जिल्ला न्यायाधीशको पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने « प्रशासन

जिल्ला न्यायाधीशको पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने


प्रकाशित मिति : २८ मंसिर २०७४, बिहीबार १३:१३

काठमाडौं । जिल्ला न्यायाधीशको पदपूर्ति खुल्ला प्रतिस्पर्धाबाट हुने भएको छ ।

न्यायिक इतिहासमै पहिलोपटक खुला प्रतिस्पर्धाबाट हुन लागेको जिल्ला न्यायाधीशको पदपूर्तिका लागि न्याय सेवा आयोगले दरखास्त आह्वान गरेको हो ।

आयोगले बुधबार सूचना प्रकाशन गरी पुस २७ गतेसम्म आवेदनको समयसीमा तोकेको छ ।

आयोगले आन्तरिक खुलातर्फ १५ जनाको कोटा निर्धारण गरेको छ । जसमा न्युनतम अनुभव तीन वर्षको अनुभव रहेका न्याय सेवामा उपसचिव सरह पदमा कार्यरत कर्मचारीले प्रतिस्पर्धा गर्न पाउनेछन् ।

संवैधानिक व्यवस्था अनुसार आन्तरिक खुला र खुला प्रतिस्पर्धा लिखित तथा मौखिक रुपमा हुनेछ । न्याय सेवा आयोगले तयार पारेको पाठ्यक्रम अनुसार कानुन व्यवसायी र योग्यता पुगेका कानुन, न्याय तथा सरकारी वकिल समूहका कर्मचारीले प्रतिस्पर्धा गर्न पाउनेछन् ।

यस्तै खुलातर्फ ८ जनाको कोटा निर्धारण गरिएको छ । जसमा निरन्तर आठ वर्ष वकालत गरेको कानुन व्यवसायी, न्यायसम्वन्धी कार्यमा अनुसन्धान र अन्वेषण गरी कम्तीमा आठ वर्ष अनुभव हासिल गरेको जोसुकैले पनि आवेदन दिन सक्नेछ।

यस्तै, न्याय सेवाको राजपत्राङ्कित पदमा कम्तीमा आठ वर्ष अनुभव हासिल गरेको कर्मचारीले पनि प्रतिस्पर्धा गर्न पाउनेछन्।

आयोगले समानुपातिक समावेशी रुपमा महिलाबाट २, आदिवासी जनजाति २, मधेशी २, र दलित जनजाति २ जनाका लागि कोटा निर्धारण गरेको छ।

न्याय सेवा आयोगको सचिवालयका अनुसार आउँदो माघ १२ गतेदेखि परीक्षा कार्यक्रम सुरु हुनेछ भने माघ १२ देखि १६ गतेसम्म लिखित परीक्षा हुनेछ ।

परीक्षा काठमाडौँ उपत्यकामा मात्र हुनेछ। लिखित उत्तीर्णका लागि कम्तीमा ५० अंक ल्याउनु पर्नेछ । उत्तीर्ण उम्मेदवारको मौखिक परीक्षा पनि हुने परिषद्ले जनाएको छ ।

हेर्नुस् विस्तृत जानकारी सूचना सहित

प्रतिक्रिया दिनुहोस