नेपालद्वारा मलेशिया पराजित « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नेपालद्वारा मलेशिया पराजित


११ बैशाख २०७६, बुधबार


काठमाडौं । थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेशियालाई पराजित गरेको छ ।

थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेशियालाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो । नेपालले यसअघि शनिबार भएको पहिलो खेलमा म्यान्मालाई सात विकेटले पराजित गरेको थियो ।

जितसँगै समूह ए मा रहेको नेपालले २ खेलबाट ४ अङ्क जोडेको छ । नेपाल साविक विजेतासमेत हो । अघिल्लो संस्करणको खेलमा नेपालले सिङ्गापुरलाई ७१ रनले पराजित गर्दै उपाधि हासिल गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले मलेशियालाई जितका लािग १४२ रनको लक्ष्य दिएको थियो । जवाफमा मलेशिया ३३ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १०२ रनमा समेटियो ।

मलेशियाका लागि सार्भिन सुरेद्रनले सर्वाधिक ४६ रनको योगदान दिए भने अमहेद अस्यार्फले १७ तथा किशन कुमारले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

मलेशियालाई १०२ रनमा समेट्ने क्रममा नेपालका रमेश कुर्मी, तिलकराज भण्डारी र प्रशान्त महतले २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३४ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १४१ रन जोडेको थियो । नेपालका लागि आशिष भट्टराईले सर्वाधिक ३४ रनको योगदान दिए । त्यस्तै विशालविक्रम केसीले २८, दीपक बोहोरा र अर्जुन कुमालले समान १६/१६ र सुवास ऐरले ११ रन जोडे ।

बलिङतर्फ मलेशियाका सिद्धार्थ कार्तिकले चार तथा लुकम्यान नुर हाकिम सहरले दुई विकेट झारे । नेपालले भोलि आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस