कास्की। चट्याङ लागेर सिन्धुपाल्चोक, मकवानपुर र कास्कीमा गरी तीन जनाको मृत्यु भएको छ ।
चट्याङ लागेर सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शनिवार पानीसँगै परेको चट्याङ लागेर जुगल गाउँपालिका–७ निवासी ४६ वर्षीया सानुकान्छी तामाङको मृत्यु भएको हो ।
घरमा खाना पकाउँदै गरेका बेला उनलाई चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा मृतककी बुहारी २० वर्षीया सुकुरानी तामाङ घाइते भएकी छिन् उनको जलवीरे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, मकवानपुर गढी गाउँपालिका–७ का २३ बर्षीय जीतबहादुर स्यान्ताङको आइतबार राति चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी,
कास्कीको अन्नपूर्ण गाउँपालिका घान्द्रुकस्थित छुन्द्रुङमा शनिबार साँझ परेको चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ ।
घाँस बोकेर घर फर्कदै गर्दा बाटोमा चट्याङ लाग्दा १४ वर्षीय बहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस