विकासका विविध आयाम « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विकासका विविध आयाम


२९ कार्तिक २०७४, बुधबार


विकास सम्बन्धी अवधारणाको विकास

विकास सम्बन्धी अवधारणा मानव सभ्यताको विकासक्रमसँगै कुनै न कुनै रूपमा प्रचलित रहँदै आएको भएता पनि पश्चिमी युरोपले १८ औं शताब्दीतिर अवलम्बन गरेको पूँजीवादी अवधारणा अन्तर्गतको आर्थिक समृद्धितर्फ उन्मुख हुने रणनीतिपछि विकासको अवधारणाले बढी मूर्त रूप पाउन थालेको देखिन्छ । त्यस्तै, अर्थशास्त्रका पिता एडम स्मिथको खुला अर्थतन्त्रीय अवधारणाले पनि आर्थिक समुन्नतिलाई नै विकासको मूल आधार बनाएको छ । यसैबीचमा कार्ल माक्र्सले वर्ग संघर्षको प्रतिफल र श्रमिक वर्गको हकहित र उन्नतिको स्वरूपलाई नै वास्तविक विकास हो भनेका छन् ।

विकास समाजका लागि एउटा गतिशील सामयिक आवश्यकीय परिवर्तन हो । यो एउटा यस्तो सकारात्मक परिवर्तन हो, जसले समाजमा प्रगति उन्मुख परिवर्तनको अपेक्षा राखेको हुन्छ । शाब्दिक अर्थमा विकासले यथास्थिति भन्दा उन्नत, पूर्ण, परिपक्व अपेक्षित अवस्थालाई जनाउँछ । विकासलाई साधारणतया आर्थिक वृद्धिको पक्षसँग हेर्ने र समाहित गर्ने गरेको पाइन्छ । यो एउटा परम्परागत तर बढी चलनचल्तीमा रहेको अवधारणा हो । अर्थशास्त्रीय अवधारणाले विकास भन्नाले कूल गार्ह्रस्थ उत्पादन र प्रतिव्यक्ति आयमा वृद्धिलाई विकास भन्ने गरेको छ भने समाजशास्त्रीय अवधारणाले आर्थिक वृद्धिसँगै सामाजिक विकास हुनुपर्ने अपरिहार्य आवश्यकतालाई जोड दिएको छ ।

विकास सकारात्मक परिवर्तनसहितको वृद्धि

सन् १९७० को दशकअघिसम्म विकास आर्थिक विषयवस्तुसँग बढी सम्वन्धित थियो, जो प्रतिव्यक्ति आय, कूल राष्ट्रिय उत्पादन, आर्थिक वृद्धिले सामाजिक उपादेयतामा पु¥याएको योगदानसँग सम्बन्धित थियो । तर, १९८० को दशकको प्रारम्भसँगै विगतको यो अवधारणामा व्यापक परिवर्तन भएको पाइन्छ । यो परिवर्तित अवधारणाले विकास भनेको अर्थतन्त्रको विकास हो । तर, यसले गरिबी, असमानता र बेरोजगारी पनि हटाउन सक्नुपर्छ भन्ने मान्यतालाई बढी जोड दिएको छ । यसरी विकासलाई रोजगारी सिर्जनाको संयन्त्रका रूपमा समेत लिने गरिन्छ ।

यसर्थ विकास एउटा बहुआयामिक प्रक्रिया हो । यो आधुनिकीकरणतर्फको अग्रसरता, गतिशील परिवर्तन, नवप्रवर्तनसहितको उपलब्धीको समिश्रण हो । यदाकदा विकास र वृद्धिलाई पर्यायवाची शब्दका रूपमा समेत हेर्ने गरेको पाइन्छ । सामान्यतया यी दुई शब्द एकै जस्तो देखिने भए तापनि विकास अनन्त रहने र वृद्धि सीमित रहने धारणा अर्थशास्त्रीको छ । तर, विकास सकारात्मक परिवर्तन सहितको वृद्धि भने पक्कै हो । विकास एउटा प्रक्रियागत, योजनागत मानवीय प्रयास हो, जसले मानव जीवनको गुणस्तर अभिवृद्धिमा योगदान पुर्याएको हुन्छ ।

विकासका उद्देश्य

१. राष्ट्रको आर्थिक, सामाजिक, राजनीतिक र प्रशासनिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने र यसमा दिगोपनाको प्रत्याभूति गर्ने ।

२. मानव जीवनका आधारभूत आवश्यकता खाद्यान्न, आवास, कपडा, स्वास्थ्य, शिक्षा, खानेपानी र सुरक्षाको उपलब्ध र वितरणमा प्रभावकारिता ल्याउने ।

३. जनताको जीवनस्तर उच्च तुल्याउन रोजगारीका अवसरमा वृद्धि, आयआर्जनका अवसरको उपलब्धता, शिक्षा, संस्कृति र मानवीय मूल्यको प्रवद्र्धनमा जोड दिने ।

४. राष्ट्रको सामाजिक तथा आर्थिक स्थितिलाई सामयिक रूपान्तरण गर्ने ।

विकासका विशेषता

१. सकारात्मक परिवर्तन

२. नवप्रवर्तन

३. उद्देश्यमा आधारित

४. निरन्तरता

५. साधन स्रोत लक्ष्य र परिणामबीचको अन्तरसम्बन्ध

६. रणनीतिक व्यवस्थापनको निरन्तर प्रक्रिया

७. बदलिँदो परिस्थिति अनुरूप माग र आकांक्षाको सम्बोधन

८. हस्तक्षेपकारी कदम

९. बहुआयामिक

विकासका मान्यता

१. जनताको जीवननिर्वाहको आवश्यकताको प्रत्याभूति

२. स्वतन्त्रतापूर्वक बाँच्ने र न्यूनतम मानवीय अधिकार प्रयोग गर्न पाउने अवस्थाको सुनिश्चितता

३. आत्मसम्मान

४. सामयिक परिवर्तन अनुरूप विकासका आवश्यकता र रणनीतिमा समायोजन गर्ने भविष्यपरक दृष्टिकोणको प्रयोग

विकास : बहुआयामिक अन्तरसम्बन्धित विषय

विकास एउटा वहुआयामिक विषय हो । यो निम्न पक्षसँग अन्तरसम्बन्ध राख्ने विषय पनि हो ।

राजनीतिक विकास : प्रजातान्त्रिक राजनीतिक तथा शासकीय प्रणाली, आवधिक स्वतन्त्र र निश्पक्ष निर्वाचन, नागरिक स्वतन्त्रता, मौलिक हक, मानवअधिकार, शक्ति पृथकीकरण र सन्तुलन जस्ता विषय राजनीतिक विकास अन्तर्गत पर्छन् । राजनीतिक परिपाटीमा स्वस्थ प्रतिस्पर्धा, निश्पक्ष निर्वाचनद्वारा जन अभिमतको कदर, सहिष्णु राजनीतिक प्रणाली जस्ता विषय राजनीतिक विकास अन्तर्गत पर्छन् । प्रजातान्त्रिक राजनीतिक प्रणाली, राजनीतिक स्थिरता र सरकारको स्थिरतालाई समग्र विकास प्रक्रियाको आवश्यकीय सर्तका रूपमा लिने गरिन्छ ।

आर्थिक विकास : प्रतिव्यक्ति आयमा वृद्धि, कूल राष्ट्रिय उत्पादनमा वृद्धि, पूर्वाधार तथा उद्योगधन्दाको विकास आर्थिक विकासमा पर्छन् । अर्थशास्त्रीय अवधारणाले विकास भन्नाले कूल गार्ह्रस्थ उत्पादन र प्रतिव्यक्ति आयमा वृद्धिलाई विकास भन्ने गरेको छ । आर्थिक विकासलाई निम्न मात्रात्मक सूचकबाट मापन गर्न सकिन्छ ।

 प्रतिव्यक्ति आयमा वृद्धि
 कूल राष्ट्रिय आयमा वृद्धि
 उत्पादन क्षमतामा वृद्धि
 उद्योगको स्थापना
 पूँजीको प्रवाह
 मेसिन, प्रविधि र औजारमा विविधीकरण
 पूर्वाधारको विकास
 प्राकृतिक स्रोत र साधनको समुचित परिचालन
 आर्थिक वृद्धि
 सहरीकरण
 आम्दानी र सम्पत्तिको समान वितरण

सामाजिक विकास : आम सरोकारका विषय खासगरी शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सांस्कृतिक विकास र सम्बद्र्धन, सीमान्तकृत वर्गको उत्थान, आदिवासी जनजातिको उत्थान, सुसंस्कृत स्वस्थ, सभ्य र सामाजिक अन्तरसम्बन्धको विकास सामाजिक विकासमा पर्छन् । समाजशास्त्रीय अवधारणाले आर्थिक वृद्धिसँगै सामाजिक विकास हुनुपर्ने अपरिहार्य आवश्यकतालाई जोड दिएको छ ।
सामाजिक विकासलाई निम्न गुणात्मक सूचकबाट मापन गर्न सकिन्छ ।

 शिक्षा, स्वास्थ्य र पोषण
 आत्मनिर्भरता
 राजनीतिक स्वतन्त्रता, स्व निर्णयको अधिकार
 राजनीतिक स्थिरता, शान्ति र सुरक्षा
 रोजगारीको अवसर
 आर्थिक, न्यायिक समानता र मानवअधिकार
 सुशासन
 सामाजिक सद्भाव

संस्थागत विकास : प्रजातान्त्रिक शासन प्रणाली र सो अनुरूप विभिन्न राजनीतिक र शासकीय संरचनाको विकास, यस्ता संस्था विधिसम्मत रूपमा चल्नका लागि आवश्यक कानुनी संरचनाको विकास संस्थागत विकास अन्तर्गत पर्छन् । यसै अवधारणाअनुरूप निजी क्षेत्र, नागरिक समाज, सहकारी क्षेत्र जस्ता संस्थाको शासकीय प्रक्रियामा सहयोगी र साझेदारी रहने गरी आवश्यकीय संस्थागत संयन्त्र विकास गरिएका हुन्छन् ।

विकासका पूर्वशर्त

विकास सबै देशको लागि अपरिहार्य र नैसर्गिक अधिकार भएता पनि यसको प्राप्ति त्यति सहज भने छैन । विकासको प्रारूप तयार गर्न, रणनीति तर्जुमा गर्न, कार्यक्रम कार्यान्वयन गर्न र विकासको दिगोपना सुनिश्चतताका लागि निम्न पक्षको सवल उपस्थिति आवश्यक पर्छ ।

१. स्थिर राजनीतिक अवस्था
२. तटस्थ, प्रतिवद्ध र प्रभावकारी प्रशासनयन्त्र
३. व्यवहारिक तथा कार्यान्वयनमूलक योजना
४. जनसहभागिता र जनसमर्थन
५. साधन स्रोतको उपलब्धता र औचित्यपूर्ण प्रयोग
६. भ्रष्टाचारको न्यूनीकरण
७. दूरदर्शिता तथा कार्यवद्धता
८. आन्तरिक र बाह्य विकास साझेदारसँगको उचित समन्वय र सहकार्य

विकास रणनीतिक व्यवस्थापन

विकास गतिशील, बहु आयामिक, सामयिक, आवश्यकीय, सकारात्मक परिवर्तनको प्रक्रिया हो । विकास आधुनिकीकरणतर्फको अग्रसरता, गतिशील परिवर्तन, नवप्रवर्तनसहितको उपलब्धीको सम्मिश्रण पनि हो । विकास सबै देशका लागि अपरिहार्य र नैसर्गिक अधिकार भएता पनि यसको प्राप्ति त्यति सहज भने छैन, किनकि विकासको प्रारूप तयार गर्न, रणनीति तर्जुमा गर्न, कार्यक्रम कार्यान्वयन गर्न र विकासको दिगोपना सुनिश्चतताका लागि विभिन्न अन्तरसम्बन्धित पक्षको सबल उपस्थिति र उचित व्यवस्थापनको आवश्यकता पर्छ । विकास व्यवस्थापनको अवधारणा परम्परागत विकास प्रयासको अवधारणाभन्दा अलि फरक पनि छ, किनकि विकास व्यवस्थापन विकासको रणनीतिक व्यवस्थापन हो, जसले गरिबमुखी विकास, दिगो विकास, वातावरणमैत्री विकास प्रक्रियालाई मूल लक्ष्य बनाई विकास साझेदार, साधन स्रोत, आन्तरिक र बाह्य सहकर्ताबीच साझा र समन्वयात्मक प्रयासको सुव्यवस्थापनमा जोड दिई विकास प्रयासलाई पारदर्शी र समावेशी बनाउने प्रयास गर्छ । नयाँ सार्वजनिक व्यवस्थापन, व्यवस्थापनवाद, बजार संयन्त्रमा आधारित सार्वजनिक प्रशासन, विश्वव्यापीकरणले निम्त्याएका अवसर र चुनौतीका सन्दर्भमा विकास व्यवस्थापनको परम्परागत मान्यतामा सामयिक परिवर्तनको आवश्यकता बोध भएको हो । विकास प्रयासले आर्थिक सामाजिक उन्नतिको अतिरिक्त उदीयमान अवधारणाको अन्तरसम्बन्धलाई सम्बोधन गर्नुपर्ने हुँदा विकास व्यवस्थापनले यी सबै पक्षबीच सामन्जस्यता कायम गर्ने गर्छ ।

 

दामोदर रेग्मी का शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

Tags :
प्रतिक्रिया दिनुहोस