निजामती सेवाः असल ट्रेड युनियन संस्कार निर्माणका शर्तहरू « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

निजामती सेवाः असल ट्रेड युनियन संस्कार निर्माणका शर्तहरू


शरद कुमार अधिकारी

६ बैशाख २०७५, बिहिबार


निजामती सेवामा ट्रेड युनिनयको शुरुआत असल नियतका साथ गरिएको थियो । निजामती कर्मचारीहरूको पेशागत हक हित अभिवृद्धि गर्ने र व्यावसायिकता मार्फत सेवा प्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने ध्येयले नै ट्रेड युनियनको प्रयोग निजामती सेवामा गरिएको थियो । तथापि, विगत २६–२७ वर्ष देखिको अभ्यास र ट्रेड युनियन आन्दोलनले ट्रेड युनियनहरूमा व्यावसायिकता विकास गरी असल संस्कार निर्माण गर्न नसकेको गुनासो यत्रतत्र सुनिएको छ । विशेष गरी बहुल ट्रेड युनियनको अभ्यास र ट्रेड युनियनकर्मीहरूको आचरणलाई उछालेर यस्ता जनगुनासाहरू आउने गरेका छन् ।

आधिकारिक ट्रेड युनियनको निर्वाचन पश्चात् पेशागत ट्रेड युनियन आन्दोलनले पनि गति लिन नसकेको यथार्थता एकातिर छ भने स्वयं आधिकारिक ट्रेड युनियन पनि अस्तव्यस्तताका लागि थप कारक बन्न पुगेको जनगुनासो यत्रतत्र सुनिएको छ । पेशागत ट्रेड युनियनको मान्यतालाई चटक्कै बिर्सेर फन्डेड ट्रेड युनियन बन्न मरिहत्ते गरेको आरोप आधिकारिक ट्रेड युनियनले खेपिरहेको छ । निजामती सेवाको आधिकारिक ट्रेड युनियन पश्चिमा राष्ट्रहरूमा जस्तो स्वचालित ट्रेड युनियन बन्न नखोजेर कतिपय अफ्रिकन देशहरूमा बिदेशीलाई देखाउनका लागि मात्रै खोलाइएका ट्रेड युनियन जस्तो बनेको आरोप पनि छ ।

निजामती सेवाका ट्रेड युनियन र ट्रेड युनियनकर्मी बिरुद्धका जनगुनासोहरूप्रति स्वयं ट्रेड युनियन र ट्रेड युनियनकर्मीहरूले गम्भीर हुन जरुरी छ । ट्रेड युनियनहरूले कस्तो खालको ट्रेड युनियन आन्दोलन सिर्जना गराउन खोजेका हुन् त्यसको यथार्थ तस्बिर जनमानसमा दिन पर्ने दायित्व पनि ट्रेड स्वयं युनियनकर्मीहरूकै हो । त्यसो त नेपालमा एक खालको नव सामन्तबाद हावी भइरहेको छ आजकल । आफूले आफ्नो जिम्मेवारी वहन नगर्ने अनि त्यस्को दोष अरूलाई थोपार्ने खालको नव सामान्तबाद । ट्रेड युनियन बिरुद्धका जनगुनासाहरूलाई यति मै सिमित राखेर हेर्न भने मिल्दैन । ट्रेड यनियनहरूले पनि परिवर्तित समय अनुसार आफूलाई परिमार्जन गरेर निरन्तर अघि बढ्न जान्नु पर्दछ । प्रयास गर्नु पर्दछ ।

ट्रेड युनियनको पर्यावरणभित्र रहेका सरकार, राजनीतिक पार्टी र स्वयं ट्रेड युनियनहरूले देहायका विषयमा सुधार गरेर अघि बढ्न सके निजामती सेवाको गरिमा र प्रतिष्ठा मात्रै बढ्ने थिएन, निजामती ट्रेड युनियनमा असल संस्कार स्थापित भई पेशागत हक हित र अधिकारको विषय पनि मुलप्रवाहमा आउने थियो । सरकार, राजनीतिक पार्टी र स्वयं ट्रेड युनियनहरूले देहायका सुधारका कुराहरु कार्यान्वयन गर्ने हो भने प्रभावकारी सेवा प्रवाह मात्रै सुनिश्चित हुने थिएन सरकार प्रतिको आशा र भरोसा समेत सम्बोधन हुन गई जनतामा परिवर्तनको आभास समेत हुने थियो ।

क) सरकार र राजनीतिक पार्टीहरूले गर्नु पर्ने सुधार

१. ट्रेड युनियन दर्ता र नवीकरण प्रक्रियामा कुनै पनि राजनीतिक दलसँग आबद्द नभएको भन्ने सम्बन्धित ट्रेड युनियनको केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित गरेको निर्णय सहितको घोषणालाई अनिवार्य पेश गर्नु पर्ने व्यवस्था गर्ने ।

२. ट्रेड युनियनहरूलाई कर्मचारी ब्यवस्थापन, नीति निर्माण र कार्यान्वयन जस्ता निर्णयहरूमा सहभागी गराउने । कर्मचारी प्रशासन र विकास ब्यवस्थापनको क्षेत्रमा समुहगत कार्य, समूह गतिशीलता र सहभागितात्मक पद्धति सर्वत्र स्वीकार गरिएका विषय हुन् । कानुनमा नै ट्रेड युनियनको सहभागिता गराउने भनेर तोकिएका क्षेत्रमासमेत ट्रेड युनियनहरूको सहभागिता नगराइएको हुनाले पनि निजामती सेवा भित्र द्वन्द्वको स्थिति देखा परेको हो ।

३. निजामती कर्मचारीसँग सरोकार राख्ने निकाय र संस्थाहरूमा निजामती क्षेत्रका ट्रेड युनियनहरूको प्रतिनिधित्व एकदमै जरुरी छ । यस्ता निकाय तथा संस्थाहरूमा प्रतिनिधित्व गराउँदा समग्र ब्यवस्थापनमा सबै सरोकारवालाहरूको स्वामित्व सिर्जना हुन जान्छ । निजामती अस्पताल ब्यवस्थापन, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायत बेलाबेला गठन हुने समिति, कार्यदल, आयोगहरूमा ट्रेड युनियनको प्रतिनिधित्वले परिवर्तन ब्यवस्थापनलाई पनि सहज बनाउँदछ ।

४. सबै राजनीतिक पार्टीहरूले कम्तिमा पनि निजामती क्षेत्रका ट्रेड युनियनहरू हेर्ने इन्चार्ज नतोक्ने । ट्रेड युनियनहरूलाई भातृ संस्था वा शुभेच्छुक संस्थाको हैसियत नदिने । आफैले पार्टीको अंग बनाउने अनि ट्रेड युनियनका कारण निजामती सेवामा राजनीतिकरण भयो भन्दै सबै अस्तव्यस्तताको कारक ट्रेड युनियनहरु हुन भन्नु किमार्थ ठीक हँुदै होइन । जनताको करबाट तलव भत्ता खाने स्थायी सरकारलाई राजनीति तटस्थता र सेवा प्रवाहमा निष्पक्षताको सिद्धान्तका आधारमा सञ्चालन गर्न सबै राजनीतिक पार्टीहरू प्रतिबद्ध रहन एकदमै जरुरी छ ।

ख) ट्रेड युनियनहरूले गर्नु पर्ने सुधार

५. ट्रेड युनियनकर्मीहरूका लागि पेशागत आचारसंहिता निर्माण गरी लागू गराउने । पेशागत मान्यताको जग बलियो बनाउन ट्रेड युनियनकर्मीहरूले के गर्ने के नगर्ने, कसका प्रति उत्तरदायी रहने र पेशागत हक हितका विषयमा के कस्ता काम गर्ने लगायतका कुराहरू समाबेश भएको सर्वस्वीकृत आचारसंहिता बनाई लागू गराउने ।

६. कानुनको प्रक्रिया भन्दा बाहिर गएर कार्यक्रम वा गतिबिधी सञ्चालन नगर्ने । ट्रेड युनियनका के कस्ता गतिबिधिहरू कसरी संचालन गर्ने भन्ने कुरा कानुनमा नै उल्लेख गरिएका छन् । कानुनमा उल्लेखित गतिबिधि, त्यसको बिधि र प्रक्रिया भन्दा बाहिर गएर गतिबिधि सञ्चालन गर्नाले पनि ट्रेड युनियन बिरुद्धको जनमत बढेर गएको यथार्थ हो । यस तर्फ ट्रेड युनियनहरू बिशेष सजग रहन जरुरी छ ।

७. ट्रेड युनियनहरूलाई एकीकरण गर्ने । करिब ८० हजार कर्मचारीहरू रहेको निजामती सेवामा आधा दर्जन हाराहारीका ट्रेड युनियन जरुरी पनि देखिँदैन । अन्तर्राष्ट्रिय जगतमा समेत ट्रेड युनियनहरूको एकीकरण प्रबृत्ति बढी रहेको छ । आधिकारिक ट्रेड युनियनको निर्वाचन पश्रचात समान धारणा र मान्यताका आधारमा ट्रेड युनियनहरूको एकिकरणका लागि दबाब पनि रहेको स्थिति देखिन्छ । यसलाई ट्रेड युनियनहरूले आत्मसात गर्नु पर्दछ ।

८. ट्रेड युनियनका गतिबिधिहरू कार्यालय समय भन्दा अघि वा पछि मात्रै गर्ने । निजामती कर्मचारीहरू जनताका असली सेवक हुन् । जनताले कुन समयमा सेवा पाउने भन्ने कुरा कानुनमा नै तोकिएको हुन्छ । त्यसैले १० बजे देखि ५ बजे सम्मको समय कर्मचारीले जनतालाई दिनु पर्ने समय हो । कार्यालयका लागि तोकिएको समयमा ट्रेड युनियनका गतिबिधिहरू सञ्चालन गरेर जनताको समयलाई वेवास्ता गर्न मिल्दै मिल्दैन ।

९. ट्रेड युनियनहरूले सरकारी स्रोत साधन प्रयोग गर्दै नगर्ने । ट्रेड युनियन भनेको सामुहिक हितका लागि सामुहिक प्रयत्नको अर्को नाम हो । यसका गतिबिधिहरू आफ्नै स्रोत साधनबाट सञ्चालन गरिनु पर्दछ । सदस्यहरूको बित्तीय योगदान नै ट्रेड युनियनका लागि रक्त संचार गराउने मुख्य आधार हो । सरकारी स्रोत साधन प्रयोग गर्ने ट्रेड युनियनहरूले सरकारसँग सामुहिक सौदाबाजी गर्न पनि सक्दैनन् । आफ्नै स्रोत साधनबाट सञ्चालन भएका ट्रेड युनियनहरूको सौदाबाजी सामथ्र्य पनि बढी नै हुने गर्दछ ।

१०. ट्रेड युनियनकर्मीहरूले नैतिक चरित्र प्रदर्शन गर्ने । ट्रेड युनियनलाई हेर्ने दृष्टिकोण ट्रेड युनियनकर्मीहरूको चरित्रबाट पनि निर्धारण हुन्छ । ट्रेड युनियनकर्मीहरू कति धेरै नैतिक धरातलमा बसेका छन्, कति सेवा प्रवाहका लागि दत्तचित्त छन् र कति समाज र निजामती सेवा भित्र उदारहणीय बनेका छन् त्यसले पनि ट्रेड युनियन प्रतिको जनधारणा निर्धारण हुने हो । त्यसैले ट्रेड युनियनकर्मीहरूले व्यक्तिगत लाभका लागि भन्दा पनि राष्ट्रका लागि काम गर्ने सेवा प्रदायक हो भन्ने उदारहण प्रस्तुत गर्न सक्नु पर्दछ ।

अन्त्यमा, प्रशासनिक संघीयता कार्यान्वयनको वर्तमान समयमा निजामती कर्मचारी एवं निजामती सेवाका ट्रेड युनियन बिरुद्धमा उठाइएका आवाजहरू केही हदसम्म सुनियोजित भए पनि स्वयं ट्रेड युनियनहरूमा पनि सुधार हुनु÷गर्नु पर्ने आवश्यकता भने प्रसस्तै देखिएका छन् । उल्लेखित सुधारका कुराहरू मात्रै कार्यान्वयन हुन सक्यो भने पनि निजामती सेवाको ट्रेड युनियन आन्दोलनमा असल संस्कार स्थापित भई निजामती सेवाको ट्रेड युनियन आन्दोलनले निजि क्षेत्रका ट्रेड युनियनहरूलाई समेत मार्गदर्शन गरी नेतृत्व दिन सक्ने स्थिति बन्न सक्नेछ ।

अधिकारी नेपाल निजामती कर्मचारी युनियन (संघ) का पूर्व महासचिव हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस