कलेज नदेख्ने विद्यार्थी « प्रशासन

कलेज नदेख्ने विद्यार्थी


प्रकाशित मिति : २१ आश्विन २०७४, शनिबार ०७:४९

दुई साताअघि सुनधारा जानका लागि साथी सन्जु र म बानेश्वर चोकमा गाडी कुरिरहेका थियौं । केही छिनमा हुइँकिँदै एक माइक्रोबस आइपुग्यो । माइक्रोबस रोकिन नपाउँदै सहचालक यात्रु बोलाउन थालिहाले । ‘बुद्धनगर…माइतीघर…आरएनएसी…रत्नपार्क…।’

हामी पनि त्यही माइक्रोबसमा चढ्यौं । अगाडिका सिट भरिभराउ भएकाले पछाडि बस्नुको विकल्पै थिएन । त्यहाँ अन्दाजी २४/२५ वर्षका एक युवक बसेका थिए । केही समय कुरेपछि माइक्रोबस गन्तव्यतिर लाग्यो ।

माइतीघरमा जाम परेपछि सहचालकले भाडा उठाउन थाले । मैले सन्जुको विद्यार्थी परिचयपत्र देखाएर सहचालकलाई दुवै जनाको भाडास्वरूप २५ रूपैयाँ थमाए । सन्जु नेपाल ल क्याम्पसमा एलएलबी पहिलो वर्षमा अध्ययनरत छिन् । हामीसँगै छेउमा बसेका ती युवकले पनि त्यहीँ कलेजको परिचय पत्र देखाएर छुट लिए ।

सन्जुको आँखा ती व्यक्तिको परिचयपत्रमा परेछ । ‘यो मान्छेको परिचय पत्र त नक्कली हो नि,’ सहचालकले भाडा लिएर ढोकैमा पुग्न लाग्दा सन्जुले मसँग बिस्तारै भनिन् । ‘कसरी थाहा पायौं ?’ मैले सोधे । ‘परिचय पत्रमा बार कोड नै फरक जस्तो छ,’ उनले जवाफ दिइन् । ‘होइन, होला ?’ मैले उनको कुरामा असहमति जनाएँ । उनले ती व्यक्तिसँग परिचयपत्र मागिन् । र, आफ्नो परिचयपत्रसँग भिडाइन् । भिडाउँदा परिचयपत्रमा बार कोड र डेट अफ बर्थको स्टाइल नै फरक देखियो ।

लगत्तै सन्जुले ती युवकलाई सोधिन्, ‘भाइ, तपाईँ पनि ल क्याम्पसमा पढ्नुहुन्छ ?’ ‘अ…अ…भर्ना गरेको छु । तर, कलेज जाँदिनँ,’ ती युवकले जवाफ दिए, ‘दाइले भर्ना गरिदिनुभएकाले मैले त देखेको नि छैन ।’ ‘भैगो भाइ, बेकार किन आफ्नै पोल खोल्नुहुन्छ ? म पनि त्यही कलेज पढ्छु । तपाईंको परिचयपत्रको बार कोड नै फरक छ,’ आफ्नो परिचयपत्र देखाएर सन्जुले भनिन् । त्यसपछि ती युवक निरउत्तर भए । सुनधारा पुग्दासम्म केही बोलेनन् । हामी गाडीबाट झर्याै ।

‘काठमाडौंमा अधिकांशसँग विद्यार्थीको नक्कली परिचयपत्र हुँदा वास्तविक विद्यार्थीले छुट लिन समस्या भोग्नुपर्छ,’ गाडीबाट झरेपछि सन्जुले मसँग दुखेसो पोखिन् ।

प्रतिक्रिया दिनुहोस