डिङ्गो « प्रशासन
prasaLogo
७ पुष २०७५, शनिबार

डिङ्गो


प्रकाशित मिति : 22 December, 2018 1:49 pm

रामदास उनका बाबुसँग १८ वर्षको उमेरमा काठमाडौं पहिलो पटक गएका थिए चप्पल लगाएर । साधारण किसानको छोरा एस.एल.सी. पास हुनासाथ उनका बाबुले उनी सानै छँदा काठमाडौं डुलाउन लग्छु भन्ने प्रतिज्ञा गरेका थिए सोही अनुरुप उनी काठमाडौं आउन पाएका हुन् । उनले पहिलो पटक धरहरा, रानीपोखरी, घण्टाघर देख्न पाएका थिए । त्यो बेला खुबै खुसी थिए उनी । डुल्ने क्रममा बागबजारको पी.के. क्याम्पस पनि देख्न पाएका थिए । क्याम्पसको विपरीत बाटोमा रहेको एउटा जुत्ता पसलमा उनले डिङ्गो जुत्ता पहिलो पटक देखेका थिए । अगाडि पट्टी चुच्चो परेको घुँडासम्म भएको र खुट्टामाथिसम्म अलिकति आउने गरी दुई किसिमको डिङ्गो जुत्ता उनले देख्न पाएका थिए । त्यो जुत्तामा ट्याग झुण्ड्याएको मूल्य रु. १,८०० । उनलाई आफुले लगाएको चप्पल त्यही फुकालेर त्यो डिङ्गो जुत्ता लगाउन पाए हुन्थ्यो, सँगै आएका बाबुले किन्दिए हुन्थ्यो जस्तो भएको थियो । तर उनलाई बाबुको कमाई र घरबाट निस्कँदा बाबुले खनखनी एक–एक सयको ९ वटा नोट खल्तीमा हालेको पूरै याद छ । त्यसैले मुख खोलेनन् तर एकदिन आफ्नो कमाई भएपछि त्यो डिङ्गो जुत्ता लगाएरै छाड्ने मनमनै अठोत गरी बाबुसँग गाउँ फर्के रामदास ।

एस.एल.सी. पश्चात गाउँमै दश जोड दुई उत्तीर्ण गरी राजधानीको  त्रि–चन्द्र कलेजमा स्नातक तह अध्ययनका लागि दोस्रोपटक रामदास काठमाडौं आए । मानविकी सङकाय अन्तर्गत उनले समाजशास्त्र पढ्न थाले । काठमाडौंको महंगी, बोल्नेसम्म फुर्सद नहुने मानिसहरु, अस्तव्यस्त जिन्दगीको उनलाई राम्रो ज्ञान थियो । भने जस्तो सामान किन्न, अनि भनेजस्तो खान पनि धौ–धौ थियो उनलाई । कयौं पल्ट मिठाई खान भनि मिठाई पसलहरु जान्थे तर महंगीको कारण उनी फर्कन्थे र दालभात तरकारी खाएर दिनहरु कटाउँथे । समय–समयमा थोरै–थोरै जम्मा गरेको पैसाहरुले आफूलाई मनपर्ने सामानहरु किन्न सहर बजार निस्कन्थे उनी । घुम्दा–घुम्दा फेरी त्यही जुत्ता पसल पुग्थे उनी त्यो उनलाई मनपर्ने डिङ्गो जुत्ताको मुल्य पनि वर्ष–वर्षमा बढ्दै थियो । कोठाभाडा लगायत गाउँबाट खाद्यान्न सामाग्रीहरु बेला(बेलामा बाबु–आमाले पठाउँथे उनलाई । पढ्ने क्रममा उनी तिक्ष्न थिए यसैकारणले गर्दा उनले स्नातहको अध्ययन रेगुलरमा नै उत्तीर्ण गरे । स्नातक तह उत्तीर्ण पश्चात गाउँ जाँदा उनका बाबुले तीन ठाउँमा च्यातिएको स्टकोट लगाउँदै के इच्छा छ भन् बाबु तेरो इच्छा पूरा गरी दिउँला भनेका थिए । प्याच्च मुखमा त्यो बागबजारको जुत्ता पसलको डिङ्गो जुत्ता……. भन्ने इच्छालाई बाबुको इस्टकोटले बोल्न नसक्ने बनाईदियो ।

समयक्रमसँगै अब भने जागीर खाने र बाबु-आमाका अनगिन्ति सपनाहरु पूरा गर्ने इच्छा प्रबल हुँदै गए । काठमाडौं मै एउटा होलसेल पसलमा नोकरी पाए उनले । पसलमा विहान मात्र भिड हुने र अधिकांश समय खालि हुने गर्दथ्यो । त्यो बचेको समयमा उनले लोकसेवा अन्तर्गत खुल्ने परीक्षाहरुका लागि तयारी गर्दथे । जागीरे भएपछि आमा–बुबाले गाउँदेखि खाद्यान्न पठाउन नपर्ने र कोठाभाडा तिर्न नपर्ने भयो । उनले आफै कमाउन थाले र बचेखुचेको रकम अलि–अलि जम्मा गरी गाउँ पनि पठाउन थाले । उनी समय(समयमा लुगा कपडाहरु किन्न हिड्थे सोही क्रममा त्यहि जुत्ता पसल पुग्थे । उनले अठार सयसम्म बचाउन सक्ने भएको बेलामा त्यो जुत्ताको मुल्य सत्ताईस सय पुगिसकेको थियो ।

रातदिन नभनि लोकसेवामा नाम निकाल्ने धोको सहित मिहिनेत गर्न थाले रामदास । भनिन्छ मिहिनेतको फल मिठो हुन्छ । उनले लोकसेवाको खरिदार पदको लागि दिएको लिखित परीक्षामा प्रथम स्थानमा नाम निकाल्न सफल भए र सम्पूर्ण आवश्यक परीक्षा पश्चात नेपाली टोपी ढल्काएर नेपाल सरकारको जागीरे भए रामदास । उनले आफ्नै गाउँमा सेवा गर्ने अवसर पाए उनी आफ्नै गाउँको गा.वि.स. सचिवमा नियुक्ति पाई गाउँमै पुगे ।

अब भने उनको उमेर विहेवारीको थियो । विहेका लागि आमा-बाबुले हेरि मनपराएका केटीसँग उनको आफ्नै परम्परा अनुसार विहे भयो । विहेमै भएपनि त्यो डिङ्गो जुत्ता किनि लगाउने इच्छा थियो उनको तर अलिकति पैसा नपुगेर उनले विहेमा पनि त्यो डिङ्गो लगाउन पाएनन् ।

एउटा खानेमुख दुईटा हुँदै चारवटासम्म भए । उनी र उनका धर्मपत्नी अनि छोरा–छोरी अनि अझ आमा–बुबा । समयक्रमसँगै उनको उमेर पनि बढ्दै गयो । उनी एक्लैको कमाईले बालबच्चा पढाउने घर खर्च चलाउने हुँदा–हुँदै जहिले पनि बचत गर्नका लागि धौ–धौ पर्थ्यो । केहि आपत विपत भै हाल्यो भने साथीभाई र वित्तिय संस्थाहरुमा ऋण नलिई सुखै थिएन । अब उमेरसँगै बालबच्चाहरुको चाहना घरपरिवारको इच्छामा पूर्ति गर्दै ठिक्क हुन थाल्यो । मासिक तलब आउने दिन जहिले पनि यो महिनामा त म त्यो डिङ्गो लगाई छाड्छु भन्ने सोच दिमागमा नआएको कहाँ हो र । तर त्यही महिनामा नै कहिले बच्चाको परीक्षाको लागि थप खर्च हुन्थ्यो कहिले बच्चाहरुको लुगा जुत्ता अनि पत्नीको चाहनाहरुमा ।

दिनहरु वित्दै गए । दिन, हप्ता, महिना अनि वर्षहरु वितेको अत्तो पत्तो भएन । कार्यालयमा पनि मिहिनेत कै कारण बढुवाका लागि कुनै रोकतोक थिएन । ५४ वर्ष भै सकेछ रामदास । अहिले त नेपाल सरकारको सह सचिव । सहज छ जीवन उनको तर उनको डिङ्गो लगाउने सपना सपना नै रह्यो । अहिले सबैकुरा छ उनको । मन्त्रालयको जागीर सरर गाडिमा लिन आउँछन् घरसम्म । अनि पुर्याउन पनि । दिनको ९ ठाउँमा मिटिङ हुन्छ उनको । मिटिङको भत्ता मात्रै पनि नौ हजार भन्दा बढी हुन्छ । अहिले भने रामदासले भनेजस्तो खानेकुरा खान हुन्न । त्यो डिङ्गोको अहिले पैतालीस सय रुपैयाँ रे, अहिले आधा दिनको भत्ता मात्र खर्च गरेर पनि लगाउने हैसियत छ रामदासको । तर यो उमेरमा डिङ्गो लगाएर कहाँ जाने…..? अरुले के भन्ला, सुहाउन्न पनि…..!

प्रतिक्रिया दिनुहोस