जुगल हिमाल आरोहण माया गुरुङले नेतृत्व गर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जुगल हिमाल आरोहण माया गुरुङले नेतृत्व गर्ने


प्रशासन संवाददाता

१० फाल्गुन २०७५, शुक्रबार


मेलम्ची । जुगल हिमाल पहिलोपटक आरोहण हुने भएको छ । सगरमाथा आरोही माया गुरुङको नेतृत्वको टोली जुगल हिमाल आरोहणका लागि यही चैत १५ गते त्यसतर्फ लाग्नेछ ।

जुगल गाउँपालिका र प्रदेश नं ३ को संयोजकत्वमा सिन्धु पर्यटन परिषद्ले गरेको पत्रकार सम्मेलनमा जुगल हिमाल पहिलो पटक आरोहण हुन लागेको जानकारी दिइयो । आरोहण अवधि कम्तीमा २० देखि ३० दिनसम्म हुन सक्नेछ ।

कार्यक्रममा आरोहणको नेतृत्व गरिरहेकी गुरुङले जुगल हिमाल अहिलेसम्म कसैले पनि आरोहण नगरेको जानकारी दिए ।

सगरमाथा आरोही गुरुङले जुगल हिमशृङ्खलामा अहिलेसम्म मानव पाइला नपुगेको ‘भर्जिन’ क्षेत्र भएकाले हिमाल आरोहणमा मात्र केन्द्रित नभएर सम्भाव्यता अध्ययन, ‘रुट’ पहिचान तथा निर्धारणलगायतका कार्यमा पनि केन्द्रित हुने जानकारी दिए । उनका अनुसार सो टोलीमा पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गेका नाति, पर्वतारोहण विज्ञसहित सातजना समावेश हुनेछन् ।

जुगल हिमशृङ्खलामा दुई दर्जन बढी हिमचुचुरा रहेको प्रारम्भिक अध्ययनले देखाएको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । उनले जुगल हिमाल आरोहणका क्रममा पुगिने नेपेमाशाल धार्मिक दृष्टिले पवित्र स्थान भएको बताए ।

सो स्थानमा बौद्ध धर्मका गुरु पद्मसम्भवले ध्यान गरेको तथा भविष्यमा हुन सक्ने विभिन्न परिघटनाका भविष्यवाणीका लिखतहरू यस क्षेत्रमा सुरक्षित राखिएको किंवदन्ती रहेको उनले बताए । अध्यक्ष श्रेष्ठले नेपेमाशाल नजीकै रहेको ब्रह्मायणी नदी, हरियाली जङ्गल, जङ्गलमार्गमा रहेको हजार जना अट्ने गुफा र त्यसैको आडमा रहेको जुगल हिमशृङ्खलाको सुन्दरतम दृश्यले जो कोहीलाई मोहित बनाउने बताए ।

उनले गाउँपालिकाले पर्यटन विकासलाई महत्व दिएर अगाडि बढेको बताउँदै छोटो समयमा र थोरै खर्चमा पदयात्रा जान चाहनेका लागि जुगल उत्कृष्ट गन्तव्य हुनसक्ने जानकारी दिए । श्रेष्ठले भ्रमण वर्ष २०२० का लागि सूचीकृत गन्तव्यका रूपमा सो क्षेत्रलाई राख्न पनि सम्बद्ध निकायसमक्ष आग्रह गरे ।

‘सिन्धुपाल्चोक घोषणापत्र’

बढ्दो बेरोजगारी, अनपेक्षित प्राकृतिक तथा सामाजिक वातावारण, विभिन्न स्थानमा धार्मिक, जातीय तथा राजनीतिक द्वन्द्वजस्ता वर्तमान समयमा युवाले सामना गर्नुपरिरहेको समस्याका विषयमा छलफल गरी सिन्धुपाल्चोकका युवाले सरोकारवालाको प्रतिबद्धतासहित बिहीबार मेलम्चीमा ‘सिन्धुपाल्चोक घोषणापत्र’ जारी गरेका छन् ।

दुई वर्षसम्म सिन्धुपाल्चोकमा अति सीमान्तकृत समुदायमा रहेका केही युवाबीच गरिएको एउटा अध्ययनले पनि प्राकृतिक विपत्ले मात्र नभई पारिवारिक गरीबी, अभिभावकको बिग्रँदो सम्बन्ध, बाल्यावस्थामा भएको बेवास्ता, घरेलु हिंसा, तथा परिवारबाट बिछोडजस्ता अनुभवले सिन्धुपाल्चोकमा रहेका सीमान्तकृत युवाको अनिश्चिततालाई प्रभाव पारिरहेको देखाएको छ । यसले युवा कम उमेरमै घरको आर्थिक अवस्थालाई सहयोग पुर्‍याउन जिम्मेवार हुनुपरेको अध्ययनले उजागर गरेको छ ।

सिन्धुपाल्चोकमा सामुदायिक आत्मनिर्भर केन्द्रले संयोजन गरेको घोषणापत्रमा गरीबीका कारण युवा आफ्नो शिक्षालाई निरन्तरता दिन संघर्षरत रहेको उल्लेख छ । कम उमेरमै युवा श्रम गर्न बाध्य छन् । घरायसी कामको भार तथा लामो दूरी तय गरेर विद्यालयसम्म जानुपरेका कारण आफ्नो पठनपाठनमा पर्याप्त समय दिन महिला, युवालाई कठिन भइरहेको छ । नेपालको शिक्षा प्रणालीलाई लिएर युवामा अनिश्चितता देखिन्छ ।

रोजगारीको अवसरसँग जोडेर युवाहरुले शिक्षाको उपादेयतालाई प्रश्न गरिरहेका छन् । कृषिका लागि धेरै परिवारको आफ्नै जमीन छैन । त्यसकारण अभिभावक रोजगारीको अवसर खोज्दै अन्य ठाउँमा बसाइँसराइ गरिरहेका छन् ।

जसको अभिभावक विदेशमा रहेर श्रम गरिरहेका छन्, ती युवाले आफ्नो अभिभावकसँग राम्रो पारिवारिक सम्बन्ध नभएको कुरा बताए । अधिकांश युवाले जातीय विभेद र उत्पीडन व्यहोरिरहेको अध्ययनले देखाएको छ ।

कार्यक्रममा मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्यालले स्थानीय तहमा गरिने योजना निर्माण प्रक्रियामा युवालाई सहभागी हुन अनुरोध गरे । उनले अबको कार्यक्रम युवाले पेश गरेको मागपत्रलाई ध्यान दिई योजनामा थप गरी विस्तारै कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाए ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय तहमा गरिने काममा बाहिरी व्यक्ति सहभागी भएकाले स्थानीयवासी युवाले पनि स्थानीय तहमा हुने विकासका कार्यक्रममा सहभागी भई खबरदारी गर्न अनुरोध गरे । । प्रदेशसभा सदस्य इन्द्रमाया गुरुङले प्रदेश सरकारमा युवा रोजगार र उनीहरुको अधिकारलाई प्राथमिकीकरण गर्न आवाज उठाउने बताए ।

जिल्ला युवा परिषद्का अध्यक्ष शशिनाथ आचार्यले युवाको मागलाई सरकारले सम्बोधन गर्न नसकेको बताए । स्थानीय तहदेखि नै युवा परिषद् गठन गरी दबाब दिनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस