‘माओवादी केन्द्रको उपहार, गाउँ/नगरमा सिंहदरबार’ नारा तय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘माओवादी केन्द्रको उपहार, गाउँ/नगरमा सिंहदरबार’ नारा तय


प्रशासन संवाददाता

२ बैशाख २०७४, शनिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि ‘माओवादी केन्द्रको उपहार, गाउँ÷नगरमा सिंहदरबार’ भन्ने मूल नारा तय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले दश वर्षसम्म सञ्चालन गरिएको ‘जनयुद्ध’को मुख्य नारा सिंहदरबारको अधिकार स्थानीय तहमा भन्ने साकार भएको र संविधानानुसार नै सात सय ४४ स्थानीय तह खडा गरिएकाले अब ती निकायलाई थप संस्थागत गर्न लागिएको जनाएको छ ।

माओवादीकै कारण स्थानीय तहमा ६० भन्दा बढी अधिकार पुगेको र कार्यान्वयनको चरणमा रहेको निष्कर्ष निकाल्दै बैठकले यसबार जनतालाई स्पष्ट रुपमा बुझाउनुपर्ने र निर्वाचनको वातावरण बनाइने निर्णय गरेको छ । सरकारले कार्यसम्पादन गरेको राम्रा, सकारात्मक एवम् जनपक्षीय कामलाई समेत प्रचार गर्दै निर्वाचनमा होमिने निर्णय पार्टीले गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

सबै स्थानीय तहमा चुनावी सभा

जिल्ला समिति र प्रदेश समितिको निर्णयका आधारमा यही वैशाख ९ गतेसम्म उम्मेदवार तय गर्ने निर्णय भएको छ । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनको वातावरण बनाउन तथा जनतालाई चुनावमा सहभागी हुन र परिवर्तनकारी शक्तिलाई निर्वाचित गराउन आग्रह गर्दै सात सय ४४ वटै स्थानीय तहमा चुनावी सभा गर्ने भएको छ ।

सोअनुसार यही वैशाख ९ गते सबै स्थानीय तहमा केन्द्रीय नेताले सम्बोधन गर्नेगरी चुनावी सभाको आयोजना गरिने छ । निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन देशैभर घरदैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको छ ।

केन्द्रीय कार्यालय सदस्य देवप्रसाद गुरुङ नेतृत्वको कार्यदलले तयार पारेको प्रतिबद्धतापत्रमा छलफल भएको र त्यसलाई थप समृद्ध पारेर सार्वजनिक गर्ने तयारी गरिएको छ । नेता गुरुङले केही मौलिक कार्यक्रम र नारा सहितको प्रतिबद्धतापत्र तयार पार्न लागिएको जानकारी दिए ।

वार्तामा आउन पुनःआग्रह

बैठकले मधेस केन्द्रित दलका नेतालाई राष्ट्रिय समस्याको समाधानका लागि वार्ता र संवाद नै उपयुक्त विधि भएको जनाउँदै आवेग र आग्रहका आधारमा कुनै पनि निर्णय नगर्न आग्रह गरेको छ । “मधेसी मोर्चालाई वार्ता र सहमतिका माध्यमबाट समस्या समाधानका लागि अपिल गरिएको छ, हामीलाई विश्वास छ मोर्चा संवादका आधारमा राष्ट्रिय समस्याको समाधान गर्न र स्थानीय तहको निर्वाचनका लागि तयार हुनेछ”, प्रवक्ता भुसालले भनिन् ।

भुसालले बैठकले मोर्चालाई वार्ता र सहमतिका माध्यमबाट समस्या समाधान गरी स्थानीय तहको निर्वाचनमा सहभागी बन्न आग्रह गर्दै मधेसी मोर्चासँग निरन्तर वार्ता गरी चुनावमा सहभागी हुने वातावरण तयार पार्न सरकारलाई आग्रह गरेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस