संघीय संरचनामा सुरक्षाकर्मी परिचालन गर्न कानुन बनाइँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

संघीय संरचनामा सुरक्षाकर्मी परिचालन गर्न कानुन बनाइँदै


प्रशासन विशेष ब्युरो

१८ चैत्र २०७४, आइतबार


संघीय संरचनाअनुसार सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालय कानुनी मस्यौदा निर्माणको तयारीमा जुटेको छ । मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा शान्तिसुरक्षाका लागि तीन तहको सुरक्षा समिति रहने गरी कानुनी मस्यौदा बनाउन तयारी थालेको हो ।

गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा मस्यौदा निर्माणको पहिलो बैठक बसिसकेको छ । बैठकमा गृहसचिव र सहसचिवहरू सहभागी थिए । बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई भने सहभागी गराइएको छैन । संघीय संरचनाअनुसार सुरक्षाकर्मी परिचालन र त्यसको कमान्डका विषयमा बैठकमा छलफल भएको थियो ।

मन्त्रालयका अनुसार संघीय संरचनामा शान्तिसुरक्षा कायम गर्न तीन तहको सुरक्षा समिति रहने र सुरक्षाकर्मी सोही समितिमातहत रहने गरी बैठकमा छलफल भएको थियो ।

‘मुलुक संघीय संरचनामा गइसकेको छ । तर, सुरक्षाकर्मी भने अझै पनि केन्द्रीय संरचना अनुसार नै चलिरहेका छन् । अझ भनौं अहिलेको संघीय संरचनाले सुरक्षाकर्मीलाई चिन्दैन । त्यसो हुँदा सोही अनुसारको कानुन बनाउन आवश्यक छ । त्यसैको तयारीमा गृह जुटेको छ । अहिले भएको छलफल त्यसैका लागि हो । यो छलफल प्रारम्भिक भएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई भने सहभागी गराइएको छैन,’गृह प्रवक्ता रामकृष्ण सुवेदीले भने ।

गृहका अनुसार संघमा संघीय/केन्द्रीय सुरक्षा समिति, प्रदेशमा प्रदेश सुरक्षा समिति र स्थानीय तहको हकमा साविककै जिल्ला सुरक्षा समिति रहने गरी छलफल अघि बढेको छ । स्थानीय तहको शान्ति सुरक्षामा खटिने सुरक्षाकर्मी कमाण्डका बिषय करिब–करिब टुंगिएको छ ।

स्थानीय तहमा खटिने सुरक्षाकर्मी जिल्ला सुरक्षा समितिको कमाण्डमा रहनेछन् । समितिको नेतृत्वमा सम्बन्धित प्रमुख जिल्ला अधिकारी हुनेछन् । समितिमा नेपाली सेनाका स्थानीय प्रमुख, जिल्ला प्रहरी कार्यलय प्रमुख र जिल्ला सशस्त्र प्रहरी कार्यालय प्रमुख सदस्य रहनेछन् ।

प्रदेश सुरक्षा समितिको बिषय भने टुंगिन सकेको छैन । गृहका अनुसार प्रदेश सुरक्षा समितिको नेतृत्व मुख्यमन्त्री, आन्तरिक मामिला तथा कानुनमन्त्री या मुख्यसचिवमध्ये कसले गर्ने टुंगो लागेको छैन । गृह प्रवक्ता सुवेदीले भने, ‘प्रदेश सुरक्षा समिति बन्ने बिषय टुगिंयो । तर, त्यसको नेतृत्वको बिषय टुंगिन बाँकी छ ।’

संघीय/केन्द्रीय सुरक्षा समितिको नेतृत्वको बिषय पनि करिब–करिब टुंगिएको छ । गृहका अनुसार सुरक्षा समितिको नेतृत्व गृहमन्त्रीले नै गर्ने छन् ।

मन्त्रालय मातहतको नेपाल प्रहरी र सशस्त्र प्रहरी गृहमन्त्रीकै कमाण्डमा रहनेछन् । सुवेदीले भने, ‘केन्द्रीय सुरक्षा समितिको नेतृत्व गृह मन्त्रीले नै गर्नेछन् । केन्द्रीय शासन प्रणालीमा पनि त्यही ब्यवस्था थियो । त्यसैलाई अधार मानि यसको नेतृत्वको बिषयमा छलफल भइरहेको छ ।’ आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस