पुनःनिर्माणमा तीव्रता दिनु जरुरी छ : सभामुख महरा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पुनःनिर्माणमा तीव्रता दिनु जरुरी छ : सभामुख महरा


१२ बैशाख २०७६, बिहिबार


गोरखा । सभामुख कृष्णबहादुर महराले भूकम्पपछिको पुनःनिर्माणमा तीव्रता दिनु जरुरी रहेको बताएका छन् ।

चौथो भूकम्प स्मृति दिवसका अवसरमा गोरखाको बारपाक सुलीकोट गाउँपालिकाद्वारा आज बारपाकमा आयोजित कार्यक्रममा सभामुख महराले अहिले भइरहेको पुनःनिर्माण सन्तोषजनक भए पनि जुन गतिमा हुनुपर्ने थियो त्यो हुन नसकेको बताए ।

भूकम्पपछिको पुनःनिर्माणमा जुन समुदाय जहाँ छ त्यही समुदायको पहिचान र संस्कृति मौलिकतालाई भुल्न नहुनेमा उनले जोड दिए । ‘परम्परागत संस्कृति र पहिचान बोकेका हाम्रा मठ मन्दिर, बौद्ध, गुम्बा, स्तूपालाई पुरानै पहिचान झल्कने गरीे पुनःनिर्माण गर्नु आवश्यक छ ।’उनले बारपाकको पहिचान भूकम्पपछि मात्र नभएर भूकम्पअघि पनि छुट्टै पहिचान बोकेको भन्दै त्यसको संरक्षण गर्नु आवश्यक रहेको बताए ।

सभामुख महराले गोरखाको १२ किलोदेखि बारपाकसम्मको सडकखण्ड कालोपत्र गर्ने काममा ढिलाइ भइरहेको गुनासो आएको भन्दै तीव्रताका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे । विसं २०७२ वैशाख १२ गतेका दिन बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७.६ म्याग्निच्युडको भूकम्पमा बारपाकमा ७२ जनाले ज्यान गुमाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस