किशोर पहाडीको रोजा कथाहरू सार्वजनिक « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

किशोर पहाडीको रोजा कथाहरू सार्वजनिक


प्रशासन संवाददाता

२७ पुस २०७५, शुक्रबार


काठमाडौं । साहित्यकार किशोर पहाडीको प्रतिनिधि कथा सङ्ग्रह रोजा कथाहरु काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभु घिमिरे प्रमूख अतिथिको रुपमा रहेका कार्यक्रममा विशेष अतिथिको रुपमा साहित्यकार रमेश प्रसाईं, कृष्ण प्रधान, नारायण तिवारी, छविरमण सिलवाल र रमेश सागरको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै साहित्यकार महेश प्रसाईंले भने– ‘कथा, लघुकथा, कविता, संस्मरण लगायतका विधामा कलम चलाउँदै आएका पहाडी तीसका दशक देखि समकालीन समयसम्मका कोेशे ढुङ्गा हुन् । घटना, पात्रहरूको चयनमा उत्कृष्ट दख्खल राख्ने पहाडीका यथार्थवादी कथाहरूले पाठकमा उत्सुकता जगार्इ राख्ने र समस्याको उठान गरी समाधानको बाटो पनि दिने खालका छन् र यो खालको प्रयोग नेपाली कथा साहित्यमा नौलो रहेको छ । तसर्थ उनका कथाहरूमा ऐतिहासक नियति, वर्तमान उपलब्धी र भविष्यपरक आकांक्षाको कुशल संयोजन रहेको छ । ’

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि डा. विष्णुविभु घिमिरेले पहाडी र आफु सानैदेखि नजिक रहेर हुर्केको र हाल सम्म आइपुग्दा पनि प्रत्येक भेटघाटको समय साहित्यमा बहस गर्दै वितेको अनुभव सुनाउनु भयो । साथै पेशाले सिभिल इन्जिनियर पहाडी उत्कृष्ट अभिनयकर्ता समेत रहेको बहुप्रतिभाका धनी किशोरका कथाहरूमा विचित्र विषयवस्तुहरुको बेजोड प्रस्तुती र सन्देश बोधक कथाहरु रहेको बताए।

साथै उनका पूर्व प्रकाशित ६ ओटा कथा सङ्ग्रहबाट छानिएका कथाहरूको सङ्ग्रह रोजा कथाहरूमा अझै राम्रा कथा छुटेको र यसको लागि पाठकले सबै सङ्ग्रह पढ्नुपर्ने बताए । कार्यक्रममा बोल्दै साहित्यकार तथा लेखक किशोर पहाडीले लामो समयको अथक परिश्रम र मेहनत पछि यो प्रतिनिधि कथाको संगालो रोजा कथाहरूको रुपमा पाठक माझ ल्याउन सफल भएको र एक लेखकको लागि पुस्तक प्रकाशित भएको दिन सबैभन्दा खुशीको दिन भएको कुरा बताए ।

प्रकाशन संस्था शिखा बुक्सका शोभा पौडेलले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दैै कार्यक्रम समापन गरेकी छिन् । २४८ पृष्ठ रहेको पुस्तकको मूल्य ३५०/– रुपैयाँ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस