‘रअ’को एजेन्ट बनाइदिने भन्दै ठगी, ६ जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

‘रअ’को एजेन्ट बनाइदिने भन्दै ठगी, ६ जना पक्राउ


१ माघ २०७४, सोमबार


काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’ (रिसर्च एन्ड एनालाइसिस विङ्स) को नेपाल प्रमुख भन्दै ठगी कार्यमा संलग्न ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी राजविराज–२ का रमानन्द नौनिया, दोलखा सुरी–२ का सन्तोष कार्की र विनोद कार्की, काभ्रे गागर्चे–५ का पदमबहादुर श्रेष्ठ, रामेछाप दोरम्बा–७ का चित्रबहादुर श्रेष्ठ र महाराजगन्जकी गीता महर्जन छन् ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले पाँच महिनादेखि ‘रअ’ एजेन्ट बनाइदिने भन्दै सर्वसाधारणलाई ठग्दै आएका थिए ।

महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले उनीहरूले तीनदेखि चार सयजनालाई ठगेको बताए । ‘रअको एजेन्ट बनाइदिने भन्दै उनीहरूले तीन–चार सयभन्दा धेरैसँग रकम लिएको खुलेको छ,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस