एएफसी च्याम्पियनसिप टोलीलाई प्रशिक्षण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एएफसी च्याम्पियनसिप टोलीलाई प्रशिक्षण


२ असार २०७४, शुक्रबार


काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएइ) मा हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसिप खेल्न लागेको नेपाली टोलीको प्रशिक्षण शुक्रबारदेखि सुरु भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा सुरु भएको बन्द प्रशिक्षणको प्रारम्भिक चरणमा ३४ सदस्यीय खेलाडीलाई सहभागी गराइएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए । उनका अनुसार प्रशिक्षणमा राष्ट्रिय टोलीमा रहेका खेलाडी, ए डिभिजन क्लब तथा मोफसलका प्रतिभावान् खेलाडी समावेश गरिएको छ । यही असार ३१ गतेदेखि सुरु हुने खेलमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा आयोजक युएइ, लेबनान र उज्वेकिस्तान छन् ।

नेपालले आफ्नो पहिलो खेल असार ३१ गते आयोजक युएइसँग खेल्नेछ । त्यसैगरी साउन २ गते उज्वेकिस्तानसँग दोस्रो तथा समूह चरणको अन्तिम खेल साउन ४ गते लेबनानसँग उसले प्रतिस्पर्धा गर्नेछ ।

छनोट चरणका सम्पूर्ण खेल युएइस्थित अल आइन सहरको ताह्नोन बिन मोहम्मद रङ्गशालामा हुनेछ । यसअघि सन् २०१५ मा इरानमा भएको समूहको छनोट खेलमा चार खेल खेलेको नेपाल सबै खेलमा पराजित भएको थियो । त्यतिबेला नेपालले एक गोल पनि गर्न सकेको थिएन ।

समूहको शीर्ष स्थानमा रहने टोली सन् २०१८ मा चीनमा हुने एएफसी यु–२३ च्याम्पियनसिपमा अन्तिम चरणका लागि छनोट हुनेछ । त्यस्तै दोस्रो स्थानमा रहने शीर्ष पाँच टोलीले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् । उक्त च्याम्पियनसिपमा १६ टोली उपाधिका लागि भिड्नेछन् । चालिस राष्ट्रको सहभागिता रहेको उक्त छनोट खेलमा सहभागी टोलीलाई १० समूहमा विभाजन गरिएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस