‘सहमतिबाटै अध्यादेश’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘सहमतिबाटै अध्यादेश’


१४ पुस २०७४, शुक्रबार


काठमाडौं । माओवादीले प्रमुख दलबीच राजनीतिक सहमति गरी राष्ट्रियसभा अध्यादेशको गाँठो फुकाएर नयाँ सरकार गठनमा जुट्नुपर्ने प्रस्ताव अघि सारेको छ । माओवादी केन्द्रीय कार्यालयको बिहीबार बसेको बैठकमा नेताहरूले जनताले वाम गठबन्धनप्रति गरेको विश्वास र भरोसालाई निराशा र अविश्वासमा परिणत हुन नदिन तत्काल सरकार गठन गर्नुपर्ने बताएका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटी राष्ट्रियसभा अध्यादेश लामो समय अल्झिराख्दा जनतामा निराशा बढेको बताएका थिए । शीतल निवासमा बिहान करिब डेढ घन्टा लामो भेटमा दाहालले मुख्य पाँच दलबीच परामर्श गरी राष्ट्रियसभा अध्यादेशलगायत विवादलाई निकास दिन पहल गर्ने प्रतिबद्धतासमेत जनाएका थिए । दाहालले निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरूले पाएको सिट सार्वजनिक नगर्नु आश्चर्यजनक भएको बताउँदै यसका लागि राष्ट्रियसभा अध्यादेश किन र केका लागि आवश्यक परेको हो भन्ने कुरा स्पष्ट नभएको धारणा राष्ट्रपतिसँग राखेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यथाशीघ्र साझा विन्दु पहिचान गरेर आउन दाहाललाई आग्रह गरिन्। ‘अध्यादेशमा यथाशीघ्र साझा विन्दु पहिचान गरेर आउनुहोस् । राष्ट्र र जनताको जनमत प्राप्त दलहरूले यस्तो अध्यादेशमा अल्झनु राम्रो हुँदैन’, राष्ट्रपतिको भनाइ उद्धृत गर्दै राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा। भेषराज अधिकारीले भने । जवाफमा दाहालले मुख्य दलबीच बैठक बोलाएर निर्णायक पाइला चाल्न राष्ट्रपतिलाई सुझाव दिएको माओवादी सचिवालय सदस्य मणि थापाले जानकारी दिए । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस