चीनसँगका सम्झौताः कहाँ पुग्यो कार्यान्वयन ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चीनसँगका सम्झौताः कहाँ पुग्यो कार्यान्वयन ?


प्रशासन विशेष ब्युरो

३ बैशाख २०७५, सोमबार


काठमाडौं । उत्तरी छिमेकी चीनले दुईदेशीय रेलमार्ग निर्माणसहित अन्य आर्थिक सहकार्य प्रस्ताव गरेको धेरै समय भए पनि यसले मूर्त रूप पाउन सकेको छैन ।

विगतमा भएका थुप्रै सम्झौता र समझदारी अलपत्र छन् । आजको कान्तिपुर दैनिकले लेखेको छ–यही पृष्ठभूमिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार चीन भ्रमणमा निस्कँदै छन् ।

प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालको चीन भ्रमणका क्रममा बेइजिङमा भएको पारवहन सम्झौताको ‘प्रोटोकल’ ले पनि अन्तिम रूप पाउन सकेको छैन । सम्झौतासँगै चीनले अघि बढाएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) कार्यान्वयनमा चिनियाँ पक्षले चासो देखाए पनि यसले पनि अझै अन्तिम रूप पाएको छैन ।

अधिकारीहरूका अनुसार उत्पादन क्षमता वृद्धि र चिनियाँ लगानी भित्र्याउने विषयको प्रोटोकल भने अन्तिम चरणमा पुगेको छ । स्वतन्त्र व्यापार क्षेत्रमा चिनियाँ पक्षले आफ्नातर्फबाट काम सकेर नेपालसमक्ष धारणा राखिसकेको छ । त्यसमा नेपालले अध्ययन गरिरहेको बताइए पनि टुंगो लाग्न सकेको छैन ।

चीनसँग पारवहन सम्झौता भएको एक वर्षपछि नेपालले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) कार्यान्वयनमा हस्ताक्षर गर्‍यो तर त्यसमार्फत लगानी भित्र्याउन खासै पहल गरेको छैन । २०७४ असार पहिलो साता नेपाल–चीन परराष्ट्र सचिवस्तरीय परामर्श समितिको ११ औं बैठकमा पनि यसअघि भएका सम्झौता र प्रधानमन्त्री स्तरका भ्रमणमा भएका सहमतिबारे छलफल भए तर कार्यान्वयनमा कुनै प्रगति हुन सकेन ।

दुईपक्षीय तथा बहुपक्षीय विषयमा पुनरावलोकन गर्न बनेको उक्त संयन्त्रको बैठक ४ वर्षपछि बसेको थियो । माघमा अर्को बैठक बेइजिङमा बस्ने भनिए पनि बसेन ।

चार वर्षयता नेपालमा ६ जना प्रधानमन्त्री फेरिइसके तर काम अघि बढ्न सकेको छैन । यो अवस्थामा परराष्ट्रमन्त्री ज्ञवालीको चीन भ्रमणका क्रममा हुने दुईपक्षीय छलफललाई अर्थपूर्ण ठानिएको छ ।

उनको भ्रमण दुईपक्षीय सहकार्य सघन बनाउने र उच्चस्तरको भ्रमणमा जोड दिन केन्द्रित हुने जानकारी परराष्ट्र अधिकारीले दिएका छन् । मन्त्रालयले ज्ञवालीको भ्रमणलाई ‘सद्भावना’ भनेको छ । नेपाल र चीनबीचका कतिपय काम गौंडागौंडामा रोकिने गरेको अनुभव छ ।

कतिपय ठूला परियोजना र दीर्घकालीन असर गर्ने सम्झौता कार्यान्वयनका आधार तय गर्ने काम भइरहेको र त्यसमा राजनीतिक स्पष्टता पनि आवश्यक रहेकाले ज्ञवाली त्यसतर्फ जान लागेको परराष्ट्र उच्च अधिकारीले जनाए । ‘दुई देशबीचका संयन्त्रको बैठक निरन्तर बस्दा सबै विषय टुंगो लाग्दै जानेछ । सडक र रेलमार्ग बन्न भने अलिक समय लाग्नेछ ।

यो तत्काल नै हुने काम होइन,’ अधिकारीहरूले भने । नेपाल–चीन आर्थिक सहयोग, पारवहन, लगानी, व्यापार र दुई देशबीच सतह र हवाई मार्गबाट सम्पर्क विस्तारबारे कर्मचारीस्तरमा लगातार परामर्श भइरहेको दाबी परराष्ट्र अधिकारीको छ । तर, देखिने खालको उपलब्धि हुन नसकेको विषयमा मन्त्री ज्ञवालीले सोमबार चीन जानुअघि मन्त्रालयमा धारणा राख्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस