सात वर्ष साउदीमा, फर्किँदा मानसिक रोगी « प्रशासन

सात वर्ष साउदीमा, फर्किँदा मानसिक रोगी


प्रकाशित मिति : २६ कार्तिक २०७४, आईतवार ११:२३

झापा । वैदेशिक रोजगारमा जानेको सपना हुन्छ– सुन्दर भविष्य निर्माण । यही सपना बोकेर दिनहुँ सयौं युवा विदेश पस्छन् । तर, कतिपयको सपना भने सपनामै सीमित हुन्छ । यीमध्ये कोही बाकसमा फर्किन्छन् त कोही रोग लिएर । यसकी एक उदाहरण हुन्, बिर्तामोड नगरपालिका–८, गरामनीकी सुनिता गामी ।

सुन्दर भविष्यको खोजीमा सात वर्षअघि साउदी अरब पुगेकी गामी मानसिक रोगी भएर फर्किएकी छन् । घरेलु कामदारकारूपमा भारतीय बाटो हुँदै साउदी पुगेकी सुनिता गत वैशाखमा नेपाल फर्किएकी हुन् ।

घरमालिकको शारीरिक र मानसिक यातनाले उनी विक्षिप्त अवस्थामा छिन् । स्थानीय मंगलु राजवंशीले सम्पर्क गराएपछि झापा, धाइजनका अभिषेक धिमालले सुनितालाई भारतको बाटो हुँदै साउदी पठाएको पति नारायण गामीले बताए । ‘साउदी पुगेको एक महिनापछि सुनिताले फोन गरेकी थिई,’ नारायणले भने, ‘त्यसयता सम्पर्क हुन सकेन ।’ धिमाल सम्पर्कविहीन छन् ।

सुनिता घर फर्किएपछि उनको अवस्थाले परिवारका सदस्य चिन्तामा छन् । ‘छोरा पढाउने र घर बनाउने सपना थियो,’ नारायणले भने, ‘पैसा कमाउनु त टाढाको कुरा श्रीमतीको यस्तो हालत भयो ।’ हाल सुनिताको उपचार भइरहेको उनले बताए ।

सुनिताले साउदी गएको चार महिनापछि ५० हजार रूपैयाँ पठाएकी थिइन् । त्यसपछि कुनै रकम नपठाएको परिवारले जनाएको छ । तर, उद्धार गरी नेपाल फर्किएपछि सुनिताको तलबबापतको १० लाख रूपैयाँ पाएको नारायणले बताए । ‘सोही रकमले श्रीमतीको उपचार गरिरहेकी छु,’ उनले भने । उनले दोषीलाई कारबाहीको माग गर्दै न्यायका लागि अपिलसमेत गरेका छन् ।

Tags: ,

प्रतिक्रिया दिनुहोस