यसरी रेडियो नेपालको प्रशारणलाई विश्वव्यापी बनाइयो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यसरी रेडियो नेपालको प्रशारणलाई विश्वव्यापी बनाइयो


सुरेश कुमार कार्की

७ माघ २०७५, सोमबार


रेडियो नेपाल

आफूले कल्पना पनि नगरेको सञ्चार क्षेत्र, त्यसमा पनि मुलुककै जेठो प्रसारण संस्थामा पहिलो पटक २०६९ साल मङ्सिर महिनाको २१ गते कार्यकारी निर्देशक भएर रेडियो नेपालमा हाजिर हुन आउँदाको क्षण अत्यन्तै निरस थियो ।

हाजिर भएकै आधा घण्टापछि घोक्र्याएरै निकाल्न खोज्ने भिडको सामना गर्नु परेको थियो । पहिलो गाँसमै ढुङ्गा परेजस्तै भएकोले विचलित भएर भोलिबाटै छाड्ने मन बनाइ सकेको थिएँ । केही समयको बसाइमा रेडियो नेपालको परिसरतिर आँखा डुलाइरहँदा ममतामयी आमाले मेरो बाटो कुरी रहेको जस्तो अनुभूति भयो । अघि भर्खरको भीडलाई मेरो परिवारको सदस्यहरूले स्वागत गर्ने अनौठो तरिकाको रूपमा लिएको थिएँ ।

विगत २ महिनादेखि तलब नपाएर मुर्मुरिएरको भिडको आक्रोश रहेछ भन्ने कुरा भोलि पल्ट थाहा पाएँ । साह्रै अत्यास लाग्यो । कसरी जोहो गर्ने होला ? प्रशासनिक र प्रसारणको खासै अनुभव नभएको नयाँ व्यक्तिले कसरी समस्या समाधान गर्ने होला भन्ने लागेको थियो ।

रेडियो नेपालका वरिष्ठ कर्मचारीहरूको सल्लाहमा पहिला तलब खानुपर्छ भन्ने कुरा भयो । यसपछि लेखालाई सोधियो के छ अवस्था भनेर । लेखाले पैसा छैन भन्यो । त्यसपछि झन् समस्या नै परेछ भन्ने लाग्यो ।

अनि जुक्ति सोचेँ । रेडियो नेपालको कुन कुन खातामा कहाँ कहाँ कति रकम छ भनेर खोतल्दै जाँदा तलब खाने जति रकमको जोहो गरियो । विगत २ महिनादेखि भोका साथीहरूलाई एकमुष्ट तलब उपलब्ध गराइयो । त्यसपछि आजको दिनसम्म रेडियो नेपालमा तलबको लागि अर्को महिना कुर्नु परेको छैन ।

प्रशारणको क्षेत्रमा अत्यन्तै संवेदनशील र महत्त्वपूर्ण रहेको रेडियो नेपालप्रतिको नागरिकहरूको विश्वसिनयताप्रतिको अपेक्षालाई निरन्तरता दिनु र परिष्कृत गर्दै जानुपर्ने प्रतिस्पर्धी मिडियाहरूसँगको चुनौतीलाई चिर्दै आय आर्जन गर्नुपर्ने महत्त्वपूर्ण अभिभारा काँधमा आई परेको थियो ।

कुन ठाउँबाट कसरी सुधार गर्ने भन्ने कुराले मलाई द्विविधा उत्पन्न भयो । सुधारका लागि रकमको आवश्यकता पर्ने, रेडियो नेपाल आफैले कमाउन पनि राज्यको दायित्वहरू पुरा गर्नु पर्ने तथा विभिन्न भाषाको समाचार र कार्यक्रमहरू प्रसारण गर्नुपर्दा धेरैजसो समय त्यसैमा खर्चिनुपर्ने भएपछि अपेक्षित आय आर्जन गर्न अत्यन्तै कठिनाइ थियो ।

प्रसारणको समयमा विज्ञापन बजाउँदा श्रोताहरूले नपचाउने अवस्थाले थप अन्यौलता उत्पन्न हुने गरेको थियो । जे भए पनि सरकारी कार्यक्रमहरूको गुणस्तर कायम गर्दै कार्यक्रमसँग सम्बन्धित विभिन्न परियोजनाहरू सञ्चालन गरेर आम्दानीको स्रोत जुटाउँदै र नेपाल सरकारले दिएको अनुदानबाट आजका दिनसम्म आइपुग्दा काँचुली फेर्दै आएको छ ।

रेडियो नेपालले विकटमा रहेको कर्णालीका जनतालाई पनि एफ एम को माध्यमबाट आफ्नो प्रसारण सुनाउँदै आएको छ । नेपाली सङ्गीतको जननी रेडियो नेपालमा सातौँ चरणको सङ्गीत प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न खोज्दै छ ।

नेपालको सातै प्रदेशका गायक गायिका र रचनाकार तथा सगीतकारलाई उत्थान गर्ने उद्देश्यबाट विगत ४ वर्षदेखि प्रादेशिक आधुनिक सङ्गीत प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रसारण तथा सङ्गीतको क्षेत्रमा ख्याति प्राप्त स्रष्टाहरूलाई विगत ३ वर्ष देखि सम्मान गर्दै आएको छ ।

२०५७ साल देखि रेडियो नेपालमा जनशक्ति भर्ना नगरिरहेको अवस्थामा गत वर्ष १०० जना जनशक्तिको भर्नाको लागि विज्ञापन भई छनौट प्रक्रिया सम्पन्न भएको छ । यस वर्ष पनि ३६ जना जनशक्तिको छनौट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । २०७३ साल भाद्र १ गतेबाट रेडियो नेपालले सञ्चालन गर्दै आएको १८ घण्टा प्रसारण अवधिलाई बढाएर २४ घण्टा प्रसारण गर्दै आएको छ ।

रेडियो नेपालले सातै प्रदेशमा प्रादेशिक रेडियो नेपाल सञ्चालन गर्नका लागि पूर्वाधारहरू तयारीमा जुटेको छ । २०१६ सालदेखिको विभिन्न महत्त्वपूर्ण अडियो सामग्रीलाई सङ्ग्रह गर्दै डिजिटाईजेसन गरी रहेको छ ।

यसका साथै हरेक दिन भएको प्रसारणलाई सङ्ग्रह गर्नका लागि अडियो लगरको व्यवस्था गरेको छ । आफ्नै स्वरमार्फत अनलाइन रेडियो सञ्चालनमा ल्याइएको छ । यसलाई प्रभावकारी बनाउनका लागि परिष्कृत आधुनिक अनलाइन पोर्टल तयारीमा जुटेका छौ । अहिले रेडियो नेपालले आफ्नै एप्स निर्माण गरेको छ । यसरी रेडियो नेपालको प्रसारणलाई विश्वव्यापी बनाइएको छ ।

र यो पनि,

आहा ! रेडियो नेपाल (फोटो फिचर)

Tags :
प्रतिक्रिया दिनुहोस