कवि आचार्यको कविता सङ्ग्रह ‘नदीसित’ लोकार्पण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कवि आचार्यको कविता सङ्ग्रह ‘नदीसित’ लोकार्पण


१४ बैशाख २०७४, बिहिबार


काठमाडौँ । कवि विधान आचार्यको तेस्रो कृति कविता सङ्ग्रह ‘नदीसित’ बुधबार एक समारोहबीच सर्वनाम नाट्यगृह कालिकास्थानमा लोकार्पण गरियो ।

कवि स्वयम्ले डालोको रातो रुमाल खोलेर ‘नदीसित’ कविता सङ्ग्रह सर्वप्रथम प्रमुख अतिथि प्रज्ञाप्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेलाई प्राज्ञिक क्षेत्रका प्रतिनिधिका रूपमा अर्पण गरे ।

अतिथिहरू समालोचक डा. नेत्र एटम, साहित्यकार तथा नाट्यजगत्का अगुवा अशेष मल्ल, साहित्यकार काशीराज आचार्य र सभापतित्व गरिरहेका नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकलाई एकएकप्रति अर्पित गर्दै नयाँ ढङ्गमा कृतिको लोकार्पण गरिएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेले प्रमुख अतिथिको आसनबाट मन्तव्य दिने क्रममा ‘कविताहरू पुराना भएपनि कालजयी भएकाले सामयिक नै लाग्छ र थोरै लेखेर राम्रो स्थान बनाउन विधानजी सफल हुनुहुन्छ’ भन्दै कविको जन्मदिनमा कृतिको पनि लोकार्पण भएकाले अझै नयाँ नयाँ रचना उनीबाट भइरहोस् भन्ने शुभकामना दिए ।

कृतिका बारेमा आफ्नो भनाइ राख्दै समालोचक एटमले कवि विधान आचार्यको कवितामा पाइने बाहिरी रूप र भित्री सारको चर्चा गर्ने क्रममा बाहिरको बिम्बविधान र भित्रको द्वन्द्वमिलान उनको कविताको विशेषता रहेको चर्चा गरे ।

साहित्यकार काशीराज आचार्यले कवि विधानको कवितामा भावको विचित्र सम्प्रेषण पाइन्छ भन्दै जुन प्रणय कवितामा रहेको भावातिरेकलाई प्रशंसा गरे ।

कवि तथा नाट्यकार अशेष मल्लले ‘विधानको कवित्वको प्रसङ्गमा उठाउँदा उनका समकालीन साथी स्व. जीवन आचार्यको सम्झना भइरहेको बताउँदै विधान आचार्यको बहुमुखी प्रतिभाको चर्चा गरे । कवि विधान आचार्यले कार्यक्रममा तीनवटा कविता वाचन गरेका थिए ।

कार्यक्रमको सभापतित्व साहित्यकार आलोकले र सञ्चालन नेपाल स्रष्टा समाजका महासचिव चेतनाथ कणेल ‘हरित’ ले गरेका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस