आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी « प्रशासन

आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी


प्रकाशित मिति : ११ जेष्ठ २०७४, बिहीबार १६:१८

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि निर्धारण गरेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले संसदमा प्रस्तुत गरिरहेकी छिन् ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रमको प्रति राष्ट्रपति भण्डारीसमक्ष पेस गरेका थिए ।

मन्त्रिपरिषद्का यही जेठ ७ गतेको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो ।

यस वर्षको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयनसहित सङ्घ र प्रदेशसभाको निर्वाचन तथा राष्ट्रिय गौरवका आयोजनालाई विशेष प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रममा दिगो आर्थिक वृद्धि, स्वरोजगार, उज्यालो नेपाल अभियान जस्ता विषयहरु समेटिएका छन् ।

निर्वाचन आचारसंहिता लागू भएकाले सरकारले यस वर्षको नीति तथा कार्यक्रममा नयाँ योजना नभई गत वर्षका कार्यक्रमलाई नै निरन्तरता दिएको छ ।

प्रधानमन्त्री दाहालले आफ्नो पदबाट राजीनामा गर्नुभएको भोलिपल्ट राष्ट्रपति भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

सदनमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको साथ र सहयोगमा नेकपा एमाओवादी केन्द्रका अध्यक्ष दाहालले आफ्नो नेतृत्वमा २०७३ साउन २० गते नयाँ सरकार गठन गरेका थिए ।

वर्तमान सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन अघि नयाँ कार्यक्रम नल्याउने र विगतका कार्यक्रमलाई नै निरन्तरता दिने जानकारी दिइसकेको छ ।

संसद् भवनमा आउदा राष्ट्रपति भण्डारीलाई सभामुख ओनसरी घर्ती, उपसभामुख गङ्गाप्रसाद यादव र संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टले स्वागत गरेका थिए । सो अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस