चेपाङ र तामाङ बालबालिकाले पाए मुख्यमन्त्री अभिभावक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चेपाङ र तामाङ बालबालिकाले पाए मुख्यमन्त्री अभिभावक


५ बैशाख २०७५, बुधबार


हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज तीन जना विद्यार्थीको अभिभावक बन्दै सामुदायिक विद्यालयमा भर्ना गरेका छन् । पश्चिम मकवानपुरको मनहरि गाउँपालिका–६ मा रहेको राष्ट्रिय मावि सुनाचुरीका दुई बालबालिका तथा महेन्द्र किरण माविका एक बालकलाई भर्ना गर्दै मुख्यमन्त्री पौडेल भर्ना अभियानमा सहभागी भए ।

विद्यालय जानबाट कोही पनि उमेर पुगेका बालबालिका नछुटून् भन्ने उद्देश्य नेपाल सरकारले शुरु गरेको अभियानअन्तर्गत मुख्यमन्त्री पौडेलले सुनाचुरीमा स्थानीय मनहरि–६ जोगीटारका ६ वर्षीय सञ्जीत ब्लोन तथा मनहरि गाउँपालिका–६ की ६ वर्षीय जेसिका प्रजालाई राष्ट्रिय मावि सुनाचुरीमा कक्षा १ मा भर्ना गरेका हुन् ।

मुख्यमन्त्री पौडेलले उनीहरुका लागि विद्यालय पोशाक, जुत्तादेखि स्कूल ब्याग, किताब तथा स्टेसनरी सामग्रीको समेत व्यवस्था गरे । विद्यार्थी भर्नापछि बोल्दै मुख्यमन्त्री पौडेलले बालबालिकाले पढ्न पाउने अधिकारलाई सरकारले निकै गम्भीर ढंगबाट लिएको र प्रदेश नं ३ सरकारले पनि यो अभियानलाई महत्वपूर्ण रुपमा लिएको बताए । शिक्षाबिना विकास र समृद्धि सम्भव नभएको भन्दै उनले शिक्षाको उज्यालोबाट सबै बालबालिका वञ्चित हुन नहुने धारणा व्यक्त गरे।

कार्यक्रममा प्रतिनिधिसभा सांसद विरोध खतिवडा, प्रदेशसभा सांसदहरु जुनली श्रेष्ठ, ओम घलान, मनहरि गाउँपालिका अध्यक्ष एकाराज उप्रेती लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेशसभा सांसद ओम घलानले सुनिल चेपाङलाई आफू अभिभावक बनेर भर्ना गरे ।

मुख्यमन्त्री पौडेलले मनहरिकै महेन्द्रकिरण माविमा पुगेर सुमन चेपाङको पनि आफू अभिभावक बनेर भर्ना गरे ।सांसद खतिवडाले पनि आफू अभिभावक बनेर विश्वास थोक्रा, जिल्ला समन्वस समितिका प्रमुख रघुनाथ खुलालले आर्यन विक, गाउँपालिका अध्यक्ष उप्रेतीले खुशी घिमिरे, वडा सदस्यहरु पुस्कर सुवेदी तथा रामप्रसाद ढकालले गंगा प्रजा र विक्रम थिङको अभिभावक बनेर विद्यार्थी भर्ना गरे । रासस

प्रतिक्रिया दिनुहोस