सिंहदरबारको पुनःनिर्माण गर्न समिति गठन « प्रशासन
Logo ४ आश्विन २०७८, सोमबार
   

सिंहदरबारको पुनःनिर्माण गर्न समिति गठन


२६ माघ २०७३, बुधबार


काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सिंहदरबारको मुलभवनको पश्चिमतिरको भाग पुनःनिर्माण गर्न कार्यकारी सदस्य डा. हरिराम पराजुलीको संयोजकत्वमा समिति गठन गरेको छ ।

प्राधिकरणको मंगलबार बसेको कार्यकारी समितिको बैठकले सिंहदरबारको पश्चिमतिरको भागको यथाशीघ्र प्रवलीकरण गरी पुनःनिर्माण गर्ने कार्य अघि बढाउन पराजुलीको संयोजकत्वमा समिति गठन गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए ।

समितिमा पुरातत्व विभागका प्रतिनिधि, प्राधिकरणका सहसचिव, सहरी विकास मन्त्रालयका सहसचिव, पुरातत्वविद् रोशन रञ्जितकार, सन्तोष श्रेष्ठ र रवीन्द्र पुरी सदस्य हुनुहुन्छ । समितिले यथाशीघ्र सिंहदरबारको पश्चिमतिरको मुल भागलाई नभत्काएरै पुनःनिर्माणको काम अघि बढाउनेछ ।

उक्त समितिलाई आवश्यक सल्लाह र सुझाव दिन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा पुरातत्वविद्, संरक्षणविद्लगायत रहेको सल्लाहकार समिति पनि गठन गरिएको छ ।

ऐतिहासिक धरोहरका रुपमा रहेको उत्कृष्ट नमुना डिजाइनमा बनेको उक्त भवनलाई गोरखा भूकम्पले क्षति पु¥याएको थियो । रासस

प्रतिक्रिया दिनुहोस