विराटनगर किङ्स र धनगढी चौराहा विजयी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विराटनगर किङ्स र धनगढी चौराहा विजयी


प्रशासन संवाददाता

२ बैशाख २०७४, शनिबार


धनगढी। ‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग’ (डिपिएल)क्रिकेटअन्तर्गत शनिवार भएका खेलमा विराटनगर किङ्स र धनगढी टिम चौराहा विजयी भएका छन् ।

पहिलो खेलमा विराटनगर किङ्सले कञ्चनपुर आइकोनिकलाई पाँच विकेटले तथा अर्को खेलमा धनगढी टिम चौराहाले काठमाडौँ गोल्डेन्सलाई ११ रनले पराजित गर्यो ।

सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा टस हारेर ब्याटिङ गरेको कञ्चनपुर आइकोनिकले १७ ओभरमा सवै विकेट गुमाएर ८० रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको विराटनगर किङ्सले ९ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो । विराटनगर किङ्सका लागि कप्तान शरद भेषवाकरले १५ बलमा २८ रन, आकास थापाले १२ र प्रनित थापा मगरले ११ रन बनाए ।

बलिङतर्फ कञ्चनपुर आइकोनिकका सागर पुन एक्लैले पाँच विकेट लिए ।

यसअघि कञ्चनपुर आइकोनिकका लागि हसिम अन्सारीले २७ रन, कुसल भुर्तेलले १९ र आशिष पोखरेलले १० रन बनाएका थिए । बलिङतर्फ विराटनगर किङ्सका सुशील कँडेल र सन्दीप लामिछानेले चार÷चार विकेट तथा जितेन्द्र मुखियाले दुई विकेट लिए । ‘वेल्स क्याफे म्यान अफ द म्याच’ भएका कँडेलले १० हजार पुरस्कार प्राप्त गरे ।

अर्को खेलमा ब्याटिङ गर्दै धनगढी टिम चौराहाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३६ रन बनायो । धनगढीका लागि आरिफ शेखले सर्वाधिक ५८ रन, अनिल मण्डलले २९, शौरभ खनालले १६ र राजु रिजालले ११ रन बनाए ।

बलिङतर्फ काठमाडौँ गोल्डेन्सका लागि सोमपाल कामी र मञ्जित श्रेष्ठले तीन÷तीन विकेट लिए ।

एक सय ३७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको काठमाडौँ गोल्डेन्सले २० ओभरमा सबै विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । काठमाडौँका लागि सन्दीप जोराले २८ तथा सोमपाल कामीले २४ रन बनाए ।

बलिङतर्फ धनगढी टिम चौराहाका आरिफ सेख र शौरभ खनालले तीन÷तीन तथा रामनरेश गिरीले दुई विकेट लिए । ‘वेल्स क्याफे म्यान अफ द म्याच’ भएका धनगढीका आरिफ शेखले १० हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत आइतबार विराटनगर किङ्स र रुपन्देही च्यालेन्जर्स तथा सिवाईसी अत्तरिया र कञ्चनपुर आइकोनिकबीच खेल हुने छ । धनगढी क्रिकेट एकेडेमी र सूदुरपश्चिमाञ्चल एकेडेमीको संयुक्त आयोजनामा भइरहेको सो प्रतियोगितामा ६ वटा टिम सहभागि छन् । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले सात लाख पुरस्कार प्राप्त गर्ने छ । रासस

प्रतिक्रिया दिनुहोस