नेपाली मूलका विदेशी विवाह गर्न नेपालमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाली मूलका विदेशी विवाह गर्न नेपालमा


१८ मंसिर २०७५, मंगलबार


चितवन । नेपाली मूलका विदेशी विवाह गर्न नेपाल आउने गरेको तथ्याङ्कले देखाएको छ । उनीहरूले अदालती विवाह गर्ने गरेका छन् । नेपाली नागरिकता त्यागेर विदेशमा भए पनि विवाहका लागि भने उनीहरूले नेपाली नै रोज्ने गरेका हुन् ।

चितवन जिल्ला अदालतमा भदौयता मात्रै २३ जोडीले विवाह गरेका छन् । विवाह गर्नेमा १३ नेपाली मूलका विदेशी रहेका छन् । मुलुकी देवानी (संहिता) ऐन, २०७४ लागू भएपछि अदालतमा विवाह हुन थालेको हो । यसअघि जिल्ला प्रशासन कार्यालयमा विवाह दर्ता हुँदै आएको थियो ।

अदालतका सूचना अधिकारी केशवप्रसाद पौडेलका अनुसार पाँच विदेशी पुरुषले नेपाली महिलासँग विवाह गरेका छन् भने आठ विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेका छन् । नेपाली नागरिकता त्यागी विदेशी पिआर वा ग्रिनकार्ड लिएका नेपाली मूलका पुरुषले बढी सङ्ख्यामा नेपाली महिलासँग विवाह गर्ने गरेको उनले बताए ।

दर्ता विवाह गर्ने महिला र पुरुषको उमेरको फरक धेरै नै रहने गरेको उनले बताए । चितवन जिल्ला अदालतबाट नेपाली मूलका अमेरिकाका ५१ वर्षका पुरुषले ३२ वर्षकी नेपाली महिलासँग दर्ता विवाह गरेका छन् । त्यस्तै नेपाली मूलकी बेलायतकी ४४ वर्षीया एक महिलाले २८ वर्षीय नेपाली पुरुषसँग दर्ता विवाह गरेको पौडेलले बताए ।

यस्तै आर्थिक वर्ष २०७४÷२०७५ मा जिल्ला प्रशासन कार्यालयमा ४४ जोडीले विवाह दर्ता गरेका थिए । उनीहरूमध्ये ३९ जना विदेशी रहेका थिए । सो अवधिमा १७ विदेशी महिलाले नेपाली पुरुषसँग र २२ विदेशी पुरुषले नेपाली महिलासँग विवाह गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस