कपिलवस्तुको तत्कालीन बर्कलपुर गाविसमा पनि मानसी परियोजना लागू छ । परियोजना लागू भएपछि स्वास्थ्य क्षेत्रमा कस्तो प्रभाव देखिएको छ ? के साँच्चै नै यहाँको स्वास्थ्य अवस्था सुधार भएको हो त ? यहीँ सेरोफेरोमा रही बर्कलपुर स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष नवीन खनालसँग प्रशासन डट कमका एस राज उपाध्यायले गरेको कुराकानी ।
बर्कलपुर स्वास्थ्यचौकीलाई बर्थिङ सेन्टरकारूपमा विकास गर्दा स्थानीयलाई कस्तो फाइदा पुगेको छ ?
पहिले हाम्रो भेगका महिलालाई प्रसूति हुँदा समस्या थियो । यसको समाधान गर्न हामीले स्वास्थ्य चौकीलाई बर्थिङसेन्टरका रूपमा विकास गरेका छौं । यसले प्रसूति सेवालाई सर्वसुलभ बनाउनुका साथै प्रसूति सेवा लिन बुटवल जानुपर्ने बाध्यता हटाएको छ ।
फेयरमेड फाउण्डेसनको आर्थिक सहयोगमा आइएनएफद्वारा सञ्चालित मानसी परियोजनापछि स्वास्थ्य अवस्थामा निकै सकारात्मक परिवर्तन ल्याएको छ । महिला तथा आमा समूह, स्वास्थ्य व्यवस्थापन समितिलाई सक्रिय बनाउन यसले महत्वपूर्ण भूमिका खेलेको छ ।
पहिले र अहिलेको अवस्थामा के अन्तर छ ?
पहिले र अहिलेको अवस्था निकै फरक छ । पहिले महिला तथा आमा समूह र स्वास्थ्य चौंकी व्यवस्थापन समिति त्यति सक्रिय थिएन, अहिले त्यो अवस्था फेरिएको छ । सबैले आफ्नो जिम्मेवारी लिएका छन् । हामी पनि नियमित मिटिङ बस्न थालेका छौं ।
स्वास्थ्यकर्मी, व्यवस्थापन समिति र आमा समूहबीच समन्वय हुन्छ त ?
यहाँको समुदाय अन्यत्रको तुलनामा अलि बढी सक्रिय छ ।समुदाय अनुसार व्यवस्थापन समिति पनि अत्यन्त सक्रिय छ जस्तो लाग्छ ।
स्वास्थ्य चौकी भवनको जग्गा व्यवस्थापन समितिको सक्रियतामा नै किनिएको हो । समितिले जनतासँग चन्दा संकलन गरेर जग्गा किनेको हो । जनतासँग आठ–दश लाख चन्दा संकलन गरी जग्गा किन्ने यो नै पहिलो स्वास्थ्य चौकी हो । यो यी तीन पक्षमध्ये एक्लैको प्रयासमा सम्भव हुने थिएन । त्यसकारण सबै पक्षबीच समन्वय छ ।
बर्थिङ सेन्टर स्थापना भएपछि सबैभन्दा बढी कसलाई फाइदा पुगेको छ ?
पक्कै पनिसबैभन्दाबढी फाइदा त महिला र नवजात शिशुलाई नै पुगेको छ । यहाँका महिलाले पनि धेरै सक्रियता जनाएका छन् । महिला लक्षित वर्गमा छुट्याएको सम्पूर्ण रकम स्वास्थ्य चौकीलाई दिइएको थियो ।
यो अवस्थासम्म पुर्याउन स्थानीयको कतिको सहयोग रह्यो ?
स्थानीय जनताले जुन सक्रियता देखाउनुभएको छ, यसले हामीलाई उत्साहित बनाएको छ । यसले हामीलाई पनि सकारात्मक काम गर्ने ऊर्जा थपेको छ । अर्काे कुरा हामीलाई सधै स्थानीयको सहयोग आवश्यक छ ।
यस किसिमको सक्रियतालाई निरन्तरता दिन र थप सुधार गर्दै लैजान के गरिनुपर्छ जस्तो लाग्छ यहाँलाई ?
हामीले समाजलाई वर्ग विभाजन गर्नुपर्छ भनेका छौं । जस्तैः तालिम गोष्ठीमा बोलाउँदा आमा तथा महिला समूहका पिछडिएको समुदायबाट पनि बोलाउने । जस्तै : दलित वा वादी समुदाय । त्यो काम गर्न सके सजिलो हुन्छ । सबै आमासमूह समान छैनन् । जस्तैःवादी, दलित, थारूर अन्य समुदायका बस्तीका आमा समूहबीच ठूलो अन्तर छ ।
तालिम तथा गोष्ठीमा भने सक्षम समुदायका आमा समूहको मात्रै सदस्यको बढी सहभागिता हुने गरेको छ । यसलाई सुधार्नु आवश्यक छ । यसका लागि मेरो पहल हुनेछ ।
स्वास्थ्यको क्षेत्रमा निकै धेरै सामाजिक संघसंस्थाहरुले काम गर्दै आएका छन् कसरी सहयोगलाई बढी भन्दा बढी प्रभावकारी बनाउन सकिन्छ ?
संघसंस्थाहरूले जुनरूपमा तालिम र अनुगमनमा मात्रै पैसा धेरै खर्च गर्ने परिपाटी छ, यसलाई सुधार गरी प्रवद्र्धन र भौतिक पूर्वाधारमा खर्च गर्यो भने त्यो काम प्रभावकारी हुन्थ्यो जस्तो लाग्छ ।
समुदायको आवश्यकतालाई परिपुर्ति गर्न सहयोग पु-याउँदै आएका मानसि परियोजनाबारे तपाइको धारणा के छ र थप कस्तो खालको सहयोग भइ दिए हुन्थ्यो जस्तो लाग्छ ?
संस्थाले जुन खालका कार्यक्रम चलाइरहेको छ, यसमा अझ थप सुधार गर्नुपर्यो । आर्थिक सहयोगलाई अझै बढाउनु पर्यो । बेलाबेला यहाँका समस्यालाई अझै प्रभावकारी ढंगले उठाइदिनुपर्यो ।
हामी भौतिक पूर्वाधारमा सम्पन्न छौं । तर, पर्याप्त उपकरण र जनशक्ति छैनन् । त्यसले सेवाप्रवाहमा असर परेको छ । पर्याप्त उपकरण नहुँदा जटिल केस रेफर गर्नुपर्ने बाध्यता छ । त्यसकारण यो समस्या समाधान गर्न सके अझै गुणस्तरीय सेवाप्रवाह गर्न सकिन्थ्यो ।