीयवासी कसरी यस्तो घटना भयो भनेर पीडामा छन् । पीडामा परेका उनीहरुलाई मल्हम लगाउन कुनै पनि कञ्जुस्याइँ गर्न नहुने उद्धारमा सक्रियले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस