राजधानीका ज्यानमारा सडक « प्रशासन

राजधानीका ज्यानमारा सडक


प्रकाशित मिति : १ श्रावण २०७४, आईतवार १५:४७

देशको राजधानी अर्थात काठमाडौं । ठूला ठूला सपना बाडिने ठूलै शहर । जहाँका अधिकाँस मानिसहरुको धेरैजसो समय त कुनै न कुनै सपना देख्नमै बित्ने गर्छ । अलि ठूलैले ठूलै सपना देख्छ सानोले सानै, तर सपना सबैले अवश्य देखिरहेका हुन्छन् । पद र प्रतिष्ठा बोकेका-आर्जन गर्न चाहनेहरु सपना बाड्नमै मस्त देखिन्छन् भने उपत्यकावासी तिनै सपनाहरुको कल्पनामा आफ्नो वास्तविक धरातल समेत बिर्सन पुगी थप नरकबासको जीन्दगी गुजार्न विवस छन् ।

चाहन्छन् विकास तर भइदिन्छ बिनास । त्यस्तो बिनास जुन अकल्पनिय र नसोचेकै घटना सहनु पर्छ । यस्तै भयो केही दिन अघि राजधानीमा । सामान्य दुर्घटना मात्रै भए त त्यसलाइ सामान्य मान्न सकिएला तर ज्यानै जानेगरी भएका मानवीय चरम लापरवाहीबाट सिर्जित घटना जति आलोचना गरेपनि कमै हुन्छ ।

एक छिन खेलेर आउँछु भनेकी ११ वर्षिया विनीतालाई नेपालटारस्थित ढलले सदाका लागि लग्यो अनि सामाखुसीमा विद्यालयबाट फर्किदै गरेकी कक्षा ९ मा अध्ययनरत सत्या सापकोटा नालीमा खसिन् र धन्न धन्न बाचिन् । स्थानीय युरेका माविमा कक्षा ३ मा अध्ययनरत विनीतालाई खेल्दाखेल्दै साँझ ४ बजे विष्णुमतिमा मिसिने महादेव खोलाले बगायो र एक किलोमिटर पर प्रहरीले दुइ घण्टापछि उद्धार त गर्यो तर बचाउन सकेन र त्रिवि शिक्षण अस्पताल पुर्याउँदा पुर्याउदै चिकित्सकले विनीतालाई मृत घोषणा गर्यो ।

त्यसैगरी वृहस्पती विद्यासदनमा कक्षा ९ मा अध्ययनरत सत्या सापकोटा पानीले भरिएको सडकको नालीमा खसिन् र बग्दै केही पर पुगेकी उनलाई प्रत्यक्षदर्शीहरुले तत्काल उद्धार गरे र ज्यान जोगियो । डुब्दाडुब्दै खिचिएको उनको दृश्य सामाजिक सञ्जालमा भाइरल बन्यो र सरकारको चर्को आलोचना भयो । घाइते, दुर्घटना र वस्तुभाउ त कति क्षति भए त्यसको कुनै एकिन नै छैन । नागरिकहरुले कति दुःख र पीडा झेल्नु परिरहेको छ त्यसको त कुनै लेखाजोखा गरिँदैन ।

राजधानीका सडकको दुरावस्था अहिले मात्र सिर्जित भएको समस्या होइन । बिगत देखिकै असारे विकासमा पल्केकाहरु र भ्रष्टहरुको गैरजिम्मेवारपूर्ण कार्यको पराकाष्ठा नै हो यो । विकास निर्माणका नाममा गरिने चरम लापरवाहीले सिमा नाघ्दाको परिणति हो विनीताको मृत्यु । पानी पर्दा नदी र पोखरी बन्ने राजधानीका सडकमा वर्षेनी नागरिकले अकालमै ज्यान गुमाउनु परेको लज्जास्पद अवस्था नजिककै सिँहदरबारमा बस्नेहरुले कहिल्यै देख्दैनन् । करोडौंका गाडिका लागि मरिहत्ये गर्छन् तर त्यही सडकलाई सामान्यतयाः ठीक अवस्थामा राख्ने तर्फ कसैको चासो हुँदैन । कुनै न कुनै व्यक्तिगत स्वार्थसंग जोडिएका विषयहरु चर्चा र आलोचनाको विषय बन्दछन् तर राज्यको चरम लापरवाहीका कारण नागरिकले अकालमै ज्यान गुमाउनु परिरहेको अवस्थाबारे कतै आवाज सुनिदैन ।

प्रतिक्रिया दिनुहोस