किनमेलमा गएकी महिला रहस्यमय तरिकाले बेपत्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

किनमेलमा गएकी महिला रहस्यमय तरिकाले बेपत्ता


३ बैशाख २०७४, आइतबार


कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका ३० वर्षीया कौशा धामी बजारमा किनमेल गर्न गएका बेला रहस्यमय तरिकाले बेपत्ता भएकी छिन् ।

सिलाइ मेसिन खरिद गर्नका लागि निकटवर्ती भारतीय बजारतर्फ गएकी धामी बेपत्ता भएकी हुन् ।

चैत २५ गते बजारतर्फ गएकी उनी घर नफर्केपछि परिवारजनले सबैतिर खोज्दासमेत फेला पार्न सकेका छैनन् ।

राहदानीको प्रतिलिपि घरभित्र फेला परेकाले दलालले प्रलोभनमा पारेर भारततर्फ लगेको हुन सक्ने आशङ्का परिवारजनले गरेका छन् ।

धामी बेपत्ता भएपछि इलाका प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिइएको उहाँका जेठाजु धनबहादुर धामीले बताए ।

“आफन्त र सम्भावित सबै क्षेत्रमा खोजतलास गर्दा पनि फेला पार्न नसकेपछि प्रहरीलाई गुहारेका छौँ”– उनले भने ।

तीन छोरीकी आमा धामी झलारी बजारमा सिलाइ पसल सञ्चालन गर्दै आएकी थिइन् । भारतमा रोजगारीका लागि गएका उनका श्रीमान् पनि चार वर्षदेखि बेपत्ता रहेका छन् । चेलीबेटी बेचबिखन विरुद्धमा क्रियाशील सङ्घसंस्थालाई समेत धामीका परिवारले खोजतलासका लागि सहयोग गरिदिन आग्रह गरेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस