आम्दानीको स्रोत बन्दै जडीबुटी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आम्दानीको स्रोत बन्दै जडीबुटी


प्रशासन संवाददाता

१४ मंसिर २०७५, शुक्रबार


भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेल्डाडीका बाटुदेवी साउद गाउँमा रहेको जडीबुटी प्रशोधन केन्द्रमा अपरेटरको काम गर्छन् । गाउँमै जडीबुटी प्रशोधन केन्द्र स्थापना भएपछि विगत २ वर्षदेखि त्यहाँ काम गर्दै आएकी साउदले परिवारको खर्चसमेत उही कामबाट टार्दै आएका छन् ।

उनी अपरेटर मात्रै नभएर केही वर्षयता जडीबुटीखेती गर्दै आएकी किसान समेत हुन् । थोरै जमीनमा पनि राम्रो आम्दानी हुने गरेकाले पछिल्लो समय गाउँमा जडीबुटी खेतीतर्फ किसानको आकर्षण बढेको उनको भनाइ छ । ‘एउटा सिजनको खेतीबाट रु ५० देखि ६० हजार आम्दानी हुन्छ’, उनले भनिन्, ‘अन्नबालीभन्दा यसबाट बढी फाइदा पुग्न थालेपछि किसानको आकर्षण बढ्दैछ ।’ जडीबुटीको तेल प्रतिलिटर रु ३ हजारदेखि ५५ हजारसम्ममा बिक्री हुने गरेको साउदको भनाइ छ ।

बेल्डाँडीका किसान पछिल्ला वर्षमा अन्नबाली छाडेर जडीबुटीखेतीमा आकर्षित हुन थालेका छन् । मेन्था, लेमनग्रास, क्यामामाइल, असारे, लिपटिस, कडिपत्तालगायतका जडीबुटीखेती गर्दै आएका छन् । प्रशोधन गरेको मेन्थाको तेल प्रतिलिटर रु ४० हजार, क्यामामाइलको तेल प्रतिलिटर रु ५५ हजार, कडिपत्ताको प्रतिलिटर रु ३ हजारसम्म बिक्री हुने किसानको भनाइ छ । गहुँबाली भित्र्याएपछि खाली रहेको खेतमा जडीबुटीखेती गर्छन् । किसानले मेन्था प्रतिकठ्ठा ४ किलो र म्यामाइल पाँच कठ्ठामा एक किलो उत्पादन गर्ने गरेको बताउँछन् । उत्पादन भएको तेल खरीद गर्न नेपालगञ्ज, सुर्खेतबाट व्यापारी गाउँमै पुग्ने गरेका छन् ।

जडीबुटीबाट उत्पादित तेल औषधि बनाउन बढी प्रयोग हुन्छ । दातृ निकायको रु ५ लाख, परियोजना घुम्ती कोषको रु १ लाख र सामुदायिक वनको रु ३ लाख लगानीमा प्रशोधन केन्द्र स्थापना गरिएको हो । शुक्लफाँटा नगरपालिकाको बेल्डाँडीसँगै यहाँको माहाकाली, भीमदत्तनगरपालिका, बेदकोट, पुनर्वास, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा समेत जडीबुटीखेती गरिँदै आएको छ । उत्पादित क्षेत्रमा एक दर्जन प्रशोधन केन्द्र स्थापना गरिएका छन् ।

किसानसँगै यहाँका सामुदायिक वन समितिले पनि सामूहिक रूपमा पनि जडीबुटीखेती गरिरहेका छन् । जडीबुटीखेती गर्न गुणस्तरीय बीउबिजन सहजै उपलब्ध हुन नसकेको कृषकको गुनासो छ । यहाँको बेदकोट नगरपालिकाको बछेला सामुदायिक वन र हिमालय जडीबुटी समूहले करीब नौ बिघा जमीनमा क्यामामाइलको खेती गरिरहेको छ । हिमालय जडीबुटी समूहकी अध्यक्ष पाना बोहराले २०६७ सालदेखि व्यावसायिक रूपमा जडीबुटीखेती गरिरहेको बताइन् ।

त्यस्तै बेदकोटकै बैतडा जडीबुटी उद्योगकी अध्यक्ष खेमा भट्टले जडीबुटी खेतीबाट राम्रो आम्दानी भएकाले युवालाई आकर्षित गर्न सरकारले प्रोत्साहित गर्नुपर्ने बताइन् । जडीबुटी व्यवसायी संघ शाखा कञ्चनपुरका व्यवसाय विकास सहजकर्ता राजेन्द्रप्रसाद जोशीले जिल्लाभर ५०० भन्दा बढी परिवार जडीबुटीखेतीबाट लाभान्वित भएको बताए । यहाँ उत्पादित तेल नेपालगञ्जबाट भारत बढी निर्यात हुने गरेको उनको भनाइ छ ।

जडीबुटी व्यवसायी संघको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष क्यामामाइल तेल उत्पादन ३७ केजी र मेन्था २७६ केजी उत्पादन गरेको थियो । संघले जनाएअनुसार गत आर्थिक वर्षमा पश्चिमीनाका गड्डाचौकीबाट रु एक करोड ५५ लाख बराबरको तेल भारत निर्यात गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस