पृथ्बीनारायण शाह जो राष्ट्रिय पहिचान हुन् कसैले मेटेर पनि मेटिदैन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पृथ्बीनारायण शाह जो राष्ट्रिय पहिचान हुन् कसैले मेटेर पनि मेटिदैन


प्रशासन विशेष ब्युरो

२६ पुस २०७३, मंगलबार


पुस २५ गते सोमवार अपरान्ह करीब ३ बजेतिर प्रज्ञा प्रतिष्ठानको हाताभित्र पुग्दा प्राज्ञ गंगा प्रसाद उप्रेती ब्यस्त मात्रै होईन, अति ब्यस्त हुनुहुन्थ्यो । आफ्नो काँधको जिम्मेवारीलाई अति गंभिरता र कुशलतापूर्वक निर्वाह गर्न काविल भएकै कारण उहाँको कुलपतिको कार्यकाल सफल मानिन्छ । मैले सुरुमै उहाँको कार्यकालको समीक्षाबाट अली टर्रो पारामा जिज्ञासा राखे । तर एक से एक उपलव्धी र सफलताका नमुना अनि सुन्दर सपना र भईरहेका राम्रा कामको फेहरिस्त दिएर उहाँले आफ्नो कार्यकालको सार्थकता थप्दै जानुभयो । उहाँको कुलपतिको कार्यकालका कामबारे म अर्को अंकमा विशेष कुराकानीसहित आदरणीय पाठकवृनदलाई उपहार दिनेछु । उहाँसंगको कुराकानीको यो खण्डमा भने म भोलिको पुस २७ अर्थात राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीबारे केन्द्रीत उहाँका सटिक र मर्मस्पर्शी संवाद प्रश्तुत गर्दैछु: एसराज  उपाध्याय ।

महिना पुसको छ । प्रसंगमा छ पुस २७ । यसलाई राष्टिय एकता दिवसका रुपमा मनाउनु पर्ने माग जोडतोडका साथ उठिरहेको छ । तपाईको व्यक्तिगत वा संस्थागत मत के छ यस विषयमा ?
पृथ्बीनारायण शाहलाई अन्य शाह राजासंग जोड्नै हुँदैन । पृथ्बीनारायण शाह थिए र नेपाल बन्यो । पृथ्बीनारायण शाहले जितेर नेपाल मात्रै बनाएनन् हामी सबैलाई एकताका सूत्रमा राख्ने हिसावले सन्देश पनि दिए जसलाई हामी दिब्य उपदेश भन्छौं । त्यो दिब्य उपदेश राम्ररी हेर्ने हो भने नेपालको शासन प्रणाली कस्तो हुनुपर्छ भन्ने कुरा त्याहाँ छ । अर्थ व्यवस्था, परराष्ट्र नीति, सुरक्षा व्यवस्था कस्तो हुनु पर्छ लगायतका सबै कुराहरु त्याहाँ छ । जुन हाम्रो महत्वपूर्ण ग्रन्थ हो । त्यसै ग्रन्थका कारण उनले राज्य जिते । साउथ एसियामा कति राज्य थिए त्यो बेलामा कल्पना गरौं त ? पृथ्बीनारायण शाहभन्दा कति शक्तिशाली राजाहरु थिए र ती कहाँ पुगे ? तर पृथ्बीनारायण शाह पहाडको सियो राज्य डगमगाएन कसैसंग । किन त भन्दा उनले जितेर राज्य मात्र बनाएनन्, राज्य संचालनको विधि पनि दिए त्यसो हुनाले पृथ्बीनारायण शाह हाम्रो पहिचानसंग जोडिएका छन् ।

पृथ्बीनारायण शाहलाई टान्जिक्सनको बेलामा अनेक किसिमले अपमानित गर्ने काम गरियो, जुन गलत थियो । आवेगमा आएर गरिएको अदुरदर्शी कुरा थियो । त्यो कुरालाई हाम्रो एकेडेमीले शुरुदेखि नै पृथ्बी नारायण शाहको जन्म दिनलाई विशेष बौद्धिक बहस गरेर मनाउने गरेका छौं । त्यसको निरन्तरता त छँदैछ, भोली २७ गते पनि १ बजे ठूलो गोष्ठि हुँदैछ । त्यसमा विज्ञहरुले नेपालको सुरक्षा व्यवस्थाका बारेमा चर्चा हुनेछ । नेपालको सामाजिक, सांस्कृतिक रुपान्तरण कस्तो हुनुपर्छ भन्नेबारे चर्चा हुनेछ । नेपालको परराष्ट्र नीतिका बारेमा चर्चा हुनेछ ।


स्थायी भनेको सत्य हो । सत्य भनेको नेपाल हो । नेपाल भनेको पृथ्बीनारायण शाहले बनाएको नेपाल हो । त्यो चाहि सत्य हो । त्यही नेपाल भित्र छौ हामीहरु । त्यो स्थायी भइदियो ।

जहाँसम्म राज्यले पृथ्वीनारायणको जन्म जयन्तीलाई सरकारले मान्ने/नमान्ने वा छुट्टि दिने/नदिने कुरा छ, बिदाको रुपमा मात्र भन्दा पनि राष्ट्रिय एकता दिवशकै रुपमा विशेष कार्यक्रम गरी मनाउने हिसावले घोषणा गर्नुपपर्छ । त्यसले गर्दा एउटा दिन त्यस्तो हुन्छ कि राज्य कतातिर गइरहेको छ ? कुन दिशातर्फ अगाडि बढीरहेको छ भनेर छलफल हुन्छ । उनको स्तुती नै गाउनु पर्दैन नि त । गत वर्ष पनि एउटा संस्थाको सहयोगमा प्रभातफेरी कार्यक्रम भयो र यसवर्ष पनि त्यसले प्रभातफेरी कार्यक्रम गर्ने कुरा छ । हाम्रो प्राज्ञिक संस्था भएकोले पृथ्बीनारायण शाहलाई सामुन्नेमा राखेर प्राज्ञिक छलफल गर्छौ । त्यसको उदेश्य नेपालको राष्ट्रियतालाई सबल बनाउने, परराष्ट्र नीतिलाई दिशा निर्देश गर्ने, आर्थिक प्रगतिलाई दिशा निर्देश गर्ने हुन्छ ।

हामी दृष्ट्रिकोणमा हामी स्पष्ट छौं कि नेपालको सन्दर्भमा अर्थात नेपालको बहुलतालाई जोडेर एकतामा लैजाने कोही न कोही प्रतिक चाहिन्छ त्यो पृथ्बीनारायण शाह वाहेक अरु कोही हुन सक्दैन । त्यसैले उनको सम्मान गरिनु पर्छ र जन्म दिनलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गर्नुपर्छ । यता भानुभक्तको जन्म जयन्तिमा पनि छुट्टि दिइदैन, जसको कारणले संस्कृति र भाषिक कुराहरु बने, पृथ्बीनारायण शाह जसको कारणले राज्य बन्यो त्यस्ता महत्वपूर्ण दिनलाई राज्यले ध्यान नदिने तर अन्य झिनामसिना कुराहरुमा उत्सव भनेर छुट्टि दिने ? यसमा राज्यको दृष्टिकोण पुगेको छैन । क्याबिनेटमा छलफल भयो भन्ने सुनेको छु । केही होला । आशाबादी छौं । गरे राम्रो ।

प्रज्ञा प्रतिष्ठानको तर्फबाट पुस २७ बारे कुनै ठोस पहल वा निर्णय हुन सक्छ की सक्दैन ?
हामी नियमित रुपमा २७ गते बौद्धिक छलफल गरिरहेका छौं ।

मिल्ने हो की नमिल्ने हो ? यसको अधिकार क्षेत्रमा यो सवाल पर्छ या पदैन नी ?
किन मिल्दैन ? यो त नेपाल मान्ने हो कि होइन, नेपालको राष्ट्रिय झण्डा बुझ्ने होकि होइन भन्ने जस्तो प्रश्न आयो । किन नमिल्ने ? हामीले नेपालको पहिचानसंग सम्बन्धित प्राज्ञिक कुराको प्रबद्र्धन गर्ने हो । कसैले आएर पृथ्बीनारायण शाहको योगदानै छैन भनेर पनि भन्न सक्छ भनोस् तर छलफल गर्ने ठाउँ त यही हो नि । योगदान छ भनेर छलफल गर्ने ठाउँ पनि यही हो । प्रत्येक वर्ष छलफलको निष्कर्ष पनि निकाल्दै छौं र प्रज्ञा प्रतिष्ठानको त यो नियमित रुटिङ हो ।

खासमा पुस २७ लाई राष्टिय एकता दिवसका रुपमा मनाउने परिपाटीले कोही कसैलाई केही बेफाईदा छ र ?
नेपाली भएर बुझ्ने हो भने कसैलाई बेफाइदा छ जस्तो मलाई लाग्दैन । जुनबेला साम्राज्यबादी शक्तिले सिँगो एसिया आफ्नो पंजामा लिइसकेको थियो, त्यसैबेला साना साना राज्य हुँदा हामी डुब्छौ त्यसकारण एकिकृत हुनुपर्छ भन्ने सोचले एक बनाए र एउटा वाहुन र एउटा क्षत्री सल्लाहकार लिएर काठमाडौं जिते तर वाहुन र क्षेत्रीको संस्कृति त उनले लादेनन्, । यहाँकै स्थानीय संस्कृतिलाई मानेर कुमारीको पुजा गरे । सबैको सल्लाह लिएर सांस्कृतिक विविधतालाई कायम गरे । त्यसकारण म नेपाली हुँ भन्ने मान्छेले आफ्नो पहिचान खोज्दै जाँदा उनका प्रयत्नमा भेट्छ । यसबाट कसैको नोक्सान हुन्छ जस्तो लाग्दैन ।

तर विदेशीहरुले विभिन्न खालका हल्लाहरु चलाएर पृथ्बीनारायण शाहलाई बदनाम गर्न खोजेको पनि देखिन्छ । त्यो चाहि पश्चिमाहरुले चलाएको प्रोपोगान्डा हो । भक्तपुर विजयी गर्दा उनका भाइले केही जुलुम गरे । त्यो थाहा पाउने वित्तिकै पृथ्बीनारायण शाहले कारबाही गरेका छन् । त्यसले पनि के देखिन्छ भने उनमा कुनै अहमता थिएन । त्यसकारण पृथ्बीनारायण शाहलाई ऐतिहासिक ऐतिहासिक सन्दर्भमा हेर्नुपर्छ र बुझ्नुपर्छ । जुनकुरा बौद्धिक नेपालीले बुझ्दै गएकाछन् ।


विदेशीहरुले विभिन्न खालका हल्लाहरु चलाएर पृथ्बीनारायण शाहलाई बदनाम गर्न खोजेको पनि देखिन्छ । त्यो चाहि पश्चिमाहरुले चलाएको प्रोपोगान्डा हो ।

२०६२ सालको आन्दोलनमा राजा ज्ञानेन्द्रको रिसले पृथ्बीनारायण शाहको सालिक ढाले । बिपीकै शालीक ढाले । भानुभक्तकै शालिक ढाले । सालिक ढाल्ने अभियान चल्यो । ती सालिक ढाल्ने मान्छे अहिले पछुताउदैछन् । माओबादी नेतृत्वको पहलमा पृथ्बीनारायण शाहको शालिक ढालियो । पछि प्रचण्ड र बाबुरामले नै बहुत ठूलो गल्ति भएछ यो त भनेर सार्वजनिक रुपमा माफी पनि मागे । त्यसैले आवेशमा आएको चिज स्थायी हुँदैन । टुडीखेलको वरीपरि राणाहरुका शालिकहरु छन् । ती रहेर के बिगे्रको छ ? त्याहाँ त कला छ, राणाहरुको अहंकार पनि छ । तर बिग्रेको त केही छैन नि । सम्मान स्वरुप बनाएको पृथ्बीनारायण शाहको शालिक ढालेर कसले के पाउँछ ? त्यो आफ्नो गालामा आफैले चड्काउने वाहेक केही पनि होइन ।

राष्ट्रको निम्ति एउटा न एउटा प्रतिक चाहिन्छ त्यस्तो त्यसैले अहिले राजनीतिक नेतृत्वमा त्यस्तो व्यक्तित्व जन्मिन नसकेको कारणले बनि सकेको राष्ट्रिय पहिचानको आइकनलाई नेग्लेट गरेर पाउने के ?

पुष २७ वाहेक अरु कुनै त्यस्तो दिन पनि छ कि जहाँ राष्ट्रिय एकताको गीत गाउन पाईयोस् ।
छ नि । संविधान दिवस छ । रिपब्लिक डे छ । अहिले जसले जसरी हेरुन् । जस्तो ७ साल बिर्सिदैनन् नि कहिल्यै पनि । ०४७ साल कसैले बिर्सिदैनन् । ०६२/०६३ पनि जुन रिपब्लिकन स्टेट घोषणा भयो त्यो पनि कसैले बिर्सनु हुदैन र संविधान बनेको कुरा । केही यस्ता चिजहरु हुन्छन् जुन हाम्रो दिर्घकालिन पहिचानसंग जोडिएका हुन्छन् । जसलाई राज्यले पहिचान गर्न सकेको छैन । जुनकुरा राज्यले बुझ्नुपर्छ । राष्ट्रिय एकता नमानोस् रे, कमसेकम पृथ्बीनारायण शाहको जन्मदिन त मान्नुपर्छ । सम्मान त गर्न सक्नुपर्छ । त्यति गर्न पनि सरकार हिचकिचाई रहेको छ । यसले जनतामा के असर पर्छ भन्ने कुरा उसले बुझ्नै सकेको छैन । अदुरदर्शी छ । उसलाई परिवर्तनका क्रममा भएका अचाक्लिहरुको धंगधगी छ । यसरी राज्य चल्दैन । राज्य चलाउन दुरदर्शिता हुनुपर्दछ ।

राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्यका लागि जागेका जनतालाई पृथ्वीनारायणसम्म जोड्नु गलत थियो हैन त ?
राजतन्त्रमा बिभिन्न राजाले बिभिन्न समयमा आ आफ्ना योगदान दिएका छन् र गल्ति पनि गरेका छन् । गल्ति गर्नेको गल्ति र राम्रो गर्नेको राम्रो नै इतिहास हुन्छ । कसैले कराइरहनु पर्दैन, कसैले लात्ति हान्नै पर्दैन, कसैले सालिकै तोड्नु पर्दैन । इतिहास स्थीर यात्राको बाटो हो । जुन बाटोमा सबैको मुख्याँकन हुन्छ । ज्ञानेन्द्रको त्रुटीले आक्रोशित भएका मान्छेले शाह बंशका सबैसँग त्यही दृष्टिले हेर्नु जरुरी नै छैन । पृथ्बीनारायण शाह त शाहबंशसँग मात्रै सम्बन्धित हुँदै होइनन्, अब भानुभक्त आचार्यलाई आचार्यसँग जोडेर हुन्छ ? भानुभक्तले नेपाली लेखनको अभियान नचलाएको भए हामीसंग साझा भाषा नै हुन्थेन । त्यसैले भानुभक्त, पृथ्बीनारायण शाह जस्ता जो राष्ट्रिय पहिचान हुन् यिनको महत्व कसैले मेटेर पनि मेटिदैन ।

विश्वका बिभिन्न मुलुकहरुमा इतिहास खोजी खोजी संरक्षण गरिन्छ नेपालमा खोजी खोजी भत्काइन्छ, यो कस्तो परिवर्तन हो ?
यसको दुइवटा पाटो छ । एउटा पाटो भनेको केही मान्छे उछ्रिङ्खल भएर संक्रमणको बेलामा उदण्डपन देखाए । त्यो परिवर्तनका क्रममा विश्वमा जहाँ पनि हुन्छ । सांस्कृतिक क्रान्तिका बेलामा त्यस्तो उदण्डपन आयो, धेरै चिज नोक्सान भयो । तर पछि बुझिहाल्यो कि ओहो हामीले इतिहासमा प्रहार गरेछौं भनेर, पछि सुधार गरे । अरबौं खरबौं लगानी गरेर ती सांस्कृतिक धरोहरहरु उठाए । आन्दोलनका बेलामा विश्वमा त्यस्तो भएको छ तर त्यो क्षणिक हो । त्यो स्थायी हुन सक्दैन ।

स्थायी भनेको सत्य हो । सत्य भनेको नेपाल हो । नेपाल भनेको पृथ्बीनारायण शाहले बनाएको नेपाल हो । त्यो चाहि सत्य हो । त्यही नेपाल भित्र छौ हामीहरु । त्यो स्थायी भइदियो । अरु राजाले पनि बनाउन खोजे तर सकेनन् । उनले केही शक्ति भएर नै त बनाउन सके । दक्षिण एसियामै पनि कति शक्तिशाली राजाहरु थिए । कहाँ गए त ति ? ति त सबै aबिलाएर गए । तर यही राज्य बाच्यो । यो कसैको मायाले बाँचेको त होइन । यसको धरातलीय यथार्थ पनि त्यस्तो बन्यो, यसका निर्माणकर्ता पनि दुरदर्शी भइ दिए र आजको नेपाल भयो र हामी बाँचेका छौं ।

प्रतिक्रिया दिनुहोस