गाउँलेलाई ध्यान सिकाउँदै अपाङ्ग युवती « प्रशासन

गाउँलेलाई ध्यान सिकाउँदै अपाङ्ग युवती


प्रकाशित मिति : ३० कार्तिक २०७३, मंगलवार १५:३७

मोरङ र कम्मरमुन्तिरको भाग बलजफ्ती हल्लाउनुपर्छ । त्यसमाथिको शरीर भने सग्लै छ तर दुबै गोडा सुकेकाले शरीरको भार थेग्न सक्नुहुन्न हात टेकेरै हिँडडुल गर्नुपर्छ रेणुका विश्वासलाई । बोलीमा आवाज पनि निस्कन सक्दैन तर मानसिक क्षमता भने बेजोड छ उहाँको ।

हाँसिरहने र हात जोडेर आदरभाउ जनाइरहने मोरङको पथरी शनिश्चरे– १२ को देउताटोल निवासी २४ वर्षीया विश्वासलाई सानैमा पोलियो भएको थियो ।

पोलियोका कारण दुबै खुटृा लुलो भएकाले उहाँ शारीरिक रुपमा कमजोर बन्नुभयो । बुबा गुलावचन्दले भन्नुभयो, “उनी बोल्न सक्दिनन तर इशारा गरेर गाउँभरिका अभिभावक र युवायुवतीलाई ध्यान सिकाउँछिन् । ध्यान र योगा गर्न थालेपछि रेणुकाको आफ्नै जीवन पनि रुपान्तरण भएको छ ।” त्यहाँ दैनिक साँझ र बिहान एकएक घन्टा ध्यान गर्ने व्यवस्था मिलाइएको छ ।

‘भनिन्छ युवा पुस्ताले अध्यात्मतिर उतिसारो ध्यान दिँदैनन् । उनीहरु हाँसिमजाक, पढाइ र साथी सङ्गीसँगको रमाइलोमा दिन बिताउँछन् तर, शनिश्चरेकी ती अपाङ्ग युवतीले भने गाउँमा युबाहरुका लागि समेत ध्यान र योगाको गुरुमा बन्नुभएको छ ।

सवलाङ्ग जस्तै उहाँले पनि आफ्नो काममा दक्षताको उदाहरण प्रस्तुत गर्नुभएको छ । रेणुकाले दैनिक पचासजना साधकलाई योगा र ध्यानको कक्षा लिनुहुन्छ । गुरु आशोबाट प्रभावित उहाँले गाउँका आमा, काकी, सानीआमा, बुबा, काका, भाइबहिनी र आफू र गाउँका करिब एकसय सर्वसाधारणलाई पनि ध्यानको गहिराइमा डुबाउन सफल हुनुभएको छ ।

दैनिक ध्यान गर्न आउने स्थानीय शिक्षक त्रिलोक न्यापानेले भन्नुभयो ,“उहाँकै कारण गाउँमा ध्यानको माहोल बनेको छ । ध्यानमा सबै आर्कषित भएका छन् । समय निकालेर एक घन्टा म पनि आउँछु ।”

ध्यान गर्न थालेपछि मानसिक तनावमा कमी आउनुका साथै जीवन सकारात्मक रुपमा बुझ्ने कला आफूले पनि बुझेको उहाँले बताउनु भयो । रासस

Tags:

प्रतिक्रिया दिनुहोस