कोदो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोदो


२९ माघ २०७३, शनिबार


गरिब बैकिनीको कुर्कुच्चा जस्तो
उज्गलोमा बस्दै आएको
म कोदो हुँ गोसाईँ कोदो

मेरा इजाबाको बालापनको पुरापुर बैस पोखेर
जोगाएको बीउको दरसन्तान हुँ
मेरा पुर्खाको रगत पसिनाले निथ्रुक्क भिजेको छ यो जमिन

गोसाईँ
तमले धानको बिऊ बडो मेहेनतले रोप्नुहुन्छ
आइसियुमा राखेझै इराकको पानीसँग साटेर
जोगाउनु हुन्छ उसको परानपखेरु
गाउँभरिका हली बाउसे र
चार–चार हल बल्ल जोतेर
गर्नुहुन्छ गैरीखेतको रोपाईँ

गोसाईँले गहुँ हुर्काउन पनि कम्ता मेहेनत गर्नुहुन्न
त्येत्रो मेहेनतले त भासुमा पनि ईन्द्रेणी पोखिन्थ्यो
उन्यूँमा पनि सुगन्ध भरिन्थ्यो
त्येत्रो मेहेनतले त धुली र कोल्टी पनि टुँडिखेल बनिसक्थे

म त तमरा पानी नचल्ने हातले
मलामीले चौबाटोमा बुर्की फालेझैं
फालिएको उज्गलोको कोदो हुँ
गोसार्इँ कोदो

मेरो धरामा अपी र सैपालै
राखिदिएपनि कहिल्यै चिस्यान आउँदैन
मेरो बस्तीमा कर्णाली नै फर्किए पनि कहिल्यै तिर्खा मर्दैन
म त तमरा पानी नचल्ने हातले
टिला फालेझैं फालिएझैं फालिएको कोदो
हुँ गोसाईँ कोदो

गोसाईँ
मैले तमरा भँडारको कल्पना त कहाँ हो कहाँ ?
त्यो भान्साको मुख समेत देखेको छैन
मेरा हड लागेपछि पण्डितले अभिषेक छर्केझै छोडो हालेर भित्र पस्नुहुन्छ
मेरो रङगले किन पुजा यज्ञमा बेदी पुजिदैन ?
म पनि यसै धर्तीको आदिवासी बाली हुँ मालीक बाली

मैले पनि तमरा चुलामा पकेर
मिठा मिठा परिकारमा बाँडिएर
भोका पेटहरुमा पुग्न पाउनुपर्छ
किन मेरो बिउ बाद तिनपाने धेरै बनाइन्छ  ?

जहिल्यै खेतका फाँटहरुमा तोरी फुलेको देख्छु
जहिल्यै खेतका आलीमा भटमास नुहेको देख्छु
जहिल्यै खेतका गरामा धानका बाला झुलेको देख्छु
किन मलाई रोप्नुहुन्न खला किनारको मलिलो जमिनमा ?

मेरा जरामा कहिल्यै पोटास युरिया नहाले पनि
मेरो माटोमा कहिल्यै कम्पोष्ट नफाले पनि
म पनि कुनै दलहन र तेलहन भन्दा कम ताकतिलो छैन

गोसाईँ
एउटा कुरा भनु
दुःख नमान्नु होला
कोदोको रङ्ग कालो हुन्छ
कालो आफैंमा बिरोधको प्रतिक हो

प्रतिक्रिया दिनुहोस