रामेछापमा २८ हजार घर बने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रामेछापमा २८ हजार घर बने


११ बैशाख २०७६, बुधबार


रामेछाप । गोरखा भूकम्प गएको चार वर्षमा रामेछापमा करीब २८ हजार निजी आवास निर्माण भएका छन् । पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार रामेछापका सूचना प्रविधिविज्ञ (एमआइएस) का प्रमुख सुरेन्द्र यादवका अनुसार सम्झौता भएका जिल्लाका ४६ हजार ६७८ लाभग्राहीमध्ये २८ हजार ४०८ लाभग्राहीले मात्रै निजी आवास निर्माण गरेका हुन् ।

जिल्लाका कूल लाभग्राहीमध्ये अन्तिम किस्ता लिइसकेका चार हजार ३६२ परिवारको पनि घरनिर्माण अन्तिम चरणमा पुगेको छ । पहिलो र दोस्रो किस्ता लिइसकेका आठ हजार बढीले तेस्रो किस्ता लिन बाँकी रहेको कार्यालयले जनाएको छ । उनीहरुमध्ये कतिपय लाभग्राहीले घरको जग उठाएर लामो समयदेखि निर्माण अगाडि बढाएका छैनन् । कूल लाभग्राहीमध्ये ४३ घरपरिवारले भने पहिलो किस्ताको रु ५० हजार पनि नबुझेको कार्यालयले जनाएको छ ।

घर निर्माणको सम्झौता गरेर पहिलो किस्ता लिएकामध्ये पाँच हजार ५०० लाभग्राही भने सम्पर्कमा आएका छैनन् । उनीहरुले घर निर्माणको काम नै शुरु नगरेको जनाइएको छ । यस्तै भवन निर्माणका लागि सम्झौता गरेर पहिलो किस्ता रु ५० हजार लिएका १३ लाभग्राहीले भने घर निर्माण नगर्ने भन्दै रकम फिर्ता गरेको पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस