काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुर्वेद चिकित्सालय नरदेवी काठमाडौँका निमित्त निर्देशक डा. रामदेव यादवललाई घुससहित पक्राउ गरेको छ ।
निमित्त निर्देशक यादवलाई आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई तीनमहिने प्रशिक्षण गराउने प्रयोजनका लागि रु ३७ हजार घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।
यसैगरी आयोगले आजै सेवाग्राहीसँग घुस रकम लिने सिरहा कल्याणपुर नगरपालिकाका निमित्त कार्यालय प्रमुख वासुदेवकुमार यादव र लेखापाल जयराम चौधरीविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।
उनीहरुले सामान मर्मतलगायत बिल भुक्तानी गरिदिएबापत सेवाग्राहीसँग रु २० हजार घुस रकम लिइसकेको अवस्थामा आयोगले नियन्त्रणमा लिएको आयोगका सहसचिव एवं प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए ।