केडिया अपहरणका मुख्य योजनाकार बब्लु र विजयकुमार पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

केडिया अपहरणका मुख्य योजनाकार बब्लु र विजयकुमार पक्राउ


२५ फाल्गुन २०७५, शनिबार


पर्सा । नेपाली उद्योगपति सुरेश केडिया अपहरणका मुख्य योजनाकार पक्राउ परेका छन् । पक्राउ परेका योजनाकारलाई पत्रकार सम्मेलन गरी प्रहरीले आज सार्वजनिक गरेका छन् ।

पक्राउ पर्नेमा भारतको विहार रक्सौल घर भएका बब्लु पाशवान र गाडी चालक मोतिहारी घर भएका विजयकुमार महतो छन् ।

विसं २०७३ ज्येष्ठ १३ गते बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित पसहापुलबाट उद्योगपति केडिया अपहरणमा परेका थिए । केडिया अपहरणको मुख्य योजनाकार पाशवान र चालक महतोलाई पर्साको छिपहरमाई गाउँपालिकाबाट शुक्रबार बिहान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सिमापारीबाट आएका संदिग्ध व्यक्तिले आपराधिक घटना घटाउन योजना बनाएको गोप्य सूचनाको आधारमा गाउँपालिका–५ भिष्वामा कारवाही गर्दा पाशवन र महतो फेला परेको प्रहरलिे बताएको छ ।

पक्राउ परेका पाशवान र महतोविरुद्ध बारा जिल्ला अदालतमा अपहरण, शरीर बन्धक, सङ्गठित अपराध, हातहतियार तथा खरखजाना मुद्दा रहेकाले आवश्यक कारवाहीका लागि दुबै अभियुक्तलाई बारा प्रहरीको जिम्मा लगाइने बताइएको छ ।

प्रहरी नियन्त्रणमा रहेका पाशवानले केडिया अपहरणको योजना बनाएको स्वीकार गर्दै प्रतिबन्धित लागुऔषध खरीद गर्न नेपाल आउने क्रममा पक्राउ परिएको बताए । अपहरणमा परेका केडियालाई भारतीय सुरक्षाकर्मीको सहयोगमा भारतको मोतिहारीबाट उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस