समृद्धिका लागि साहस र धैर्यता चाहिन्छ : प्रधानमन्त्री « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

समृद्धिका लागि साहस र धैर्यता चाहिन्छ : प्रधानमन्त्री


१० बैशाख २०७६, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यताको खाँचो रहेको बताएका छन् ।

प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवस समारोहलाई सम्बोधन गर्दै उनले साहसी आरोही पासाङको प्रेरणा र आत्मविश्वासबाट अघि बढ्नसके देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सकिने बताए ।

“हामी आज राष्ट्र निर्माणको एउटा राष्ट्रिय अभियानमा जुटिरहेका छौँ, यस्तो बेलामा साहस र धैर्यतासँगै आत्मविश्वासको पनि आवश्यकता छ, त्यही आत्मविश्वासका साथ अगाडि बढेर देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सक्दछौँ”, प्रधानमन्त्री ओलीले भने, “हामीले पासाङल्हामुबाट प्रेरणा र हौसला लिनुपर्छ, असम्भव भन्ने चिज केही छैन । असम्भवलाई सम्भव बनाउन सक्दछौँ, देशलाई विकसित गर्न सक्छौँ ।”

प्रधानमन्त्री ओलीले पासाङल्हामु नेपाली महिलाको लागि प्रेरणा र साहसको प्रतीक हो भन्दै नेपाली महिला पनि कम छैनन्, सगरमाथाको शिखरमा पाइला टेक्न सक्छन् भन्ने दृष्टिान्त पहिलो पल्ट नेपाली महिलाको तर्फबाट पासाङल्हामुले पुष्टि गरेको बताए ।

“नेपालको पर्वतारोहणको गौरवपूर्ण इतिहास रहेको र यस पटक सगरमाथाको पुनः उचाइ मापनको काम अघि बढाइएकाले यसको वास्तविक उचाइ पत्ता लाग्ने छ”, उनले भने, “सगरमाथाको उचाइका सम्बन्धमा विभिन्न भिन्नता देखा परेका छन् । तीनलाई कुनै विवाद नहुने गरी टुङ्गो लगाइनेछ । नेपाल र चीन दुवैतर्फबाट सगरमाथाको वास्तविक उचाइ पत्ता लगाइनेछ ।”

प्रधानमन्त्री ओलीले पासाङल्हामु सबैको प्रेरणा र आदरणीय व्यक्तित्व भएकाले उनको स्मरणलाई अर्थपूर्ण र सम्मानजनक ढङ्गले स्थापित गर्न पासाङल्हामु स्मारक निर्माणका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्मारकका लागि उपयुक्तस्थलको खोजी गर्न प्रतिष्ठानलाई आग्रह गरे ।

उनले पासाङल्हामुको स्मृति र योगदानलाई कदर गर्दै मुलुकको पर्यटन क्षेत्रको विकास प्रवर्द्धनमा प्रतिष्ठानले पुर्‍याएको योगदानको प्रशंसा पनि गरे ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानकै परिवारका महत्वपूर्ण सदस्य पर्यटन व्यवसायी स्व आङछिरिङ शेर्पा, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारीसहित पर्यटन क्षेत्रका विशिष्ट व्यक्तिको निधनप्रति दुःख व्यक्त गर्दै उनीहरुको परिवारजनप्रति सरकार र प्रतिष्ठानले गर्नसक्ने काम गर्ने प्रतिबद्धता जनाए ।

पासाङल्हामु स्मारकस्थल चुच्चेपाटी, बौद्धमा पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रममा प्रधानमन्त्री ओलीले पासाङल्हामु शेर्पा मेमोरियल कलेजका उत्कृष्ट विद्यार्थी ममता बराल, रञ्जना गौतम, सोभिता गौतम, विकास अधिकारीलगायतलाई नगदसहित पुरस्कृत गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष कृपाशुर शेर्पाले पासाङल्हामुले नेपालको पर्यटन प्रवर्द्धनमा पुर्‍याएको योगदानलाई चिरस्मरण राख्न स्मारक निर्माणका लागि सरोकार भएका निकायले ध्यान दिनुपर्ने खाँचो औँल्याए ।

राष्ट्रिय विभूति पासाङल्हामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी पर्वतारोहण इतिहासमा प्रथम नेपाली महिलाको कीर्तिमान कायम गर्न सफल भएकी थिइन् । उनले विसं २०५० वैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् । सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेकी पासाङल्हामुको आरोहण सकेर फर्कने क्रममा मृत्यु भएको थियो ।

सगरमाथाको सफल आरोहण सन् १९५३ मे २९ मा नेपाली नागरिक तेञ्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले गरेका थिए । उक्त आरोहणसँगै नेपालमा व्यावसायिकरुपमा हिमाल आरोहण शुरु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस