देशभर कसको मत कति ? « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

देशभर कसको मत कति ?


२६ आश्विन २०७४, बिहिबार


काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि वामपन्थी र प्रजातान्त्रिक शक्तिले अलगअलग गठबन्धन बनाउने कोसिस गरिरहेका छन् । गठबन्धन बनेमा प्रजातान्त्रिकभन्दा वामपन्थी गठबन्धन अगाडि देखिन्छ । स्थानीय तह निर्वाचनको आधारमा एमाले र माओवादी गठबन्धनले ५१ प्रतिशत पपुलर मत ल्याउने देखिन्छ । त्यस्तै, राप्रपादेखि मधेसी सबै दललाई जुटाउन सकेमा कांग्रेसले ४४ प्रतिशत मत जम्मा गर्न सक्ने देखिन्छ । एमाले र माओवादीले गठबन्धन बनाउने सैद्धान्तिक सहमति गरे पनि सिट बाँडफाँडको टुंगो लगाउन सकेका छैनन् । कांग्रेस नेतृत्व गठबन्धनको त न्यूनतम सहमति पनि हुन सकेको छैन ।

वाम गठबन्धनका सम्भावित दलहरू एमाले, माओवादी केन्द्र, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त र परिवार दलको मतलाई एकमुष्ट मत जोड्दा ४७ लाख ९५ हजार पुग्छ । साथै, कांग्रेसको नेतृत्वमा बन्ने लोकतान्त्रिक मोर्चामा रहने भनिएका संघीय समाजवादी फोरम, राजपा, राप्रपा, राप्रपा ९प्रजातान्त्रिक० र फोरम लोकतान्त्रिकको एकमुष्ट मत ४० लाख ४१ हजार हुन पुगेको हो ।

वाम गठबन्धन बनेको र लोकतान्त्रिक गठबन्धन नबनेको अवस्थामा कांग्रेस १६ लाख मतले पछाडि हुने देखिन्छ । तर, हरेक निर्वाचनमा मतदाताले फरक परिणाम दिने गरेकाले अघिल्लो निर्वाचनको आधारमा विश्लेषण गर्न गाह्रो छ ।

स्थानीय तहमा प्राप्त मतका आधारमा विश्लेषण गर्दा २ लाख मत कटाउनेमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, राजपा गरी ६ दल मात्रै देखिएका छन् । पहिलो चरणको स्थानीय निर्वाचनमा दुई लाख मत नकटाएका फोरम, राजपाले तेस्रो चरणको स्थानीय निर्वाचनमा मत बढाई २ लाख कटाएका हुन् । यही मत कायम राखेको अवस्थामा राष्ट्रिय दल बन्ने सम्भावना देखिएको हो । त्यसैगरी, फोरम लोकतान्त्रिकले १ लाख २४ हजार र स्वतन्त्रतर्फका उम्मेदवारहरूले १ लाख १९ हजार मत कटाएका छन् ।

महिला, बालबालिका तथा समाजकल्यणमन्त्री भएका कुमार खड्काको पार्टीले स्थानीय निर्वाचनमा ४०५ मत ल्याएको छ । ०७० को संविधानसभा निर्वाचनमा समानुपातिकबाट १ सिट जितेर सांसद भएका खड्का पहिलो चरणको निर्वाचन हुँदा महिला तथा बालबालिका तथा समाजकल्याणमन्त्री भएका थिए । त्यसैगरी, पूर्वमन्त्रीसमेत रहेका एकनाथ ढकालको परिवार दलले १ हजार २२० मत ल्याएको छ । अहिले वाम गठबन्धनमा मिसिएका ढकालले गठबन्धनबाट एउटा सिट दाबी गरिरहेका छन् ।

स्थानीय तहमा समानुपातिकतर्फ मतदान नभएकाले कुनै पनि दलको एकमृष्ट मत निश्चित गर्न असम्भव छ । हरेक स्थानीय तहमा एक दलका सातजना उम्मेदवार थिए । निर्वाचन आयोगले ती सातैजना उम्मेदवारको मत जोडेको छ । जस्तो कि सबै स्थानीय तहमा एमालेका सातै उम्मेदवारको मत जोड्दा दुई करोड १४ लाख ५१ हजार हुन्छ । तर, ती सातजना उम्मेदवारलाई दिने एकजना मतदाताको हिसाब गर्दा औसतमा एमालेको मत ३० लाख ६४ हजार ५३९ हुन्छ । यो कुल खसेको मतको ३४ प्रतिशत हो । त्यस्तै कांग्रेसले २९ लाख ८२ हजार २४० अर्थात् ३३ प्रतिशत र माओवादीले १६ लाख दुई हजार ४५० अर्थात् १७ प्रतिशत मत प्राप्त गरेका छन् । गठबन्धन भएका स्थानमा पनि केही पदमा अर्को दललाई मत दिएका दलले केही पदमा अर्को दलबाट मत पाएका छन् । त्यसैले उनीहरूको मत पनि औसतमै हिसाब हुन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस