खरानीको घर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

खरानीको घर


१५ बैशाख २०७४, शुक्रबार


गुराँस मेरी सानै देखिकी बाल सखा हो । उसले मैले जीवनको स्वर्णिम बालापन सँगै  बिताएका छौं । सँगै घरकुट्टी, गट्टा खेलेका छौं । सँगै बेहुला बेहुली खेलेका छौं । सयौ पटक ऊ मेरी बेहुली बनेकी छे । भावरी खोलामा कति पटक त मैले उसको शरीरमा साबुन भन्दै बालुवा दलेको थिएँ उसले पनि मेरो शरीरमा त्यसै गरेकी थिइ । त्यसरी बालुवा दलिसकेपछि हामी हात जोडेरसँगै खोलामा पौडी खेल्न हामफाल्थ्यौं । मैले उसको नछोएको कुनै अंग छैन । त्यसरी छुँदा न हामीलाई कहिले काउकुती लाग्यो न कसैले कहिले त्यसो नगर नै भने । एकनासले दिन बित्दै गए । वालापन रमाइलोसँग बित्दै थियो । म विद्यालय जान्थें भने गुराँस बस्तुभाउ लगेर जंगल जान्थी । मलाई गुराँससँग दिन बिताउन पाउँदा औधी राम्रो लाग्थ्यो । विद्यालयकी बाटुली, चम्फा, फुलरानी, जयन्द्र, भजन भन्दा गुराससँगको साथ नै आत्मिय र प्यारो लाग्थ्यो । कहिले शनिवार वा विदाको दिन आउला र गुराँससँग खेल्न पाइएला भनेर कुरेर बसेको हुन्थें । ऊ पनि मलाई अतित ! तिमी बिनाको एकपल पनि मलाई एक बर्ष जस्तो लाग्छ भन्थी ।

विचरी ! गुराँसलाई पढ्न मन नभएको होइन । उसलाई औधी पढ्न मन थियो । मलाई गिठिलेकको डाँडाको कालो ढुंगामा सेतो ढुंगाले धर्को तान्दै अतित ! “क” यस्तो हुन्छ ? मलाई क, ख लेख्न अनी मेरो नाम गुराँस लेख्न सिकाइ देउन भन्थी । म पनि उसको हात समातेर क, ख अनी गुराँस सार्की लेख्न सिकाउँथे । ऊ आफ्नो नाम लेखेको देख्दा औधी रमाउँथी ।

उ भन्थी अतित ! मलाई पनि यसरी पढ्न मन छ तर के गर्नु बिहान बेलुका घरमा छाक टार्न पुग्दैन । बुवा पढ्न जान्छु भन्दा छोरी हामी गरिब छौं पढाउन सक्दाइनौं । गरिवका कोखमी जन्म लिएपछि यीसाइ दुःख हुनाछन् । नसकिन्या रहड अद्दु हुनैन छोरी भन्थे । कुनै दिन गुराँस भोकै बस्तुभाउ चराउन जान्थी । सधैं शनिवार म खानेकुरा लगेर बस्तुभाउ चराउन गुराँससँगै जान्थें । अनी गुराँसलाई भन्थें गुराँस लेउ यो तिमी राख पेटभरी खाउ बचे म खाउँला । ऊ फुर्किंदै त्यो खानेकुरा कपाकप खान्थी अनी आफ्नै हातले बेला बेलामा मलाई पनि खुवाउँथी । मलाई उसले खुवाएको त्यो खाने कुरा सबैभन्दा मिठो लाग्थ्यो । अनी हामीले खाएर बचेको पनि उसैलाई लग भनेर दिन्थें । यसरी बितेका थिए गुराँससँग मेरो बालापनका स्वर्णिम् १४ बर्ष ।


मलाई गिठिलेकको डाँडाको कालो ढुंगामा सेतो ढुंगाले धर्को तान्दै अतित ! “क” यस्तो हुन्छ ? मलाई क, ख लेख्न अनी मेरो नाम गुराँस लेख्न सिकाइ देउन भन्थी ।


पहाडमा नजिकै पाँच पास गरिसकेपछि विद्यालय थिएन । मैले पाँच पास गरें । मलाई पढाउन बाले तराई ल्याउने कुरा गर्नुभयो । मैले गुराँससँग म त अब तराई जान्छु भन्दा ऊ निकै रोएकी थिई । नजानुस् मेरो त यहाँ मन मिल्ने साथी नै कोही हुँदैन । यी डाँडापाखामा म एक्ली पर्छु भन्दै रोएकी थिई । जान मन त मलाई पनि कहाँ थियो र गुराँसलाई छाडेर । मैले नचाहेर पनि जानैपर्ने थियो । बाटुली, चम्फा, फुलरानी, जयन्द्र, भजन पनि पढ्नका लागि कोही कता कोही कता जाने भए । हेर्दा हेर्दै मेरो जाने दिन पनि आयो । त्यसदिन कानाचौरको डाँडासम्म मलाई पुर्याउन मेरी आमासँगै गुराँस पनि आएकी थिई ।

ऊ मसँग बाटाभरी केही बोलिन । गहभरी आँसु मात्र पारी रही । मेरो गह पनि त बहले भरिएको थियो गुराँससँग छुट्नुपर्दा । मैले पनि उसँग कुरा गर्न नखोजेको होइन । अब भेट कहिले हुने हो कहिले । सहरमा पहिलो चोटी जाँदै थिएँ । पहाडबाट आएका मान्छेलाई सहरमा त हेला गर्छन् सहरियाले भन्ने सुनेको थिएँ । उता कोही साथी बन्लान या नबन्लान् । म गएपछि गुराँसलाई यी डाँडापाखा कस्तो लाग्ला ? उसलाई शनिवार पेटभरी खाजा कस्ले देला, अब उसको गिठिलेकको कालोढुंगामा क, ख र गुराँस सार्की लेख्न कस्ले सिकाउला भन्ने सोच्दासोच्दै कानाचौरको डाँडामा पुगेको पत्तै भएन । अब छुट्टिनु थियो कानाचौरको डाँडामा आमा र गुराँससँग । मैले आमालाई ढोगें । आमाले छोरा तेरा बा सित निकरी जाययी, बाटाइनु हात्तहुत्त जनअर्यै, निकेरी पढिवर ठुलो मान्छे भइ हमरो नाम राखेइ भन्दै ज्ञानी बन्नु, भाग्या मानी हुनु भन्दै आशिष दिनुभयो । गुराँसले आफ्नो हातमा सानो कालो झिल्लीमा बाटोभरी केपो बोकेकी थिइ । मेरा तर्फबाटी यो तमुलाई उसले जाने बेला मलाई त्यो कुटिरो दिंदै भनी जधौ गुसाइ निकेरी जायाँ आफ्नो बिचार अर्या, ठुला मान्स भइबर आया । हामरो भाग्य त यिसइ हो । तमी गया पछि म त अब एकली हुन्या भया ।

उसले मलाई पहिले कहिले पनि गुसाइ भनेकी थिइन । जधौ पनि भनेकी थिइन । त्यस दिन उसले मलाइ गुसाइ भनेको मन परेन । झनै मन परेन उसले जधौ भनेको । तर गह भरीएको थियो किनकी म गुराँससँग छुट्दै थिएँ । मैले उसले दिएको त्यो कालो झिल्ली समातें । मलाइ त गुराँसले कालो झिल्ली भित्र कोसेली दी । तर मैले उसलाई दिनलाई केही बोकेको थिएन । गोजीमा पाँच रुपैया थियो । त्यही दिएर भने गुराँस राख चक्लेट किनीवर खानु । उ, नाइ भन्दै थिइ आमाले राख न नानी भनेपछि उसले पनि राखी । म त्यो कोसेली झोलामा हालेर रुँदै आमा र गुराँससँग छुट्टिएँ उनीहरु पनि रुँदै घर फर्किए । तीन दिन हिटेर हामी तराइ पुग्यौं । मैले तराई पुगेपछि गुराँसले दिएको उपहार हेरें क, ख, र गुराँस लेखेको कालोढुंगा र ढाका टोपी थियो । गुराँसका वुवा भिम्वा काका पनि मलाई औधी माया गर्नु हुन्थ्यो । गुराँसले मलाई दिने भने पछि बुवाले मेरा लागि सिलाई दिएको रे ।


गोजीमा पाँच रुपैया थियो । त्यही दिएर भने गुराँस राख चक्लेट किनीवर खानु ।


म तराइकै एउटा विद्यालयमा भर्ना भएँ । बा केही दिनमा पहाड फर्किनुभयो । द्वन्द्व चलेको थियो । मान्छेलाई ज्यान जोगाउनै मुस्किल थियो । त्यसैले म पहाड गइन । किनकी सबै पहाडतिरका युवा की माओवादीमा, की भारत पसेका थिए । समय समयमा बा मलाई भेट्न आउनु हुन्थ्यो । उतैबाट आउने मान्छेसँग खर्चपर्च पठाउनु हुन्थ्यो । समय बित्दै गयो । म घर जान नपाएको पनि पाँच बर्ष भइसके छ । १४ बर्षको उमेरमा आएको म १९ बर्षको लक्का जवान भइसकेको थिएँ । आमाको औधी माया लाग्थ्यो । कहिले भेटौंला भएको थियो । गुराँसको बिछट्टै याद आउँथ्यो । ऊ के गर्दै होली ? कस्तो अवस्थामा होली ? राती सपनामा पनि कहिले काहीँ उसैसँग खेलिरहेको देख्ने । पहाडवाट कहिले कोही केटाहरु आए गुराँस कस्ती छ भनेर सोध्थें । उनीहरु गुराँस साँच्चै गुराँस जस्तै राम्री भएको सुनाउँथे ।

एसएलसी दिइसकेपछि मैले पहाड जाने अवसर पाएँ । साह्रै उमंगका साथ पहाड गएँ । मैले पहाड जाँदा गुराँस मलाई लिन कानाचौरको डाँडोमा आउँछे सोचेको थिएँ त्यहाँ त आमा मात्रै आउनु भएको थियो मन साह्रै खिन्न भयो । गाउँ पुगेको चार/पाँच दिनसम्म पनि उससँग भेट हुन सकेन । एक दिन उसँग भेट भयो । हामीले एक अर्कालाई चिन्नै सकेनौं । मेरो जुंगाको रेखी बसेको थियो भने उसको त वयान गरी साध्य छैन । उसको कलकलाउँदो जवानी, बदामे गाजलु आँखा, नागवेली केस, पोटिलो नितम्व, मिलेको शरीर । ऊ कुनै मैले तराईमा टिभीमा हेरेकी हिन्दी सिनेमाकी हिरोइन भन्दा कम लाग्दैन थी । मत उसलाई हेरेको हेरै भएँ ।

हिजोको जस्तो हामीमा निसंकोचपना थिएन त्यहाँ । बोल्दा पनि लाज लागिरहेको थियो । हिजो पुरै शरीर छँदा केही नभएका हामी आज उसको साधिन्यता काउकुति लगाउने खालको भइसकेको रहेछ । पहिलो भेटमै तानिएँ म उसप्रति । कुरा गर्दै जाँदा त्यसै महिना उसको पल्लो गाउँको उमेरले गुराँस भन्दा दश बर्ष बुढो धनवीर नेपालीसँग बिहे हुने रहेछ । उसले बुवा आमाको कुरा नकार्न नसकेर उसँग बिहे गरिरहेकी रहिछ । मैले उसको त्यति बुढो मान्छेसँग बिहे नहोस् भन्ने चाहेर पनि केही हुनेवाला थिएन ।

मेरी बालसखा अब प्रणय सुत्रमा बाँधिदै छे । मलाई औधी माया गर्ने बालसखा जोसँग मेरो स्वर्णिम बालापन बितेको छ । बाल माया छ । तराइमा हुँदा पनि उसैलाई भेट्ने परिकल्पना मनभरी थियो । दिन महिना हुँदै गुराँसको बिहेको दिन नजिकियो । गुराँस जस्तै रसिली गुराँस अब बुढो श्रीमान्को सेवा सत्कारमा तल्लिन् हुनेछिन् । उसको अबको जीवन अहिलेको जीवन भन्दा कुनै पनि हालतमा सुखद् हुनेवाला थिएन ।


ऊ दलित भएपनि हाम्रो बीचमा साथीको नाता नै ठुलो रह्यो सधै तर के गर्नु ? निस्ठुरी समयले उसलाई निकै दुःखी बनाएर जन्माएको रहेछ ।


बिहे गरेको दुई महिना पछि उसको श्रीमान् बिदेश गए । गुराँस घर परिवार हेर्न थाली । बुढा सासु ससुराको सेवा सत्कार गर्न थाली । उसको पेटमा धनवीरको नासो पनि थियो । केही महिना पछि धनवीर दाइ मुम्वैमा बिरामी हुनुभएको खवर आयो । उनलाइ जति उपचार गरेपनि ठिक भएन । एक दिन रगत जाँच गर्दा उसलाई एचआइभी भएको रहेछ । त्यसपछि धनवीर दाइ नेपाल फिर्ता भए । यता गुराँसको घरमा रुवावासी चल्यो । गुराँसको रगत जाँच गर्दा गुराँसमा पनि त्यो रोग सरिसकेको रहेछ । केही पहिना पछि धनवीरको एचआइभीकै कारण मृत्यु भयो । उसको गर्भको छोरालाई पनि डाक्टरले बचाउन सकेनन् । त्यसपछि पुत्र वियोग र पति वियोगमा गुराँस पागल नै भइ । एचआइभी संक्रमित गुराँस बौलाह हुँदै पहाडबाट अत्तरियासम्म कसरी पुगी । अहिले गुराँस अत्तरियाका चोक चोकमा बरवराउँदै हिंडिरहेकी भेटिन्छे । कहिले अचेत अवस्थामा एक्लै बरबराइ रहेकी हुन्छे । कहिले पसल अगाडि हात थाप्दै मागी रहेकी हुन्छे सुनेको थिएँ ।

एक दिन खोज्दै गुराँसलाइ भेट्न म अत्तरिया गएँ । ऊ अत्तरिया एउटा किराना पसल अगाडि हात थापेर बसेकी थी । मैले गुराँसलाई देख्ने बित्तिकै गुरुलुम्म अँगालो बाँधे । मेरी बालसखा म तिम्रो साथी अतित चिन्यौं । को अतित ? कताको अतित ? मेरो बाबु, खै मेरो बाबु तैले मेरो बाबु खाइस् । तैले मेरो जिन्दगी बर्वाद गरिस् । त पापी होस् । तैले मलाइ छल गरिस् । त मलाई नछो । मलाई तैले एड्स सारी पापी भन्दै ऊ सराप्दै थिइ । उस भित्रको पीडाको आगो सहजै थहा हुँदै थियो । गुराँसको गुराँस जस्तो ढकमक्क फुलेको जोवन, सवैको आँखामा बस्न सफल उसको जवानी आज त उ बिरुप देखिन्थी । मेरी बालसखा गुराँसको त्यो खितखिताउने हाँसो । त्यो रुप आज ओइली झरेको पत्तै भएन । म भन्दा एक बर्ष मात्र जेठी गुराँस ३० बर्षकै उमेरमा ७० बर्षको बृद्धा जस्तै देखिएकी छे । उसले जति गर्दा पनि मलाई चिनिन । मैले उसलाई घर लगेर गएँ नुहाइ धुवाए गरिदिएँ । उसका लामा लामा नङ काटिदिएँ । त्यो दिन आफै पकाएर उसलाई पेट भरी खान दिएँ । आफुलाई चिनाउने हर कोसिस गरें । सानोमा हामीले खेलेका खेलका स्मरण गराएँ तर अह ! उसले चिन्दै चिनिन । खाली रातभरी फतफताइ मात्र रही । मैले खाने कुरा दिदा उसले यति मिठो मानेर खाइकी उसले खाँदा मेरो आँखाबाट कति आँशु बर्षे भनिसाध्य छैन । ऊ रोग र भोगले निकै गलिसकेकी थिइ । बेला बेलामा ऊ भगवान मलाई यो पीडबाट मुक्त गर । काल मलाई लगेर जा मलाई यो घरमा बस्न मन छैन । मलाई खरानीको घर मनपर्ने भएको छ । खरानीको घर बनाइदे काल भन्थी ।

ऊ दलित भएपनि हाम्रो बीचमा साथीको नाता नै ठुलो रह्यो सधै तर के गर्नु ? निस्ठुरी समयले उसलाई निकै दुःखी बनाएर जन्माएको रहेछ । उसले नचिने पछि म उसलाई बिस्तारामा सुताएँ आफ्नो कोठा गएँ ऊ सुतेको कोठाको चुकुल लगाइन, उसलाई दिसा पिसाव जान सहज होस् भनेर । भोलि बिहान उठ्दा ऊ कोठामा थिइन । मैले चारैतिर खोजें कतै पनि भेटिन । चार दिन पछि उसको लास गेटा आँखा अस्पताल जाने बाटोको झाडीमा फेला पर्यो । एउटा सुन्दर सपना बुनेकी खितखिताउने गुराँसको जीवन अन्त्यसँगै ऊ धेरै ठुलो पीडाबाट मुक्त भइ । अन्ततः गइ खरानीको घरमा । उसका आफन्त कोही नभए पछि त्यो लास ल्याएर मोहनामा दाहसस्कार गरी मैले नै काजक्रिया गरिदिएँ । यसरी भयो एउटा सुन्दर सपनाको दुःखद् अन्त्य र अन्ततः बनाउन सकिएन सुन्दर जीवन न त बन्यो खरानीकै घर बरु बन्यो त्यो जीवननै खरानी ।

Tags :
प्रतिक्रिया दिनुहोस