लोकसेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर « प्रशासन

लोकसेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर


प्रकाशित मिति : ६ मंसिर २०७४, बुधबार ११:४५

बस्तुगत प्रश्नोत्तर

१. ७ सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण र चाइना थ्री गर्जेज कर्पोरेसनबीच संयुक्त लगानी गर्ने सम्झौता कहिले भएको हो ?
– वि.सं. २०७४ कात्तिक ३०
(यसअघि सन् २०१७ जनवरी १६ मा पश्चिम सेती निर्माण गर्ने विषयमा प्रारम्भिक संयुक्त लगानी सम्झौता (इनिसियल जेभीए) भएको ।)

२. २०७४ मङ्सिर १ मा मनाइएको छैटौँ राष्ट्रिय कर दिवसको नारा के हो ?
– हाम्रो पौरख हाम्रो करः राष्ट्र निर्माणको दिगो भर

३. छैटौँ राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाताका रूपमा सम्मानित हुने कम्पनी कुन हो ?
– सूर्य नेपाल प्रा.लि. (सबैभन्दा बढी कर तिर्ने कम्पनी)
(सबैभन्दा धेरै आयकर तिर्ने व्यक्तिः सिद्धार्थशमशेर राणा)
कर दिवसका अवसरमा पुरस्कृत व्यक्ति तथा कम्पनीः
सबैभन्दा बढी आयकर तिर्ने कम्पनीः सूर्य नेपाल प्रा.लि
निर्यातकर्ता कम्पनीः भर्सन्ड टेक्नोलोजी
विशेष उद्यमशीलता क्षेत्रः हिमाल पावर लि.
कृषि एवम् पशुपक्षी क्षेत्रः राष्ट्रिय बीउबिजन कम्पनी
स्वास्थ्य तथा शिक्षा क्षेत्रः त्रियोग उमावि
पर्यटन क्षेत्रः टाइगर टप्स प्रा.लि.
सूचना प्रविधि क्षेत्रः वल्र्ड लिङ्क प्रा.ली
बैङ्क, वित्तीय संस्था तथा लघुवित्तः हिमालय बैङ्क लि.
सहकारी क्षेत्रः राष्ट्रिय सहकारी बैङ्क लि.
बिमा कम्पनितर्फः नेपाल पुनर्बिमा कम्पनी लि.
साना उद्यमशीलतातर्फः डा. उपेन्द्र देवकोटा
मझौला उद्यमशीलतातर्फः गोर्खा डेभलपमेन्ट इन्टरनेसनल
व्यक्तिगत आयकरः सिद्धार्थशमशेर राणा

४. सामान्यतया वस्तु तथा सेवाको आन्तरिक उत्पादन र पैठारीमा लगाइने करलाई के भनी चिनिन्छ ?
– आन्तःशुल्क
– सिद्धान्ततः मानवीय स्वास्थ्य र वातावरणमा नकारात्मक प्रभाव पार्ने तथा विलासिताका वस्तुमा अन्तःशुल्क लगाउने गरिन्छ । अन्तःशुल्क कर खासगरी उत्पादको तहमा र पैठारीमा लगाइन्छ ।
अन्तःशुल्क लाग्ने भनी तोकिएका स्वदेशी उत्पादन वा पैठारी हुने वस्तु वा प्रदान गरिने सेवामा त्यस्ता वस्तु वा सेवा उत्पादन गर्न लाग्ने खर्च र प्रतिष्ठानको नाफा मात्र जोडी हुने मूल्यमा वा निष्कासन भएको परिमाणमा तोकिएको दर अनुसार निष्कासनका बेलामा लाग्ने कर नै अन्तःशुल्क हो ।

५. आयाआर्जन गर्ने, व्यवसाय गर्ने, लगानी गर्ने व्यक्तिले नै आफ्नो व्यवसायको अवस्था, लेखा, बिलबिजक, नाफा, नोक्सानी लगायतको विषयमा जानकारी राख्ने एवम् उक्त अवस्थामा प्रचलित कानुनी व्यवस्था अनुसार स्वयम् करदाता व्यवसायीले कर तिर्न पाउने परिपाटी/पद्धतिलाई के भनी चिनिन्छ ?
– स्वयम् कर प्रणाली

६. हाल नेपालमा करको दायरामा आबद्ध करदाता कति छन् ?
– १६ लाख ६८ हजार ६०७

७. शिक्षा बिभागको पछिल्लो तथ्याङ्क सन् २०१६–१७ को फ्लास १ रिपोर्ट अनुसार नेपालमा विद्यालय उमेर समूहका कति बालबालिका विद्यालयको पहुँच बाहिर छन् ?
– ४,३९,०४१
(छात्रः २,१८,७७८ र छात्रः २,२०,२६३)
(कक्षा एकमा भर्ना हुने उमेरका ३० हजारभन्दा बढी बालबालिका अझै विद्यालय बाहिर रहेका । जसमध्ये १५ हजार १ सय ७४ छात्र र १५ हजार १ सय ७० छात्रा रहेका ।)

८. नेपालसँग दोहोरो करमुक्ति सम्झौता भएका देश कुन–कुन हुन् ?
– भारत, थाइल्यान्ड, श्रीलङ्का, मौरिसस, अस्ट्रिया, पाकिस्तान, चीन, दक्षिण कोरिया, कतार र नर्वे

९. मिस टुरिजम– २०१७ को उपाधि जित्ने युवती को हुन् ?
– पोखाकी आरती थापा
(प्रतियोगितामा काठमाडौँको क्रिस्टिना श्रेष्ठले मिस पर्सनालिटी र मिस स्माइलसहित फस्ट रनर्स अप तथा एन्जी लामाले मिस फिगर र मिस फोटोजेनिकसहित सेकेन्ड रनर्स अपाके उपाधि जितेका ।)

१०. ‘भुस पोल्ने’ मेला/पर्व कुन ठाउँमा प्रचलित छ ?
– बाग्लुङको अर्गल


विषयगत प्रश्नोत्तर

१. नेपालको संविधानमा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व अधिकार सम्बन्धी के–कस्तो व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।

नेपालको संविधानको अनुसूची ५ मा सङ्घको राजस्व अधिकार र अनुसूची ८ मा स्थानीय तहो राजस्व अधिकार सम्बन्धी व्यवस्था छ, जसलाई निम्नानुसार कर र गैर करका रूपमा उल्लेख गर्न सकिन्छः

सङ्घको राजस्व अधिकार

कर
१. भन्सार महसुल, २. अन्तःशुल्क, ३. मूल्य अभिवृद्धि कर, ४. संस्थागत आयकर, ५. व्यक्तिगत आयकर, ६. परिश्रमिक कर,

गैर कर
१. राहदानी शुल्क, २. भिसा शुल्क, ३. पर्यटन दस्तुर, ४. सेवा शुल्क दस्तुर, ५. दण्ड जरिवाना,

प्रदेशको राजस्व अधिकार

कर
१. घर जग्गा रजिस्ट्रेसन शुल्क, २. सवारी साधन कर, ३. मनोरञ्जन कर, ४. विज्ञापन कर, ५. कृषि आयमा कर,

गैर कर
१. सेवा शुल्क दस्तुर, २. पर्यटन शुल्क, ३. दण्ड जरिवाना,

स्थानीय तहको राजस्व अधिकार

कर
१. सम्पति कर, २. घर बहाल कर, ३. घर जग्गा रजिस्ट्रेसन शुल्क, ४. सवारी साधन कर, ५. विज्ञापन कर, ६. व्यवाय कर, ७. भूमिकर (मालपोत), ८. मनोरञ्जन कर,

गैर कर
१. सेवा शुल्क दस्तुर, २. पर्यटन शुल्क, ३. दण्ड जरिवाना,

२. नेपालमा जलविद्युत् विकासका सम्भावना सङ्क्षेपमा उल्लेख गर्नुहोस् ।

जलविद्युत् एउटा ऊर्जा हो, जुन जलबाट उत्पादन गरिन्छ । नेपाल जलस्रोतको हिसाबले विश्वमा ब्राजिल पछिको दोस्रो राष्ट्र हो । नेपालमा ६ हजारभन्दा बढी नदीनाला छन् । कोसी, गण्डकी, कर्णाली जस्ता ठूला नदी छन् । नेपालमा यी नदीबाट जलविद्युत्को सम्भावना निम्नानुसार भएको पाइएको छः

१. कर्णाली नदीको सम्भाव्यता ३२ हजार मेगावाट
२. कोसी नदीको सम्भाव्यता २२ हजार मेगावाट
३. गण्डकी नदीको सम्भाव्यता २१ हजार मेगावाट
४. अन्य नदीको सम्भाव्यता ८ हजार मेगावाट

यसरी नेपालमा कुल ८३ हजार मेगावाट जलविद्युत् उत्पादनको सम्भावना देखिए पनि नेपालमा वि.सं. २०७२/७३ को स्थिति ८५१ मेगावाट मात्र जलिविद्युत् उत्पादन भएको, कुल जनसङ्ख्याको ७४ प्रतिशतमा विद्युत् पहुँच प्राप्त भएको अवस्था छ । विद्युत् अभावले मुलुक ऊर्जा सङ्कटबाट गुज्रिरहेको छ । ‘सेतो सुन’ समेत भनिने नेपालको जलविद्युत् उत्पादन एवम् निर्यात गरी मुलुकको आर्थिक विकास गर्नु जरुरी देखिन्छ ।

३. गरिब र बेरोजगारी बीचको अन्तरसम्बन्ध उल्लेख गर्दै नेपालमा बढ्दो बेरोजगारी समस्या समाधानका लागि थाल्नुपर्ने कदमबारे उल्लेख गर्नुहोस् ।

सामान्य जीवन निर्वाह खान, बस्न, लगाउन, आधारभूत स्वास्थ्य तथा शिक्षा प्राप्त गर्न नसक्ने अवस्था गरिबी हो । यही सामान्य जीवन निर्वाहका लागि गरिने काम, इलम, पेसा वा व्यवाय नभएको अवस्था बेरोजगारी हो । बेरोजगारी अवस्थाले गरिबी बढाउँदै जान्छ, गरिबीले व्यक्तिको जीवन थप कष्टप्रद हुँदै जान्छ । मुलुकमा शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता सामाजिक पूर्वाधा, सडक, विद्युत्, सञ्चार जस्ता भौतिक पूवाधार, आर्थिक वृद्धि, आर्थिक स्थायित्व, लगानी, उत्पादन, वितरण पुँजी परिचालन जस्ता आर्थिक पूर्वाधार सबल हँुदै जाँदा रोजगारी सिर्जना भई बेरोजगारी हट्दै जान्छ, यसबाट गरिबी निवारणमा उल्लेख्य सहयोग पुग्दछ । उत्पादनको क्षेत्रमा लगानी बढाउँदा बेरोजगारले रोजगारी पाउँछन्, गरिब व्यक्तिको आयआर्जन बढ्छ । बेरोजगारलाई केन्द्रित गर्दा गरिबी घट्छ । सबै गरिब बेरोजगार हुन्छन्, केही अपवाद बाहेक सबै बेरोजगार पनि गरिब नै हुन्छन् । त्यसैले गरिबी र बेरोजगारी एक आपसमा अन्तर सम्बन्धित विषय हुन् ।

बेरोजगारी समस्या समाधानका कदम
नेपालमा कुल जनसङ्ख्याको करिब ७८ प्रतिशत जनता कृषिमा आश्रित छन् । कुल गार्हस्थ्य उत्पादनमा करिब ३३ प्रतिशत हिस्सा कृषि क्षेत्रको छ । त्यसैले सर्वप्रथम हिस्सा निर्वाहमुखी कृषिको व्यावसायिक उत्पादन बढाउनुपर्दछ, कृषि उपज उद्योगको कच्चा पदार्थ भएकाले दुवैलाई अन्तर सम्बन्धित गरी विकास गर्नुपर्दछ । यसबाट मात्र बेरोजगारी समस्या समाधान हुनसक्छ । बेरोजगारी समस्या समाधानका अरू कदम निम्नानुसार छन्ः

– कृषि, उद्योग, व्यापार, वाणिज्य, पर्यटन जस्ता रोजगारीका क्षेत्रमा निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्ने,
– मुलुकमा लगानीमैत्री वातावरण तयार गरी स्वदेशी विदेशी लगानी आकर्षित गर्ने,
– मानव संसाधन विकासमा जोड दिने, दक्ष एवम् सीपयुक्त जनशक्ति विकास गर्ने,
– वैदेशिक रोजगारीका सबै चरणलाई सुरक्षित, मर्यादित एवम् उत्पादनमूलक बनाउने, फ्री टिकट र फ्री भिसाको व्यवस्था प्रभावकारी रूपमा लागू गर्ने,
– बेरोजगारको लगत सङ्कलन गरी आवश्यकता अनुसार तालिम कार्यक्रम सञ्चालन गर्ने,
– राष्ट्रिय गौरवका आयोजनाको सङ्ख्या वृद्धि गरी आयोजना निर्माण कार्यलाई थप व्यवस्थित गर्ने,
– आर्थिक, सामाजिक एवम् भौतिक पूर्वाधार निर्माणमा सरकारी लगानी केन्द्रित गर्ने,
– रोजगारी सिर्जनामा निजी क्षेत्रलाई अगुवा बनाई सरकारले सहजीकरणको कार्य गर्ने,

अन्तमा, मुलुकभित्र बार्षिक ४ लाख रोजगारी सिर्जना गर्ने चालू १४ औँ योजनाको लक्ष्य छ, यसका लागि उपरोक्त कदम चाल्नुपर्ने देखिन्छ ।


साभारः गोरखापत्र

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

प्रतिक्रिया दिनुहोस