लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर « प्रशासन

लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर


प्रकाशित मिति : २ फाल्गुन २०७४, बुधबार १२:११

वस्तुगत प्रश्नोत्तर

१. वि.सं. २०७४ माघ २६ को मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार नेपाली सेनाको मानार्थ निर्णय अनुसार नेपाली सेनाको मानार्थ सहायक रथी सम्मानबाट सम्मानित हुने स्रष्टा को हुन् ?
– राष्ट्रकवि माधवप्रसाद घिमिरे

२. ३७ औं नेसनल म्यानेजमेन्ट कन्भेन्सनको अवसरमा म्यानेजर अफ द इयर अवार्ड– २०१८ बाट सम्मानित हुने व्यक्ति को हुन् ?
– विश्वास ढकाल (प्रवन्ध निर्देशक: एक वान सफ्ट इन्टरनेसनल)
(त्यस्तै नेपाल टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई ‘आउट स्ट्यान्डिङ’ अवार्ड प्रदान गरिएको ।)

३. नेपालमा नै पहिलोपटक आफ्नो मर्चेन्ट नेटवर्क मार्फत ‘युनियनपे इन्टरनेसनल क्विक रेस्पोन्स (क्यूआर कोर्ड) एक्वायरिङ सर्भिस’ को सुरुवात गर्ने वाणिज्य बैङ्क कुन हो ?
– नविल बैङ्क
– उक्त प्रणाली मार्फत क्यूआर कोडको प्रयोग गरी नविल बैङ्कसँग आबद्ध मर्चेन्टले युनियनपेका अन्तर्राष्ट्रिय कार्ड स्वीकार गरी सरल तथा सुरक्षित तवरले आफ्नो उत्पादन र सेवाको भुक्तानी लिन सक्ने ।
– क्युआर कोड बारकोड मेसिनद्वारा सजिलै पढ्न सकिने अप्टिकल लेवल हो, जसमा संलग्न भएको वस्तुका बारेमा जानकारी समावेश गरिएको हुन्छ । क्यूआर कोडमा सेतो पृष्ठभूमिमा कालो स्क्वायर ग्रिड हुन्छन्, जसलाई छविका रूपमा इमेजिङ यन्त्र जस्तै क्यामेराद्वारा पढेर प्रशोधन गरी कारोबार गर्न सकिने हुन्छ ।
– क्यूआर कोड प्रणाली मार्फत उपभोक्ताले व्यापारिक बिक्री केन्द्रमा रहेको क्यूआर कोडलाई आफ्नो फोनबाट नै स्क्यान गरी आफूले राजेको सामान र सेवाको भुक्तानी गर्न सक्नेछन् ।,

४. वि.सं. २०७४ मा सम्पन्न बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?
– थ्रिस्टार
(नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै माघ २७ मा भएको फाइनल प्रतियोगितामा थ्रिस्टारले उपाधि चुमेको ।)

५. प्रधान सेनापति खुला म्याराथन– २०७४ को उपाधि जित्ने धावक को हुन् ?
– नेपाली सेनाका कृष्ण बस्नेत
(बस्नेतले २ घण्टा २२ मिनेट ५२ सेकेन्डमा दौड पूरा गरेर पहिलो स्थान हासिल गरेका । सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की २ घण्टा २५ मिनेट ३७ सेकेन्ड समय लिँदै दोस्रो तथा सेनाका अमल्दार राजन खत्रीले २ घण्टा २९ मिनेट १२ सेकेन्डमा दौड पूरा गरी तेस्रो भएका । हाफ म्याराथनतर्फ महिला विधामा सेनाकी प्युठ विश्वरुपा बुढा पहिलो भएकी ।)

६. २३ औँ शीलकालीन ओलम्पिक खेलकुदको आयोजना कहाँ गरियो ?
– दक्षिण कोरियाको प्याङचाङ (सन् २०१८ फेब्रुअरी ९–२५)
– यस ओलम्पिकबाट उत्तर र दक्षिण कोरिया बीचको कटुतापूर्ण सम्वन्धमा सुधार हुने आशा गरिएको ।
– उद्घाटन समारोहमा दक्षिण कोरिया र उत्तर कोरियाका खेलाडीले दुवै कोरिया बीचको तनावमा पनि एउटै झण्डा मुनि मार्चपास गरेका । ओलम्पिक उद्घाटन समारोहमा १ हजार २ सय १८ ड्रोन प्रयोग गरिएको, जुन नयाँ गिनिज वल्र्ड रेकर्डसमेत बनेको ।
– ओलम्पिकबाट प्रतिबन्धित भएका रसियन खेलाडीले तटस्थ ओलम्पिक झण्डामुनि मार्चपास गरेका ।
– यस ओलम्पिकमा ९२ देशका २ हजार ९ सय २५ खेलाडीले विभिन्न १५ खेलमा सहभागिता जनाएका ।

७. ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको औपचारिक रुपमा उद्घाटन कहिले गरियो ?
– वि.सं. २०७४ माघ २७
– सुदूर पश्चि विकासक्षेत्र र अहिलेको प्रदेश ७ मा पर्ने दार्चुला र बैतडीको सीमामा निर्माण भएको यो आयोजनाबाट एक महिनाअघि देखि परीक्षण उत्पादन सुरु भएको । प्रतिमेगावाट लागत करिब १५ करोड रुपियाँको हिसाब गरिने बेलामा चमेलिया सुरु हुँदाको प्रतिमेगावाट लागत आम प्रचलनभन्दा दोब्बर बढी थियो र सम्पन्न हुँदा तेब्बर बढी पुगेको जसले गर्दा यो जलविद्युत् आयोजना अहिले सम्मकै महँगो आयोजना बन्न पुगेको ।
– आयोजनाको विस्तृत परियोजना प्रतिवेदनले महँगो आयोजनाका रुपमा उल्लेख गरे पनि विकासमा पछाडि परेको सुदूर पश्चिम क्षेत्रकै सन्तुलित विकासका लागि यो आयोजना सुरु गरिएको । डिजाइन परिवर्तन, ठेकेदार कम्पनीसँगको विवाद, भूकम्प, नाकाबन्दी लगायतबाट समेत आयोजना प्रभावित भएको ।
– आयोजनाको निर्माण सुरुवात वि.सं. २०६४ मा भएको ।

८. नेपाल वायुसेवा निगमले चीनबाट ‘एमए–६०’ र ‘वाई १२ ई’ नामक जहाज कहिले ल्याएको हो ?
– वि.सं. २०७४ फागुन १
(चीनबाट दुई जहाज आएसँगै नेपालको आन्तरिक उडानमा चिनियाँ जहाजको सङ्ख्या ६ पुगेको ।)

९. विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) को नेपाल प्रतिनिधिमा नियुक्त हुने संरक्षणविद् को हुन् ?
– डा. घनश्याम गुरुङ

१ू०. नयाँ सहरी विकास एजेन्डामा आधारित सहरी विकास सम्बन्धी विश्व सम्मेलन कहाँ आयोजना गरियो ?
– मेलियाको क्वालालम्पुर
– सन् २०१८ फेब्रुअरी ९–१५ सम्म आयोजित सम्मेलनमा नेपालसहित विश्वका सरकारी तथा गैरसरकारी निकाय एवम् सङ्घ संस्थाका प्रतिनिधि सहभागी भएका ।
– सहरी विकास एवम् मानव बस्ती निर्माण, आधारमूत आवास तथा संरचना विकास, उच्च गुणस्तरयुक्त सार्वजनिक संस्थानको विकास लगायत विषयमा केन्द्रित सम्मेलनको नारा ‘सहर २०३०, सबैका लागि सहरः नयाँ सहरी एजेन्डा कार्यान्वयन’ रहेको ।
– सन् २००२ बाट हरेक दुई वर्षमा आयोजना हुँदै आएको यो नवौं सम्मेलन हो ।


विषयगत प्रश्नोत्तर

१. थारु आयोगको काम, कर्तव्य र अधिकार के–के हुन् ? उल्लेख गर्नुहोस् ।

नेपालमा थारु समुदायको इतिहास र संस्कृतिको पहिचान, हक, हितको संरक्षण, सम्वद्र्धन तथा थारु समुदायको सशक्तीकरण गर्न नेपालको संविधानको धारा २६३ मा थारु आयोग गठन गरी थारु आयोग ऐन, २०७४ तर्जुमा गरिएको छ । थारु आयोग ऐन, २०७४ ले थारु आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था गरेको छ, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः

– थारु समुदायको समग्र स्थितिको अध्ययन गरी तत् सम्बन्धमा गर्नुपर्ने नीतिगत, कानुनी र संस्थागत सुधारका विषयमा नेपाल सरकार समक्ष सिफारिस गर्ने,
– थारु समुदायको हकहितको संरक्षण र सम्वद्र्धन तथा त्यस्तो समुदायको सशक्तीकरणका लागि राष्ट्रिय नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयनका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने,
– थारु समुदायको हकहितको संरक्षण र सम्वद्र्धन तथा त्यस्तो समुदायको सशक्तीकरणका सम्बन्धमा भएका व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन भएनभएको विषयमा अध्ययन अनुसन्धान गरी प्रभावकारी कार्यान्वयन गर्न चाल्नुपर्ने कदमका सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने,
– थारु समुदायको हकहितको संरक्षण र सम्वद्र्धन तथा त्यस्तो समुदायको सशक्तीकरणका सम्बन्धमा भइरहेका कानुन, नीतिगत तथा संस्थागत व्यवस्थामा गर्नुपर्ने सुधारका सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने,
– थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको समीक्षा, अनुगमन तथा मूल्याङ्कन गर्ने,
– थारु आयोगले गरेका सिफारिस वा दिएका सुझाव कार्यान्वयनको सम्बन्धमा अनुगमन गर्ने, गराउने,
– थारु समुदायभित्र आर्थिक वा सामाजिक रुपमा पछाडि परेका व्यक्तिको विकास र सशक्तीकरणका लागि विशेष कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न नेृपाल सरकार समक्ष सिफारिस गर्ने,
– थारु समुदायको भाषा, लिपि, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको अध्ययन अनुसन्धान गरी त्यस्तो भाषा, लिपि, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको संरक्षण र विकासका लागि कार्यक्रम तर्जुमा गरी नेपाल सरकारलाई सिफारिस गर्ने,
– थारु समुदायको हकहितको संरक्षण र सम्वद्र्धन तथा त्यस्तो समुदायको सशक्तीकरणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने,
– थारु समुदायमा विद्यमान कुरीति, अन्धविश्वास तथा सबै प्रकारको शोषणको अन्त्य गरी थारु समुदायको सशक्तकरणका लागि कार्यक्रम तर्जुमा गरी नेपाल सरकारलाई सिफारिस गर्ने,
– थारु समुदायमा रहेका परम्परागत सीप, प्रविधि र विशिष्ट ज्ञानको संरक्षण र प्रवद्र्धन गरी व्यावसायिक प्रयोगमा ल्याउन सहयोग गर्ने,
– थारु समुदायको सम्बन्धमा नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय सन्धि सम्झौता कार्यान्वयन भए नभएको अनुगमन गरी आवश्यक निर्देशन दिने,
– थारु समुदायको अधिकार उल्लङ्घन गर्ने व्यक्ति वा संस्थाका विरुद्ध उजुरी सङ्कलन गरी सो उपर छानबिन तथा तहकिकात गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने,
– थारु समुदायको पहिचानका सम्बन्धमा विस्तृत अध्ययन र अनुसन्धान गरी थर सूचीकृत गर्न नेपाल सरकारलाई सिफारिस गर्ने,
– थारु समुदायको भौतिक, अभौतिक संस्कृति संरक्षण र सम्वद्र्धनका लागि जीवित सङ्ग्रहालय स्थापना र परिचालनका लागि नीति तथा कार्यक्रम तर्जुमा गर्ने र कार्यान्वयनका लागि नेपाल सरकारलाई सिफारिस गर्ने,
– थारु समुदायको उद्गम स्थलको खोज अनुसन्धान गरी त्यस्ता पुरातात्विक र एतिहासिक संरचना, वस्तु र स्थलको संरक्षण र सम्वद्र्धन गर्न नेपाल सरकारलाई सिफारिस गर्ने,
– थारु समुदायको हकहितको संरक्षण, सम्वद्र्धन र सशक्तीकरणका लागि नेपाल सरकार र अन्य सङ्घसंस्थाले सञ्चालन गर्ने चेतनामुलक कार्यक्रमको समीक्षा, अनुगमन तथा मूल्याङ्कन गर्ने,
– थारु आयोगका अध्यक्ष, सदस्य तथा कर्मचारीका लागि आचारसहिता बनाई लागू गर्ने ।

२. सङ्गठनमा चिठीपत्रको दर्ता र चलानी किन आवश्यक हुन्छ ? उल्लेख गर्नुहोस् ।

सङ्गठनमा आएका चिठीपत्र प्राप्त हुनासाथ सुरुको अभिलेख राख्ने कार्य दर्ता हो भने सङ्गठनबाट बारि जाने चिठीपत्रको अन्तिम अभिलेख राख्ने कार्य चलानी हो । कार्यालयमा दर्तामार्फत चिठीपत्र भित्रिन्छ भने चलानीमार्फत चिठीपत्र बाहिरिन्छ । दर्ताबाट कार्यालयमा कामको प्रारम्भ हुन्छ भने चलानीबाट कामको दायित्व अरुमा सार्ने गरिन्छ । सङ्गठनमा चिठीपत्रको दर्ता र चलानीको आवश्यकता निम्न अनुसार गरिन्छ । सङ्गठनमा चिठीपत्रको दर्ता चलानीको आवश्यकता निम्न अनुसार हुनेगर्दछः

– कार्यालयमा प्राप्त भएका चिठीपत्रको प्रारम्भिक अभिलेख राख्न,
– कुन पत्र कहिले कहाँबाट प्राप्त भयो र प्राप्त पत्रको कारबाही के कस्तो भएको छ सोबारे जानकारी प्राप्त गर्न,
– कार्यालयमा प्राप्त पत्रको सुरक्षा गर्न,
– कार्यलयमा प्राप्त पत्र हटाउने सम्भावना कम हुने, यदि पत्र हराएमा दर्ता किताबबाट जानकारी प्राप्त गर्न सकिने, जस्तैः पत्रको दर्ता नम्बर, पत्रको मिति, पत्र सङ्ख्या, पत्रको विषय आदिबाट पत्रको खोज ीगर्न सकिने,
– कार्यालयबाट कसलाई के विषयमा कहिले पत्र पठाइयो सोको विवरण चलानीबाट लिन सकने,
– पत्र पाउने कार्यालयले पत्र बुझेको भरपाई चलानीमा हुने, आवश्यक पर्दा उक्त भरपाई प्रमाण हुन सक्ने,
– चलानी पत्र हराएमा पुनः अर्को पत्र तयार गर्न सरल हुने।

३. नेपालमा राष्ट्रिय योजना आयोगको गठन कसरी गरिएको छ ? लेख्नुहोस् ।

राष्ट्रिय योजना आयोगको गठन तथा कार्य सञ्चालन आदेश, २०६७ अनुसार नेपालमा राष्ट्रिय विकासको नीति तथा योजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन गर्न देहाय बमोजिमका अध्यक्ष उपाध्यक्ष र सदस्य रहनेगरी राष्ट्रिय योजना आयोगको गठनको व्यवस्था छः

क) प्रधानमन्त्री – अध्यक्ष
ख) नेपाल सरकारबाट नियुक्त एक – उपाध्यक्ष
ग) नेपाल सरकारबाट नियुक्त बढीमा सात – सदस्य
घ) मुख्य सचिव – सदस्य
ङ) अर्थ सचिव – सदस्य
च) राष्ट्रिय योजना आयोगको सचिव – सदस्य सचिव


साभारः गोरखापत्र

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

प्रतिक्रिया दिनुहोस