सरकारले माग्यो टेलिकमकी प्रबन्ध निर्देशकसँग स्पष्टीकरण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकारले माग्यो टेलिकमकी प्रबन्ध निर्देशकसँग स्पष्टीकरण


२५ बैशाख २०७५, मंगलबार


काठमाडौं । सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई स्पष्टीकरण मागेको छ । व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै प्रबन्ध निर्देशक राजभण्डारीलाई स्पष्टीकरण सोधिएको हो ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले प्रबन्ध निर्देशक राजभण्डारीलाई स्पष्टीकरण सोध्न सूचना तथा सञ्चार मन्त्रालयलाई स्वीकृति दिएको हो ।

टेलिकमको सेवा र गुणस्तर निरन्तर खस्कँदा पनि सुधार हुन नसकेको, युटिएल तथा सिजी कम्पनीबाट १० अर्बभन्दा बढी रकम उठाउन नसकेको, टेलिकमका कर्मचारीले असीमित सुविधा लिइरहेको र राज्यकोषमा जानुपर्ने कम्तिमा ४० करोड रूपैयाँ सेवा सुविधाका नाममा दुरुपयोग भएको टेलिकम व्यवस्थापनमाथि आरोप लागेको छ ।

यसअघि गतसाता प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटासहितको उपस्थितिमा कामिनीसहित टेलिकमका अधिकारीहरूसँग मौखिक प्रष्टीकरण लिएका थिए ।
प्रबन्धनिर्देशक राजभण्डारीलाई ‘तपाईँलाई जिम्मेवारीबाट किन बर्खास्त नगर्ने ?’ भन्ने प्रश्नसमेत गरिएको स्रोतले जनाएको छ ।

यसअघि सञ्चालक समिति बैठकले पनि प्रबन्ध निर्देशकको कार्यक्षमतामा प्रश्न उठाउँदै कार्य सम्पादन मूल्यांकन सन्तोषजनक नभएको निर्णय गरेको थियो ।

तत्कालीन सञ्चारमन्त्री राम कार्कीका पालामा ०७३ मा नियुक्ति पाएकी कामिनीको पदावधि ०७६ सम्म छ ।

सञ्चालक समितिको सिफारिसबमोजिम राजभण्डारीलाई स्पष्टीकरण सोधिएको स्रोतले जनाएको छ । सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले कार्यभार सम्हालेलगत्तै नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणको कार्यप्रगति सन्तोषजनक नभएको भन्दै सुधारका लागि निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस