आफ्नै औंठाछाप लगाएर वृद्धभत्ता हिनामिना गरेको अभियोगमा सचिवविरुद्ध विशेष अदालतमा मुद्धा दायर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आफ्नै औंठाछाप लगाएर वृद्धभत्ता हिनामिना गरेको अभियोगमा सचिवविरुद्ध विशेष अदालतमा मुद्धा दायर


प्रशासन संवाददाता

२८ फाल्गुन २०७५, मंगलबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गर्ने दैलेखका तत्कालिन गाविस सचिव र सहायक लेखापालविरुद्ध विशेष अदालतमा भष्टाचार मुद्धा दायर गरेको छ ।

आफ्नै औंठाछाप लगाएर सामाजिक सुरक्षाको भत्तावापतको १ लख ८४ हजार रुपैयाँ हिनामिना गर्ने दैलेको तत्कालिन द्वारी गाविस सचिव टीकाराम रेग्मी र ४ लाख ९७ हजार ७० रुपैयाँ हिनामिना गर्ने सहायक लेखापाल छविराम शर्माविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

सामाजिक सुरक्षा भत्तामा जेष्ठ नागरिक, दलित, एकल महिलालाई वितरण गर्ने भत्ता पर्छ ।

रेग्मीले आर्थिक वर्ष २०६९र०७० को दोस्रो र तेस्रो तथा २०७०र०७१ को पहिलो, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ताबापतको १ लाख ८४ हजार रुपैयाँ आफ्नै औठाछाप लगाई सेवाग्राहीलाई रकम वितरण नगरी हिनामिना गरेको देखिएको अख्तियारको दावी छ ।

अख्तियारले उक्त हिनामिना भएको रकम रेग्मीबाटै असुल गर्न पनि माग गरेको छ ।

दैलेखकै तत्कालिन द्वारी गाविसका सहायक लेखापाल (खरिदार) छविराम शर्माले आर्थिक वर्ष २०७१र०७२ को पहिलो र तेस्रफ चौमासिक तथा २०७२र०७३ को पहिलो, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ताबापतको ३ लाख ४४ हजार छ सय आफ्नै औठाछाप लगाई निकालेर हिनामिना गरेको देखिएको अख्तियारले बताएको छ ।

उनले कृषि, वन तथा वातावरण शीर्षक बापतको १ लाख ५२ हजार ५ सय ७० रुपैयाँ कामै नगरी हिनामिना गरेको पनि अख्तियारको दावी छ । अख्तियारले शर्माले हिनामिना गरेको रकम पनि उनीबाटै असुल उपर गर्न माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस