एक अर्ब ११ करोडको आलु उत्पादन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एक अर्ब ११ करोडको आलु उत्पादन


२१ चैत्र २०७४, बुधबार


नुवाकोट । नुवाकोटमा यस वर्ष एक अर्ब ११ करोड मूल्य बराबरको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे दुई याममा उत्पादित ७४ हजार २०४ मेट्रिक टन आलु बिक्री गरेर जिल्लाका किसानले उक्त रकम आर्जन गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिए ।

‘अघिल्लो वर्षको भन्दा आलु लगाउने क्षेत्रफल र उत्पादन दुवैमा वृद्धि भएको छ,’ वरिष्ठ कृषि विकास अधिकृत गैरेले भने – ‘किसानले व्यावसायिक रुपमा शुरु गरेको खेती प्रणाली सही रुपमा अवलम्बन हुँदा आलुमार्फत जिल्लामा ठूलो रकम भित्र्याउन सफल भएका छौँ ।’

आलुको उत्पादनमा वृद्धि र मूल्यसमेत राम्रो पाएपछि आलु खेती गर्दै आएका किसानसमेत उत्साहित बनेका छन् । स्थानीय बजारमा अहिले आलु १५ भन्दा माथि कारोबार हुँदा किसानले प्रतिकिलोग्राम पाँचसम्म नाफा गर्न सकेका छन् ।

नगदे बालीका रुपमा आलु लगाएर राम्रो उत्पादन गर्दै आएका किसानले शीत भण्डारण (कोल्ड स्टोरेज) को अभावमा हकदाबी मूल्य पाउन नसकेको गुनासो गरेका छन् । कृषि विकास कार्यालयको अनुसार आलु उत्पादन तथा बिक्री र कारोबारको तथ्याँकमा घरेलु प्रयोजनका लागि लगाउने नभई व्यावसायिक रुपमा खेती गर्ने किसानको उत्पादन मात्र समावेश गरिएको छ । दुई याममा गरी व्यावसायिक रुपमा चार हजार २४८ हेक्टर क्षेत्रफलमा आलु लगाइएको छ । प्रतिहेक्टर १७ दशमलव ४७ मेट्रिक टन उत्पादन भई जिल्लाभर कूल ७४ हजार २०४ मेट्रिक ट्रन आलु उत्पादन भएको कृषि विकास कार्यालयको तथ्याँक छ ।

मलखादको सहज आपूर्ति र सुहाउँदो हावापानीले पनि उत्पादनमा वृद्धि भएको हो । यहाँ गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत आलुको जोन कार्यालय सञ्चालनमा आएसँगै आलुखेती गर्ने किसानको सङ्ख्यामा वृद्धि र लगाउने क्षेत्रफलसमेत बढ्न थालेको छ । यहाँको सबै स्थानमा आलुखेतीका लागि उपयुक्त हावापानी छ ।रासस

प्रतिक्रिया दिनुहोस