अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि उडान अवरुद्ध « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि उडान अवरुद्ध


प्रशासन संवाददाता

१३ माघ २०७५, आइतबार


काठमाडौं । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानैदेखि उडान तथा अवतरण अवरुद्ध भएको छ ।

काठमाडौँ उपत्यकामा बाक्लो हुस्सु भएकाले भिजिबिलिटी अत्यन्त कम भएका कारण उडान प्रभावित भएको हो ।

बिहानैदेखि अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान अवतरण बन्द भएकोमा केहिबेरअघिसम्म १० वटा जेट इन्जिन विमान उडान भएका थिए । तर अहिले पुनः भिजिबिलिटी कम हुँदा सबै उडान प्रभावित भएको विमानस्थलले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमानस्थलमा केहीबेरअघि १६ सय मिटर भिजिबिलिटी थियो । यो भिजिबिलिटीमा ‘मल्टि जेट’ इन्जिन जहाज उडान गर्न सकिन्छ तर अवतरण गर्न कठिन हुन्छ ।

आन्तरिकतर्फका सबै उडान अवतरण बन्द छन् । केही हेलिकोप्टरले उडान शुरु गरेका छन् ।

विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) प्रमुख सीताराम भण्डारीले बिहान पूर्णरुपमा बन्द रहेको विमानस्थलको उडान अवतरण १६ सय भिजिबिलिटी भएपछि अन्तर्राष्ट्रिय उडानका ८ देखि १० वटा जेड विमानले उडान भरेको जानकारी दिनुभयो ।

उक्त भिजिबिलिटी घटेर अहिले एक हजारमा पुगेपछि पुनः उडान अवतरण बन्द गरिएको छ । मौसममा क्रमिक सुधार आइरहेकाले अबको २० देखि २५ मिनेटभित्र उडान अवतरण सुचारु हुने एटीसी प्रमुख भण्डारीको भनाइ छ ।

उहाँका अनुसार एक हजार भिजिबिलिटीमा हेलिकोप्टरले मात्र उडान भर्न सक्छन् । अन्तर्राष्ट्रिय उडानका लागि भिजिबिलिटी ८०० भए पनि पुग्छ तर अवतरणका लागि अवस्था र जहाजको प्रकृति हेरिकन सानो जहाजलाई १६ सय देखि ३२ सय मिटर भिजिबिलिटीमा सबै किसिमका जहाज अवतरण गर्न सकिन्छ ।

आन्तरिक उडानतर्फ साना जहाजका लागि १६ सय भिजिबिलिटी चाहिन्छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० र अन्तर्राष्ट्रिय उडानमा तीन नेपालीसहित २९ वटा वायु सेवा प्रदायक कम्पनीले हवाई सेवा सञ्चालन गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस