दाङका किसान रेशम खेतीतर्फ आकर्षित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दाङका किसान रेशम खेतीतर्फ आकर्षित


प्रशासन संवाददाता

१९ फाल्गुन २०७५, आइतबार


लमही । दाङको गढवा गाउँपालिकाका किसान रेशम खेतीतर्फ आकर्षित भएका छन् । रेशम खेतीबाट मनग्य आम्दानी हुन थालेपछि त्यस क्षेत्रका किसान रेशम खेतीतर्फ आकर्षित भएका हुन् । अहिले ४५ बिघा क्षेत्रफलमा रेशम खेती भइरहेकामा चालू आर्थिक वर्षभित्र करीव २०० बिघा क्षेत्रफलमा रेशम खेती हुने अपेक्षा गरिएको छ ।

धादिङका महेशदत्त अधिकारीले २०७४ साउनदेखि गढवामा रेशम खेती शुरु गरेपछि त्यहाँका किसान रेशम खेतीतर्फ आकर्षित भएका हुन् । ‘रेशम खेती फस्टाउन थालेको छ,’ उनले भने – ‘यसको खेती बढाउँदै लैजान्छौँ । खेती गर्ने किसानको संख्या बढ्दै गएको छ ।’ हाल सो ठाउँमा रेशमबाट उत्पादन भएको ‘कोकुन’ प्रशोधन गर्ने उद्योग सञ्चालनमा छ । अधिकारीले दश बिघामा रेशम खेती गर्नुका साथै प्रशोधन उद्योगसमेत सञ्चालन गरेका छन् ।
गढवा गाउँपालिका–४ का रामलक्ष्मण शाहले दुई विघा जमीनमा रेशम खेती गरेका छन् । पर्याप्त आम्दानी हुने भएपछि उनी सो खेतीतर्फ आकर्षित भएका हुन् । बाँझो जग्गासमेत सदुपयोग गरी उनले रेशम खेती थालेकका हुन् । ‘यस अघि जग्गा बाँझो राख्नुपर्ने अवस्था थियो, आम्दानी हुने देखेर रेशम खेतीमा हात हालेको हो’, उनले भने ।

यस्तै गढवा–४ हडैयाका जुनी चौधरी रेशम खेतीबाटै अहिले मनग्य आम्दानी गर्छन् । उनले रेशम खेतीबाटै ६ जनाको परिवार पालेका छन् । ‘मासिक रु १५ हजारसम्म आम्दानी हुन्छ’, उनले भने, ‘श्रीमान्ले कमाएको पैसाले घर चलाउन समस्या हुन्थ्यो । अहिले आफै मनग्य आम्दानी गर्छु ।’ सोही ठाउँकी लक्ष्मी चौधरीले पनि रेशम खेती गरेरै मनग्य आम्दानी गरिरहेकी छन् ।

अहिले नमूना रेशम खेती दर्ता गरी सो क्षेत्रका किसानले व्यावसायिक रेशम खेती थालेका छन् । गाउँपालिकाका अध्यक्ष सहजराम यादव गाउँपालिकामा ६ फार्म सञ्चालनमा रहेको बताउछन् । यहाँ उत्पादन भएको रेशमबाट धागो बनाई तयार भएको कपडा अमेरिका, जापानलगायत मुलुकमा निर्यात गरिन्छ ।

यहाँ रेशमको धागो प्रतिकिलो रु ४ हजारमा बिक्री हुन्छ । किम्बुको घाँस रेशम किराले खाएर कोकुन उत्पादन गर्छ । यसैबाट धागो बनाइन्छ । एक बिघा क्षेत्रफलमा ११ देखि १२ हजार किम्बुका बिरुवा रोप्न सकिन्छ । त्यही किम्बु नै रेशमको आहारा हो । किम्बु उत्पादन हुने ठाउँमा रेशम खेती हुन्छ ।

एक बक्सा किराका लागि एक हजार किम्बुका बिरुवा चाहिन्छ । रेशम किराले २५ देखि २८ दिनमा धागो छोड्न शुरु गर्छ । किरा काभ्रेबाट ल्याउने गरिएको अधिकारीले बताए । अहिले दाङ र आसपासका जिल्लामा त्यस्ता किरा उत्पादन हुँदैन । नेपालमा १० फार्ममा किरा उत्पादन हुँदैआएको बताइन्छ । अहिले गाउँपालिका आफैंले रेशम खेती गरेर रोजगारी सिर्जना गरिरहेको छ ।

एक बिघा क्षेत्रफलबाट वार्षिक रु ४ लाख आम्दानी हुने गरेको छ । रेशम खेतीबाट अर्थोपार्जनसँगै वातावरण पनि संरक्षण हुन्छ । रेशम खेतीका लागि किम्बुको बिरुवा रोप्नु पर्छ । बिरुवा रोपिएपछि वरपरको हावापानी स्वच्छ र शुद्ध हुन्छ । रेशम खेतीसँगै बाख्रापालन पनि गर्न सकिन्छ । रेशमका लागि प्रयोग हुने किम्बुलाई बाख्राको घाँसको रुपमा पनि प्रयोग गर्न सकिन्छ । वर्षमा तीन पटकसम्म रेशम उत्पादन गर्न सकिने अधिकारीले बताए ।

‘गढवालाई ‘रेशम जोन’ बनाउने योजना छ’, गाउँपालिका अध्यक्ष यादवले भने – ‘यहाँ रेशम पर्याप्त मात्रमा उत्पादन भइरहेको छ ।’ सो प्रस्तावलाई कार्यपालिका बैठकले पारित गरेको छ । रेशम खेतीका लागि प्रदेश नं ५ ले रु १५ लाख तथा गाउँपालिकाले रु ५ लाख बजेट विनियोजन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस