सडकले विद्यालय भवन भत्काउँदा बालबालिका चौरमा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सडकले विद्यालय भवन भत्काउँदा बालबालिका चौरमा


प्रशासन संवाददाता

१९ माघ २०७५, शनिबार


बाँके । नेपालगञ्ज उपमहानगरपालिकासँगै जोडिएको इन्द्रपुर गाउँ, भौगोलिक हिसाबले निकै सुगम छ । झट्ट हेर्दा जो कोहीले पनि सुगमतासँगै विकसित भएको सोच्ने गर्छन् । मधेशी र मुस्लिम समुदायको बसोवास रहेको जानकी गाउँपालिका–३ मा पर्ने इन्द्रपुर गाउँको बीचमा रहेको विद्यालयको अवस्था यस्तो छ ।

विसं २०१७ मा स्थापित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको अवस्था देख्दा जो कोहीलाई आश्चर्य लाग्ने गर्छ । द्वन्द्वले ग्रस्त बनाएजस्तो देखिने विद्यालय भवन र भवनको भग्नावशेषमा खेलिरहेका बालबालिकालाई देख्दा यहाँ कुनै बेला ठूलै द्वन्द्व भएको र द्वन्द्वका क्रममा विद्यालय भवन भत्किएको आभास हुनेगर्छ ।

सोचे जस्तो त्यहाँ न कुनै द्वन्द्व भयो, न द्वन्द्वकालमा त्यहाँ सुरक्षाकर्मीको ब्यारेक नै थियो । छ कोठे भवनका चार कोठा भत्काइएको छ । बचेका दुई कोठा पनि चुहिने र जीर्ण छन् । त्यसो त विद्यालयमा फर्निचर पनि छैनन् । कक्षा १ देखि ५ सम्म २०१ जना विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा पाँच शिक्षकमध्ये चार महिला शिक्षक छन् ।

बचेका दुई कोठामा विद्यालय भवन भत्काउँदा निकालिएका झ््याल ढोका कोठामा थन्काइएका छन् । बचेको एउटा कोठामा कार्यालय राखिएको छ । त्यहाँ पनि विद्यालयका कागजात सुरक्षित भने छैनन् । सामान्य पानी पर्नासाथ छतबाट पानी चुहिएर कागजात जोगाउनै शिक्षकलाई मुस्किल पर्छ ।

सडक विस्तारका क्रममा विद्यालय भवन भत्काइएपछि बालबालिकालाई ओत लाग्ने ठाउँ छैन । खुला चौरमा भूइँमै बसेर बालबालिका पढिरहेका हुन्छन् । शिक्षक शिक्षिकालाई पढाउने सामग्रीको उस्तै अभाव छ । विद्यार्थीलाई पढाउनका लागि न कालोपाटी छ, न सेतोपाटी, न त चक डस्टर वा बोर्ड मार्कर नै छ । मौखिकरुपमै पढाउनुपर्ने बाध्यता छ ।

सडक विस्तारका क्रममा विद्यालयको पाँच मिटर जग्गा बाटोले ओगाट्ने भएपछि सो क्षेत्रमा वैकल्पिक व्यवस्था नगरेर भवन भत्काइएपछि समस्या भएको विद्यालयकी प्रधानाध्यापक सरस्वती शर्माले बताए । उनले भने, ‘हामीले विकल्पका लागि आग्रह गरे पनि कतै सुनुवाइ नहुँदा बालबालिकालाई सास्ती भएको छ ।’ विद्यालय भवन नहुँदा विद्यार्थी पानी परेपछि घर जाने गरेका उनले बताए ।
सडक निर्माणले विद्यालय नै विस्थापित हुने खतरा रहेको उनको भनाइ छ । ‘विद्यालय भवन भत्काउनुअघि वैकल्पिक व्यवस्थाका लागि वडा कार्यालय र गाउँपालिकाको ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएको उनले जानकारी दिए ।

भवन अभावमा बालबालिकालाई सहजरुपमा विद्यालयमा पढ्ने वातावरण नरहेको शिक्षिका मुगा लम्सालले बताए । ‘भवन भत्काएको तीन महीना वितिसक्यो वडा कार्यालय र गाउँपालिकाले नै चासो दिएन’, उनले भने, ‘विद्यालय व्यवस्थापन समिति, विद्यालयका स्रोतव्यक्ति र विद्यालय निरीक्षकसँग पनि पटक/पटक वैकल्पिक व्यवस्था गर्न आग्रह गरे पनि सुनुवाइ भएन ।’

भएको भवन पनि भत्किनु र अन्य पूर्वाधार नहुँदा वातावरण प्रतिकूल भएका कारण आगामी शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या घट्नेमा विद्यालयका शिक्षक शिक्षका चिन्तित छन् । भौतिक पूर्वाधारकै अभावमा सबै बालबालिकालाई एकै ठाउँमा राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयकी शिक्षिका लम्सालले बताए ।

जानकी गाउँपालिका–३ का वडाध्यक्ष विन्देश्वरी कुर्मी बर्माले सडक विस्तार गर्ने क्रममा भवन भत्काउनु परेको बाध्यता सुनाउँदै बालबालिकाका लागि गाउँपालिकामार्फत त्रिपालको व्यवस्था गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस