नेपाल निर्वाचनमार्फत संविधान कार्यान्वयनमा लागिपरेको छः राष्ट्रपति भण्डारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाल निर्वाचनमार्फत संविधान कार्यान्वयनमा लागिपरेको छः राष्ट्रपति भण्डारी


५ बैशाख २०७४, मंगलबार


नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलवार राष्ट्रपति भवनमा भारतका विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहले अलग अलग भेट गरेका छन् । ।

भेटका अवसरमा राष्ट्रपति भण्डारीले नेपाल भारतबीच सांस्कृतिक, धार्मिक तथा समाजिक सम्बन्ध रहेको बताउँदै आफ्नो भ्रमणले दुइ देशबीचको मित्रताको अझै प्रगाढ भई उचाइमा पुग्ने विश्वास व्यक्त गरिन् । उनले नेपालमा ठूलो राजनीतिक परिवर्तनपछि बनेको समावेशी संविधानले महिला र पिछडिएका समुदायको अधिकार स्थापित भएको बताइन् । राष्ट्रपतिले यसलाई व्यवहारमा परिणत गर्न सरकार निर्वाचनमार्फत संविधानको कार्यान्वयनमा लागिपरेको बताउनुभएको परराष्ट्रमन्त्री मन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

दुवै मन्त्रीले नेपाल भारतबीच आपसी विश्वास र सद्भावको विकास बढेर गएको बताउँदै नेपालको हित र विकासमा भारत सरकार सदैव साथमा रहेको प्रतिबद्धता व्यक्त गरे । गृहमन्त्री सिंहले संविधान र निर्वाचनका बारेमा समेत जिज्ञासा राखेका थिए । सो विषयमा भेटमा सहभागी परराष्ट्रमन्त्री डा महतले नेपालको संवैधानिक व्यवस्थानुसार नै एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने भएकाले सरकार सबैको भावना समेटेर निर्वाचन गर्ने प्रयासमा रहेको बताएका थिए ।

विदेशमन्त्री स्वराजले नेपालको पुनःनिर्माण तथा समग्र विकासका परियोजना चाँडोभन्दा चाँडो पूरा होस् भन्ने भारतीय प्रधानमन्त्रीको समेत चाहना रहेको राष्ट्रपतिसमक्ष जानकारी गराउनुभएको डा महतले बताए । मन्त्री स्वराजले नेपालमा भारतीय सहयोगमा बन्दै गरेका विकास परियोजनाका बारेमा एक एक महिनामा सम्बन्धित अधिकारीबाट जानकारी लिने गरिएको र त्यसबारे प्रधानमन्त्रीलाई तीन तीन महिनामा आफूले जानकारी गराउने गरेको अवगत गराएको परराष्ट्रमन्त्री डा महतले बताए । मन्त्री महतले परियोजनाबारे नेपाल सरकारको पनि तदारुकता रहेको उल्लेख गर्दै द्विपक्षीय संयन्त्रले काम र त्यसबारेको प्रगति विवरण दिइरहेको बताए ।

यसअघि राष्ट्रपति भण्डारीलाई भारतीय सेनाले राजकीय सम्मानस्वरुप राष्ट्रपति कार्यालय परिसरमा गार्ड अफ अनर प्रदान गरेको थियो । उक्त अवसरमा राष्ट्रपति भण्डारीका समकक्षी प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत भारतीय उच्च अधिकारीको सहभागिता थियो । त्यसलगत्तै राष्ट्रपति भण्डारी राजघाट पुगेर त्यहाँस्थित महात्मा गान्धीको समाधिमा पुष्पमाला अर्पण गरेर श्रद्धाञ्जलि व्यक्त गरेकी थिइन् । राष्ट्रपतिले बजिरावादस्थित यमुना जैविक विविधता संरक्षण उद्यानको अवलोकन गर्दै राष्ट्रपतिले महुवाको बिरुवासमेत रोपेकी थिइन् ।

हाइलाइट
राष्ट्रपतिले यसलाई व्यवहारमा परिणत गर्न सरकार निर्वाचनमार्फत संविधानको कार्यान्वयनमा लागिपरेको बताउनुभएको परराष्ट्रमन्त्री मन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस