नेपाली काँग्रेस कैलालीमा उम्मेदवार छनोटमा विवाद « प्रशासन

नेपाली काँग्रेस कैलालीमा उम्मेदवार छनोटमा विवाद


प्रकाशित मिति : १२ जेष्ठ २०७४, शुक्रबार १६:०४

धनगढी । धनगढी उपमहानगरपालिकाका विभिन्न वडाध्यक्षका उम्मेदवार छनोटको विषयलाई लिएर नेपाली काँग्रेस कैलालीमा विवाद चुलिएको छ ।

धनगढी उपमहानगरका वडाध्यक्षका उम्मेदवारको नाम पार्टीले सार्वजनिक गरेपछि वडाध्यक्षका अन्य आकांक्षी असन्तुष्ट बनेका छन् । पुराना र योगदान दिएका कार्यकर्तालाई पाखा लगाएर उम्मेदवार छनोटको जिम्मा पाएका पार्टीका नेताहरुले आफ्ना आसेपासेलाई टिकट दिएको भन्दै असन्तुष्ट कार्यकर्ताले पार्टीको जिल्ला कार्यालयमा ताला लगाएका छन् ।

काँग्रेस कैलालीका सभापति नरनारायण शाह र काँग्रेसका नेता एवम् सांसद पुष्करनाथ ओझाबीचको सहमतिका आधारमा धनगढी उपमहानगरका विभिन्न वडामा वडाध्यक्षका उम्मेदवारको छनोट गरेको बताइएको छ । छनोटपछि अन्य आकांक्षी असन्तुष्ट बनेका हुन् ।

उपमहानगरको प्रमुख र उपप्रमुखमा कसलाई टिकट दिने भन्ने निर्णय अहिलेसम्म हुनसकेको छैन । प्रमुखका लागि कृष्णबहादुर महरा र नृप ओड आकांक्षी रहेका छन् ।

कांँग्रेसका जिल्ला सचिव दीपकराज जोशीले पार्टीमा टिकट वितरणलाई लिएर सामान्य विवाद देखिएको स्वीकार्दै विवाद विस्तारै मत्थर हुँदै जाने दाबी गरे । काँग्रेसले जिल्लाका सबै गाउँपालिकाका उम्मेदवारको टुङ्गो लगाइसकेको छ ।

जानकी नगरपालिकाको प्रमुखमा गङ्गा चौधरी र उपप्रमुखमा सूर्य वटलालाई उम्मेदवार बनाउने निर्णय गरेको जोशीले बताए । रासस

प्रतिक्रिया दिनुहोस