प्रदेश नं ३ को मुख्यमन्त्रीमा शाक्यदेखि स्थापितसम्म आकांक्षी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रदेश नं ३ को मुख्यमन्त्रीमा शाक्यदेखि स्थापितसम्म आकांक्षी


२९ मंसिर २०७४, शुक्रबार


काठमाडौं । वाम गठबन्धनले प्रदेश नं ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।

प्रदेश नं ३ प्रदेशसभामा वाम गठबन्धनले ६६ मध्ये ५७ सिट जीत हासिल गरेपछि मुख्यमन्त्रीका लागि दौडधुप चलेको छ ।

मुख्यमन्त्रीको आकांक्षीमा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यदेखि काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितसम्म देखिएका छन् ।

निर्वाचन अगाडि नै मुख्यमन्त्रीको रुपमा प्रस्तुत भएकी उनी अहिले निर्वाचनको नतिजा आइसकेपछि आकांक्षीको रुपमा प्रस्तुत भएकी छन् । मुख्यमन्त्रीको रुपमा आकांक्षीको रुपमा शाक्य, स्थापितसँगै एमाले पोलिटब्यूरो सदस्यद्वय राजेन्द्र पाण्डे र सानुकुमार श्रेष्ठ, पशुपति चौलागार्इं, अरुण नेपाललगायत देखिएका छन् ।

उपाध्यक्ष शाक्य प्रमुख दाबेदारका रुपमा रहेकी छन् । उनीहरु अहिले आफू मुख्यमन्त्री बन्नका लागि दौडधूपमा छन् । एमाले उपाध्यक्ष शाक्यले पार्टीको प्रदेश प्रमुख भएको नाताले मुख्यमन्त्री आफू नै हुने दाबी गरिन् ।

‘प्रतिनिधिसभामा नगई मैले मुख्यमन्त्रीको लागि नै प्रदेशसभामा प्रतिनिधित्व गरेको हुँ’ उनले भनिन्- ‘सबै साथीले पनि मलाई अघि सार्नुभएको छ ।’

प्रदेशसभाको अन्तिम परिणाम सार्वजनिक भएको २० दिनभित्र प्रदेशसभा गठन हुने संवैधानिक व्यवस्था रहेको छ । पोलिटब्यूरो सदस्य श्रेष्ठ आफू ३ नं प्रदेशको बारेमा जानकार रहेकोले आफू नै मुख्यमन्त्री बन्ने बताए । उनले प्रदेशलाई नमूना बनाउनका लागि आफू नै योग्य भएको दाबी गरे ।

‘प्रदेश बनाउनका लागि सजिलो र चुनौती दुवै रहेको छ’ उनले भने– ‘‘तर म ती सबैलाई मिलाउँदै प्रदेशलाई नमूना बनाउन सक्दछु ।’

प्रदेश नं ३ को अस्थायी मुकाम मकवानपुरको हेटौंडा तोकिएको छ । काठमाडौं महानगरका पूर्व प्रमुख स्थापितले आफूले काठमाडौंको विकास गरेको आधारमा मुख्यमन्त्रीको दाबी गरेको बताए ।

‘मसँग विकास निर्माणको दृष्टिकोण रहेको छ । यदि मुख्यमन्त्री पाए प्रदेश नं ३ लाई चाडै नै विकास गर्ने थिए’ उनले भने । पार्टीले जिम्मेवारी दिए सफलतापूर्वक मुख्यमन्त्रीको भूमिका निभाउने उनको भनाइ छ । प्रदेश नं ३ मा एमालेले ४२, माओवादी केन्द्रले १५, कांग्रेसले सात तथा नेपाल मजदुर किसान पार्टी र नयां शक्ति नेपालले एक÷एक सिट जितेका छन् ।

प्रदेश नं ३ मा काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाञ्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, धादिङ, दोलखा, रामेछाप, सिन्धुली, रसुवा र नुवाकोटल जिल्ला रहेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस